७ मंसिर २०८१, शुक्रबार

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै


नेपाली काँग्रेस

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले पाँच हजार ९४७ मत प्राप्त गरेका छन् । हालसम्म १८ हजार १९३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेसका वीरेन्द्रकुमार शाह एक हजार ७१५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पोख्रेलले एक हजार २१ मत प्राप्त गरेका छन् ।

यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका छन् । वडा नं २ बाट नेकपा (एमाले)का भीमबहादुर कवर योगी, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर निर्वाचित भइसकेका छन् ।

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ३, ६ र ७ को मतगणना जारी छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदातामध्ये ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !