![जयन्त चन्द](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/09/Jayant-Chand.jpg?fit=774%2C482&ssl=1)
पृष्ठभूमि र जन्म
जयन्त चन्दले अघिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको थियो भने देउवा नेतृत्वको सरकारमा पनि राप्रपाको तर्फबाट उहाँले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको थियो । उहाँ राप्रपाको पूर्व महामन्त्री हुनुहुन्थ्यो भने हाल राप्रपाको केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय सम्वन्ध विभागको प्रमुख पनि हुनुहुन्छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका सुपुत्र जयन्त चन्द राप्रपामा शालिन स्वभावका बौद्धिक र क्षमतावान नेताको रूपमा चिनिनुहुन्छ ।
![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/09/Former-Minister-of-Commerce-Jayanta-Chand-took-the-oath.jpg?resize=720%2C430&ssl=1)
बि. स. २०१९ साल भाद्र १९ गते बैतडी जिल्लाको कुरकुटियामा बुवा लोकेन्द्रबहादुर चन्द र आमा दिव्यश्वरी चन्दको छोराको रुपमा उच्चबर्गीय परिवारमा जयन्त चन्द जन्मिनुभएको हो । उहाँको जीवनसंगीनी परमेश्वरी शाह (चन्द) हुनुहुन्छ । राजनैतिक पारिवारिक पृष्ठभूमि भएका चन्दले २०४७ वाट राजनीति सुरु गरेर पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ ।
शिक्षा
चन्दले काठमाडौंको भानुभक्त माध्यमिक विद्यालयमा पढे पनि पद्मोदय माध्यमिक विद्यालयवाट एसएलसी उतीर्ण गरी नेपाल ल क्याम्पसवाट आइ.एल. (कानुनमा प्रविणता प्रमाणपत्र तह)को पढाइ पूरा गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयवाट राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ ।
खाना
चन्दलाई सामान्य नेपाली खाना नै मनपर्छ । उहाँ खानामा दाल र भुजासंगै साग मन पराउनुहुन्छ । यहि बिशेष खाना भन्ने केहि छैन चन्दको ।
पोसाक
उहाँलाई साधारण पोसाक मनपर्छ । चन्दलाई सर्ट-प्यान्ट र टि- सर्ट लगाउन सहज मान्नुहुन्छ र लगाउनुहुन्छ । औपचारिक कार्यक्रममा नेपाली दौरा सुरुवाल लगाउनु हुन्छ चन्द।
![जयन्त चन्द](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2017/12/Jayant-Chand.jpg?resize=720%2C457&ssl=1)
फिटनेस
उहाँ दैनिक बिहान सामान्य व्यायाम गर्नुहुन्छ । बिहान छुटेको बेला साँझको समयमा फुर्सद मिलेसम्म हिड्ने गर्नुहुन्छ चन्द । उहाँ आफुलाई स्वस्थ राख्न सचेत हुनुहुन्छ ।
घुमफिर र फुर्सद
चन्दलाई घुम्न मनपर्छ । काम बिशेषले बेला बेला घुम्ने उहाँ फुर्सदको समयमा किताब र पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने र साथी-भाइसँग गफगाफ गर्नुहुन्छ ।
खेलकुद
उहाँलाई खेलकुदमा एकदम रुचि रहेको छ । बिशेषगरी युवा अवस्थामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेवल टेनिस खेल्न रुचाउने उहाँ अहिले भने टेलिभिजनवाट खेलहरु हेर्ने गर्नुहुन्छ । उहाँको खेल खेल्ने बिशेष रुचि भए पनि अहिले चाहिँ खेलको लागि टेलिभिजनमै सीमित हुनुहुन्छ ।
मोबाइल
सूचना र संचारको लागि मोबाइल प्रयोग गर्ने चन्दले फोनमा भने लामो कुरा गर्न रुचाउनु हुन्न बरु भेटेर नै लामो कुरा गर्न मन पराउनुहुन्छ उहाँ । कहिले काहिँ फेसबुक प्रयोग गर्न पनि मोबाइलको प्रयोग गर्नुहुन्छ चन्द ।
टेलिभिजन
उहाँ टिभिमा बिशेषगरी समाचार, खेलहरु र अनुसन्धानमुलक कार्यक्रम हेर्न रुचाउनु हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल पनि टेलिभिजनमा हेर्ने एकदम रुचि छ चन्दको ।
चलचित्र
चलचित्रमा धेरै रुचि राख्ने चन्दले युवा अवस्थामा कुनै पनि फिल्म नछुटाई सबै नेपाली चलचित्र हेर्नुहुन्थ्यो । त्यसबेला हिन्दी चलचित्र पनि धेरै हेर्नुहुने चन्द अहिले पनि समय चलचित्र हेर्न रुचाउनुहुन्छ । पछिल्लो समय टेलिभिजनमै चलचित्र आउने हुँदा हलमा नगएपनि चलचित्र हेर्न मन पराउनुहुन्छ चन्द ।
मापसे
चन्दले पारिवारिक जमघट वा कुनै बिशेष समारोहमा कहिलेकाहीँ थोरै मध्यपान लिनुहुन्छ । उहाँ सामाजिकीकरणको लागि पनि मध्यपान अहिले आवश्यक हुन्छ भन्नुहुन्छ ।
संगीत
उहाँ विशेषगरी पुराना नेपाली गीतहरु सुन्न मन पराउनुहुन्छ । मिरा राणा, योगेश वैद्य, फत्तेमानका गीत बढी रुचाउनुहुन्छ चन्द । मार्मिक र भाव बोक्ने भएकाले राष्ट्रिय गीतहरु पनि सुन्न रुचाउनुहुन्छ उहाँ ।
घर
चन्दको बुझाइमा घर भनेको आफ्नो आवश्यकता अनुसार सानो तर व्यस्थापनको लागि सहज हुने र शान्त वातावरणमा हुनु अति आवश्यक छ । ठुलो घर भन्दा नि अनुकुल वातावरणको घरले मनमा आनन्द प्रदान गर्दछ भन्नुहुन्छ चन्द ।
सौन्दर्य
सौन्दर्यलाई यही भनेर बयान गर्न उचित हुन्न भन्नुहुन्छ चन्द । सौन्दर्यका विभिन्न रुप हुन्छन् । सौन्दर्य बिशाल छ, यसलाई शब्दमा ब्यक्त गर्न सम्भव हुन्न । उहाँ भन्नुहुन्छ सौन्दर्य आखाँ, मन, भावना, दिमागसँग जोडिएको हुनाले यही भनेर परिभाषा गर्न सकिदैन ।
प्रेम
चन्दका बुझाइमा प्रेमका आयाम पनि धेरै रहेका छन् । प्रेम बिश्वासमा टिकेको हुन्छ । मानिसलाई मात्र होइन प्रेम सबै जीवित प्राणीलाई अति नै आवश्यक छ । चन्द भन्नुहुन्छ, “प्रेमविना जीवन कल्पना गर्न नसकिने हुँदा यो प्रकृतिले दिएको अधिकार नै हो ।”
सपना/लक्ष्य
देशले प्रगति गर्ने बातावरण भएको हेर्ने लक्ष्य लिएर अगाडि बढ्नुभएका चन्दलाई देशको परिस्थिति ठिक होस् भन्ने सपनाभन्दा पनि चिन्ता छ । व्यक्तिगत सपनाको सन्दर्भमा चन्दलाई छोरीको भविष्यको चिन्ता छ । जहिलेपनि बुबाआमालाई आफ्ना सन्तानको चिन्ता भएकाले छोरीको भविष्य सफल होस् भन्ने सपना छ उहाँको ।
विदेश भ्रमण
चन्दले निजी भ्रमण तथा मन्त्री हुँदा केहि देशहरू जस्तै भारत, चीन, अमेरिका, युरोपका धेरै देशहरू, कोरिया, जापान, सिंगापुर, केन्या आदि देश घुमी सक्नुभएको छ ।