१६ पुस, नारायणपुर । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनतामा निराशा पैदा गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले जिम्मेवारीपूर्वक पत्रकारिता गर्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो । लोकतन्त्रको महत्वपूर्ण आधार मानिने सञ्चार जगत्ले यथार्थता बङ्ग्याएर जनतामा निरासा पैदा गर्ने सामग्री प्रकाशन गरिरहेकाले सत्यतथ्य सामग्री प्रकाशन गरी राज्यको चौथो अङ्गको जिम्मेवारी वहन गर्न उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “सरकारले गरेका राम्रा कामहरुलाई लुकाएर जनतामा भ्रम र निरासा फैलाउने काम सञ्चार जगत्ले गरिरहेको छ , यसलाई तुरुन्त रोकेर जिम्मेवारपूर्ण पत्रकारिताको थालनी गर्नुहोस् ।”
प्रदेश नं. ५ को सरकारले सञ्चार नीति बनाएको उल्लेख गर्दै उहाँले सञ्चार आचारसंहिताको पालना गरी पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान जारी भएपश्चात् मुलुकमा आर्थिक वृद्धि बढिरहेको छ, यसलाई बढाउँदै लैजाने सरकारको यात्रा जारी छ, यस्तो अवस्थामा निरासाका कुरा मात्रै सञ्चारले प्रेषण गरेको पाइन्छ ।” (रासस)