१२ आश्विन २०८१, शनिबार

लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ : मुख्यमन्त्री पौडेल


डोरमणि पौडेल

हेटौंडा, ४ वैशाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभएको छ । भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उहाँले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । पौडेलले माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको पालना गराउन तथा लकडाउनका कारण सिर्जित समस्या निराकरण गर्न एवं भाइरस फैलिन नदिन पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिँदै केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतीक्षा नगर्न अनुरोध गर्नुभयो । पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उहाँको तर्क थियो । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पौडेलले स्थानीय निकायको कोषमा भएको रकम खर्च गर्दा भने पारदर्शिता अपनाउन सुझाव दिनुभयो ।

पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “राहत अतिआवश्यक भएकाका लागि मात्र हुनुपर्नेमा लकडाउन शुरु भएदेखि नै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत होइन ।” कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले माहामारी अवस्था आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले आज चितवनको भरतपुर महानगरपालिकाका र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाका प्रमुखसँग भिडियो कन्फेरेन्समार्फत छलफल गर्नुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !