२९ कार्तिक २०८१, बिहीबार

कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने


कास्की

पोखरा, २५ भदौ । कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका टोलीले मतदाता सूची सार्वजनिक गरेपछि मतदाताको नाम सच्याउने, दावी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउने लगायतका कार्य गरिनेछ । तर नयाँ मतदाताको नाम सङ्कलन नगरिने सो कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराउनुभयो ।

मतदाता अद्यावधिक कार्य गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिनेछ । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहने कार्यालय प्रमुख सुवेदीले जानकारी गराउनुभयो ।

यस क्षेत्रबाट निर्वाचित हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !