१ माघ २०८१, मंगलबार

सडक निर्माण समयमै सम्पन्न गर्न उपभोक्ता सक्रिय


पाँचथर, २६ कात्तिक । फिदिम–लुङरुपा सडकअन्तर्गत कालोपत्रको काम शुरु भएको फिदिम–रानीटार खण्डको काम समयमै सम्पन्न गराउन स्थानीय उपभोक्ता सक्रिय भएका छन् । निर्माण सम्झौता सम्पन्न भएको आठ महिनासम्म सडक निर्माणले उल्लेख्य गति नलिँदा निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने भन्दै उपभोक्ताले दबाब दिन थालेका हुन् ।

फिदिम नगरपालिका वडा नं. १, ७, १३ र १४ का उपभोक्ताको हालै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हर्कबहादुर नेम्वाङको अध्यक्षतामा भएको एक भेलाले निर्माण कार्यले गति नलिँदा समयमै निर्माण सम्पन्न नहुने निश्कर्ष निकालेको छ । भेलाले निर्धारित समयमा निर्माण कार्य पूरा गराउन सरोकारवाला निकायमा दबाब सिर्जना गर्ने तथा सडक निर्माणका क्रममा समस्या उत्पन्न भए सहजिकरण गर्ने निर्णयसमेत गरेको छ । यसका लागि फिदिम–७ का वीरेन्द्र बाँस्कोटाको संयोजकत्वमा उपभोक्ता सरोकार समिति समेत गठन गरिएको छ ।

वडा नं १ शिवालय मन्दिरबाट वडा नं ८ नाङलप्पासम्मको ७.८ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्नका लागि गत चैतमा सफल विल्डर्स प्रा.लि. इलामले ठेक्का पाएको थियो । रु. २३ करोड ७० लाखको लागतमा उक्त सडक खण्डको कालोपत्र हुन लागेको हो । अहिले देखिएको निर्माणको गतिले निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने तथा उपभोक्ताहरुले सधैँ सास्ती खेप्नुभएको भएका कारण आफूहरुले निर्माण कार्यमा सहयोग र खवरदारी गर्न लागेको नवगठित सरोकार समितिका संयोजक बाँस्कोटाले वताउनुभयो ।

निर्माण कम्पनीले आठ महिनाको अवधिमा करिब ११ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । निर्माण कम्पनीका फिल्ड निर्देशक भीम गजुरेलले निर्माण सम्झौतालगत्तै बन्दाबन्दी शुरु भएकाले निर्माण कार्यले गति लिन नपाएको बताउनुभयो । छठपछि निर्माण कार्यले गति लिने जनाउँदै उहाँले उपभोक्ताको सक्रियता र सहजिकरणको आश्वासनले निर्माण कार्य समयमै सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो । प्रदेश सरकारले फिदिमलाई पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने उद्देश्यसहित यो सडक निर्माण थालेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !