१९ बैशाख २०८१, बुधबार

साझाबस ३० वोटा थपिदै,अपांगमैत्री हुने


sajha bus

साझा यातायातले थप ३० बस भदौ पहिलो साता ल्याउने भएको छ । अपांगमैत्री बस ल्याउन साझा सहकारी लिमिटेड र भारतीय अशोक लेल्यान्ड कम्पनीबीच चैत ११ मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार प्रतितपत्र (एलसी) जारी गरेको १२० दिनभित्र बस ल्याउने भनिएको छ । कम्पनीले वैशाख ७ (मंगलबार) मा एलसी जारी गरेपछि अब १२० दिन अर्थात् भदौ ७ मा काठमाडौंमा युरोपेली स्टयान्डर्डका आकर्षक र ठूला सहरी बस आइपुग्नेछन् ।

साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले अन्य कुनै घटना नभए नियमअनुसार समयमै बस आइपुग्ने बताए । ‘जनताको सहज र सुलभ व्यवस्थाका लागि हामीले अपांगमैत्री रहेका बस ल्याउन लागेका हौं,’ उनले भने ।

साझाले २०७० वैशाख १ बाट राजधानीका ३ रूटमा बस सञ्चालन गर्दै आइरहेको छ । थप ३० बसका लागि महानगरपालिकाले १० करोड रुपैयाँ सेयर हालेको छ । अब खर्चको हिसाबमा सबैभन्दा बढी महानगरको ८६ दशमलव ५८ प्रतिशत सेयर हुनेछ ।

यस्तै, सरकारको ९ दशमलव ६४, विभिन्न संघ–संस्थाको ० दशमलव ९६ र सर्वसाधरणको २ दशमलव ८२ सेयर हुनेछ । साझामा महानगरपालिका, सरकारका ६३ संघ–संस्था, १५४ सर्वसाधारण गरी २२५ जनाको सेयर लगानी छ । ३० गाडीलाई बिनाकर ७ करोड ६८ लाख २३ हजार ९ सय पर्ने साझाले जनाएको छ । पाण्डेयले भने, ‘यो नेपालको बोर्डरसम्म आइपुग्ने रकम मात्र हो ।’

पाण्डेयले सबै बस गुणस्तरीय हुने बताए । उनका अनुसार बस ४० सिटे क्षमताको हुनेछ र उठेर यात्रा गर्ने यात्रु गरी करिब सय जनाले एकैपटक यात्रा गर्न पाउनेछन् ।

उक्त बसमा हाल साझामा दिइँदै आएको सबै सुविधा हुनेछ । दुई ढोकामध्ये बसको पछिल्लो ढोका ३ फिट फराकिलो हुनेछ र ह्विलचेयर भएका व्यक्ति पनि यात्रा गर्न सक्नेछन् । हाल साझाले उपत्यकाका ३ रुटमा सवारी सञ्चालन गर्दै आइरहेको छ ।

http://bit.ly/1S9EMvy


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !