१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास


प्रधानमन्त्री ओलीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केही समयअघि उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो । कञ्चनपुरको वेदकोट-२ र ३ मा ९ अर्ब लागतमा ५ वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो ।

शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट-२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ । उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम शुरु हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ । यसअघि यो औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भएपनि हाल ४ सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !