११ पुस २०८१, बिहीबार

मनाङका सरकारी कार्यालयमा प्रमुखविहीन


मालपोत कार्यालय

मनाङ । जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।

प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।

बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्णरूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरु आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । उनीहरुले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ ।

“घर बिदामा जानुभएका कार्यालय प्रमुख बाढीपहिराका कारण सडक अवरुद्ध भएपछि कार्यालय फर्किनुभएको छैन”, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, “एक त सडक सञ्जालले पनि समस्या निम्त्याएको छ ।

अर्को विपद् आउनुभन्दा अघिजस्तो काम हुँदैन भनेर पनि होला ।” मनाङको शैक्षिक सत्र सकिने अवस्थामा समेत शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख पनि कार्यालयमा अनुपस्थित रहनुभएको छ ।

त्यस्तै बाढीपहिराका विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध हुँदा त्यसको मर्मतका लागि जुट्नुपर्ने अवस्थामा नेपाल विद्युत् प्राधिकरण मनाङका प्रमुख पनि जिल्ला बाहिर रहनुभएको छ । विद्युत् मर्मत तथा सम्भारका साथै विद्युत् आपूर्तिका लागि काम गर्नुपर्ने अवस्थामा सडक सञ्जालको समस्या देखाउँदै उहाँ जिल्ला बाहिर रहनुभएको बताइएको छ ।

कार्यालयका प्रमुख नै बाहिरी जिल्लामा रहँदा जिल्लाको विपद् व्यवस्थापनमा समस्या भएको प्रजिअ लामिछानेले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !