३ असार २०८१, आइतबार

बागमतीमा संसदीय समितिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी


एमाले

नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । आज अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिने जनाइएको छ ।

अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता छन् । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहेका छन् । अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उनीहरू निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !