७ मंसिर २०८१, शुक्रबार

शेरीगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम शुरु


रुकुमपश्चिम, २४ असार । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रुकुम(पश्चिम) खण्डमा कालोपत्रेको काम शुरु भएको छ । जिल्ला समन्वय समितका प्रमुख राजकुमार शर्माले शेरीगाउँ–हाँसिवाङ सडकखण्ड कालोपत्रेको काम उद्घाटन गर्नुभयो ।

अन्य खण्डमा धमाधम कालोपत्रेको काम भइरहँदा जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका –५ शेरीगाउँदेखि सानीभेरी गाउँपालिकाको हाँसिवाङ खण्डमा काम हुन सकेको थिएन ।

अन्य खण्डका तुलनामा निकै ढिलो गरी ठेक्का लागेपछि आजदेखि सो खण्डमा कालोपत्रेको काम शुरु भएको हो । बाह्र किलोमिटर लामो सो खण्डको कालोपत्रेको जिम्मा दिवा–यती जेभीले पाएको छ । गत जेठ २८ गते सम्झौता भएकामा आजदेखि काम शुरु भएको हो । रु ४४ करोड नौ लाख दुई हजार २९८ र पैसा ७६ मा सम्झौता भएअनुसार सो खण्ड कालोपत्रेको काम २०७९ मङ्सिर २७ गते अर्थात् ३० महिनामा सक्नुपर्ने प्रावधान छ । डबल कटिङ, वाल, ग्याबिन वाल, नालीसहित सडक कालोपत्रे गरिने निर्माण कम्पनीका साइट सुपरभाइजर हीरालाल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकको कुल लम्बाइ १२ किमी र चौडाइ नौ मिटर हुने छ भने साढे ७ मिटर कालोपत्रे गरिने छ । डेढ मिटर भने नाली र वालले ओगट्ने सुपरभाइजर केसीले बताउनुभयो । जिल्लामा विभिन्न खण्डमा विभाजन गरेर मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम भइरहेको छ । केही खण्डमा कालोपत्रेको काम सकिएको छ भने केहीको अन्तिम चरणमा छ । साविकको सिङ्गो रुकुम जिल्लामा कुल आठ खण्ड रहेकामा रुकुम(पश्चिम)मा पाँच खण्ड पर्छन् । सोमध्ये मुसीकोट नगरपालिकाभित्र पर्ने शीतलपोखरी–बैरीदह खण्डमा कालोपत्रेको काम सकिसकेको छ । अन्य तीन खण्डमा काम चलिरहेको छ ।

जिल्लामा पर्ने सबैभन्दा अप्ठ्यारो खण्डका रुपमा रहेको शेरीगाउँ–हाँसिवाङ खण्डमा कालोपत्रेको काम शुरु नहुँदा सवारी साधनसहित नागरिकले सास्ती भोग्दै आएका छन् । सो खण्डमा पर्ने मुसीकोट नगरपालिका –३ खरखरेमा वर्षामा पहिरो झर्ने तथा हिउँदमा ढुङ्गा र गिट्टीले सवारी साधनसहित नागरिकलाई आवतजावतमा ठूलो समस्या पर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !