७ मंसिर २०८१, शुक्रबार

सबै मिलेर मात्र कोभिड अन्त्य गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मिलेर मात्र अहिलेको कोरोना महामारीको अन्त्य गर्न सकिने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज लमजुङ जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको मुख्यमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै यस महामारीको अन्त्य गर्न तीनै तहका सरकारदेखि नागरिक लाग्नु पर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, “कोभिडको महामारीका बेला सङ्घ, प्रदेश र स्थानीय तह गरी सबै यसमा लागि सकेका छौँ ।” सरकार मात्र लागेर सम्भव नहुने र यसमा नागरिकले समेत साथ दिएमा महामारीलाई पराजित गर्न सकिने उहाँको भनाइ छ । सो अस्पतालमा पिसिआर मेसिन समेत राख्ने तयारी भइरहेको समेत मुख्यमन्त्री गुरुङले बताउनुभयो । उहाँले यस अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा कुनै कसरत बाँकी नराखी काम गर्नलाई चिकित्सकहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जिल्ला अस्पतालमा पिसिआर मेशिन छिटो राख्न निर्देशन दिँदै यसका लागि बजेट अभाव हुन नदिने बताउनुभयो । जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालका कोभिड बिरामीलाई चौविसै घण्टा गुणस्तरीय सेवा पदान गरिएको दाबी गर्नुभयो । रातदिन नभनि चिकित्सकहरु खटिरहेको छ । कोभिड सङ्क्रमण बाहेक अन्य बिरामीहरुलाई पनि सेवा प्रवाह गरिहेको अस्पतालले जनाएको छ ।
यस अस्पतालमा अक्सिजन प्लान्ट यही जेठ ८ गते जडान गरिएको थियो । प्रदेश सरकारले गत मङ्सिरमा अक्सिजन प्लान्टका लागि रु ७५ लाख बजेट पठाएकामा रु ५५ लाख ५८ हजार ६५६ मा प्लान्ट जडान भएको थियो । त्यस्तै आठ लाख दुई हजार ६७० मा अक्सिजन प्लान्ट राख्ने कोठा निर्माणमा खर्च भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सो अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर भर्नेछ । हाल ११८ वटा अक्सिजन सिलिण्डर भण्डारण रहेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । उत्पादित अक्सिजन पाइपलाइनमार्फत आकस्मिक, आइसियु, आइसोलेसन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने साथै अस्पतालका ८३ शय्यामा नै जोडिने छ ।

अस्पतालका अनुसार यहाँ निर्माण गरिएको आइसोलेसनमा हालसम्म ८७ जनाले सेवा लिएकामध्ये ६९ जना घरफिर्ता, २ जनाको मृत्यु भएको छ । त्यस्तै, हाल अक्सिजनसहित उपचारत नौ जना र छ जना अक्सिजनबाहेक गरी १५ जना कोरोना सङ्क्रमितहरु उपचारत् रहेको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !