७ मंसिर २०८१, शुक्रबार

पोखराको मेयर एकीकृत समाजवादीको पोल्टामा परेपछि कांग्रेस कार्यालयमा ताला


तालाबन्दी

कास्की । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णयको विरोध गर्दै कांग्रेसको पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको एक नेताले जानकारी दिए ।

अन्तत: लामो रस्साकस्सीपछि पाँच दलीय सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको भागबण्डामा सहमति भएको छ । गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा दाबी छाडेसंगै महानगरपालिकाको भागबण्डामा सहमति भएको हो ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो बालुवाटारमा गण्डकी प्रदेशका पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेपछि नेकपा एकीकृत समाजवादीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

सभापति देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएर उनीहरुले पोखरामा काँग्रेस र सत्ता गठबन्धनको अवस्थाका बारेमा सभापति देउवालाई ब्रिफिङ गरेका थिए ।

देउवाले गठबन्धनलाई टिकाएर भागबण्डा मिलाउन पोखरा एकीकृत समाजवादीलाई अनिवार्य दिनैपर्ने बाध्यता रहेको बताएपछि कास्कीका काँग्रेसका नेताहरु छाड्न सहमत भएका हुन् । काँग्रेसले आफ्नो दावी छोडेसंगै पोखरा महानगरपालिका एकीकृत समाजवादीको पोल्टामा परेको छ ।

कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने कार्यकर्ताले चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !