६ बैशाख २०८१, बिहिबार

नेपालगञ्जमा शुरु भयो वायुयान संग्रहालय


नेपालगञ्ज वायुयान संग्रहालय

राँझा । नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ ।

एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त संग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ ।

नौ वर्षअघि धनगढीमा रु डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको सङ्ग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुर्याउन करिब रु ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई सङ्ग्रहालय बनाइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ । उपमहानगरपालिकाको सहमतिमा वायुयान सङ्ग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।

स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !