७ बैशाख २०८१, शुक्रबार

आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता


पोखरा, १५ जेठ । गण्डकी प्रदेशसभाको बैठकमा सदस्यले आत्मनिर्भर अर्थतन्त्र वर्तमानको आवश्यकता भएकामा जोड दिएका छन् ।

प्रदेशसभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७७/७७ सिद्धान्त र प्राथमिकता सम्बन्धमा आजको बैठकमा छलफलमा भाग लिँदै उहाँहरुले कोरोना महामारीका कारण तहसनहस बनेको अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा ल्याउनु अहिलेको चुनौती भएको बताउनुभयो ।

आत्मनिर्भरतालाई दृष्टिगत गरी उत्पादन र उत्पादकत्व बढाउने किसिमले कार्यक्रम तथा बजेट ल्याउन सुझाव दिँदै अधिकांश सदस्यले गणतन्त्र दिवसको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य धनञ्जय दवाडीले कोरोनाले पारेको असामान्य अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सिद्धान्त र प्राथमिकतामा परेको बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रका लागि आयात प्रतिस्थापन गर्न, कृषि, पशुपालनलगायत क्षेत्रमा दिइने अनुदान उत्पादन र उत्पादकत्व बढाउनेतर्फ लक्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्का सदस्य प्रकाशचन्द्र दवाडीले हरेक वर्ष एउटै विषयलाई प्राथमिकता दिइएको हुँदा एकै वर्षमा सकिने कार्यक्रम वर्षेनी आउने गरेको उल्लेख गर्नुभयो । सरकारले प्राथमिकताका योजना छुट्याउन नसकेको र सरकारले आफ्नो भूमिका देखाउने गरी प्रत्येक स्थानीय तहमा कम्तीमा तीनजना कर्मचारी रहने गरी कर्मचारी खटाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

सदस्य खिमविक्रम शाहीले प्राथमिकताका आधारमा स्वास्थ्य तथा कृषि बीमा गरिनुपर्ने धारणा राख्नुभयो । पर्यटनको विकासका लागि ढोरपाटनलगायत क्षेत्रको प्रवद्र्धन तथा विकास गर्नुपर्ने बताउँदै उहाँले प्रदेशमा अलपत्र रबर तथा कागज उद्योगलाई व्यवस्थित गरिनुपर्ने उल्लेख गर्नुभयो ।

सदस्य धनमाया पोखरेल लामाले सिथिल अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने आवश्यकता औँल्याउँदै पुरानै परम्परा धान्ने किसिमको सिद्धान्त र प्राथमिकता आएको बताउनुभयो । अत्यावश्यक योजनालाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताउँदै उहाँले झोलुङ्गे पुलको निरन्तरता नभई विस्थापनतर्फ लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

सदस्य जुनादेवी नेपालीले कोरोनाको रोकथाम र नियन्त्रणलाई लक्षित गरी सिद्धान्त र प्राथमिकता आएको बताउँदै गरिब समूदायको जीविकोपार्जन सहज हुने किसिमका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । प्रविधिमैत्री शिक्षण सिकाइलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

सदस्य विष्णुप्रसाद लामिछानेले विश्वका धेरै अर्थतन्त्र कोरोनाका कारण तहसनहस बनाएको उल्लेख गर्दै अहिले प्राथमिकता यसले पारेको प्रभावको वस्तुगत मूल्याङ्कन गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । यो समय सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर एकापसमा अघि बढ्ने बेला भएको उहाँको भनाइ छ ।
सदस्य पियारी थापाले गरिबी, अभाव आदिको निवारण सरकारको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयोे । अधिकांश खाद्यवस्तु आयातित हुने गरेको बताउँदै उहाँले खाद्यान्नमा आत्मनिर्भर हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सदस्य इन्द्रलाल सापकोटाले सरकारसँग विगतका केही दायित्व यस सिद्धान्त र प्राथमिकतामा रहेको बताउँदै कोरोनाको प्रभाव र यसले सिर्जना गरेका चुनौतीको बीचमा यो आएको उल्लेख गर्नुभयो । कोरोनाको उपचार, रोकथाम, अस्पतालको क्षमतावृद्धिलगायतका धेरै विषयलाई यसले समेटेको बताउँदै उहाँले तीन तहको समन्वय, न्यायोचित वितरण लगायत थुप्रै विषय समावेश गरिएको धारणा राख्नुभयो ।

अर्का सदस्य विन्दुकुमार थापाले कोरोनाको प्रभाव जल्दोबल्दो समस्या रहेको बताउँदै प्रदेशमा क्वारेन्टिन व्यवस्थित बन्न नसकेको र विदेशबाट आएका नागरिकको आरडिटी परीक्षणसमेत हुन नसकेको बताउनुभयो । गण्डकी अस्पतालमा धेरै अन्य रोगका बिरामी आउने भएकाले कोरोना विशेष अस्पतालका रुपमा अन्य ठाउँमा व्यवस्था गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !