१२ आश्विन २०८१, शनिबार

कर्णालीको गरीबी घटाउन सहकारीको भूमिका


कर्णाली प्रदेशसभा

सुर्खेत, १३ पुस । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको गरीबी घटाउन सहकारीको उल्लेख्य भूमिका रहेको बताउनुभएको छ । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उहाँले सहकारी मुलुकको अर्थतन्त्रको बलियो आधार खम्बा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले युवा तथा घरेलु बेरोजगारहरुको रोजगारीको माध्यम सहकारी बन्दै गएको छ । सहकारीहरुले कर्णालीको गरीबी घटाउन प्रशंसनीय काम गरेका छन् ।” त्रिपन्न हजार शेयर सदस्य बनाएर बौद्ध ग्रामीण सहकारी सुर्खेतले यहाँका नागरिकको आर्थिक विकासमा ठूलो सहयोग पु¥याएको भन्दै सहकारीमन्त्री केसीले भन्नुभयो, “कर्णाली सरकारले कृषि र लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छ । बौद्ध सहकारीले लिएको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आवश्यक सहयोग गर्छ ।”

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री केसीले कर्णाली सरकारले सहकारीको कानून बनाइसकेको र नियमावली बनाउने क्रममा अघि बढेको बताउनुभयो । सहकारीहरुको व्यवस्थित गर्न बनेको उक्त कानून तथा नियमावलीले बौद्ध सहकारीलाई यहाँका १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य पूरा गर्ने विश्वास दिलाउँदै उहाँले सहकारीमा लाग्ने सबै शेयर सदस्य आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले सम्पन्न हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा पायनियर बहुउदेश्यीय सहकारी संस्था सुर्खेतका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले सहकारीका क्षेत्रमा कर्णाली सरकारलाई लगानी गर्न अनुरोध गर्नुभयो । बौद्ध सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले समाजका सबैलाई आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा अनुशासित बन्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !