४ बैशाख २०८१, मंगलबार

साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा


वाग्मती सफाइ महाअभियान

काठमाडौँ । साउने झरीबीच वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियानको ४२७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभियानकर्मी दुर्गा रावलले सफाइ गर्नुभएको छ ।

पशुपति क्षेत्रको नदीमा वर्षातमा आएको बाढी केही सफा देखिए पनि किनारको भागमा फोहोर भेटिएको अभियानकर्मी खरेलले सुनाउनुभयो । शव जलाउँदा दाउरा, बाँस, फूलपातीलगायत किनारबाट राम्रोसँग सफाइ नभएको भेटिने गरेको छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको छ । सफाइमा स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्यको सहभागिता थियो । सफाइपछि महानगरपालिका–११ स्थित थापाथली क्षेत्रमा वृक्षरोपण गरिएको छ । वडाध्यक्ष हीरालाल तण्डुकारको सक्रियतामा नदी किनारको खाली जग्गामा वृक्षरोपण गरिएको हो ।

कपुर, धुपी, गुर्जोलगायत विभिन्न जातका करीब १०० वृक्षरोपण गरिएको जनाइएको छ । यसैगरी उपत्यकाका अन्य नदी, चक्रपथमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ अभियान जारी छ । वर्षात, गर्मी, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियानले निरन्तरता पाएको छ ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !