१४ बैशाख २०८१, शुक्रबार

को हुन् नवनियुक्त महिलामन्त्री महिन्द्र राय यादव ?

महिन्द्र राय यादवको राजनीतिक यात्रा


महिन्द्र राय यादव

काठमाडौँ । सत्ता साझेदार दल नेपाल समाजवादी पार्टीका सांसद महिन्द्र राय यादव महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नियुक्त भएका छन् । मन्त्री यादवले सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् ।

जन्म र राजनीतिक यात्रा

मन्त्री यादवको जन्म विसं २०११ मा सर्लाहीको हरिपूर्वा नगरपालिकामा भएको हो । विसं २०३७ मा नेकपा (एमाले) को सदस्यका रुपमा उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

उनले २०६२/६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापना गरे । तर केही समयपछि तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र त्यसपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य बनेका थिए ।

मन्त्री यादवले मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरे ।

विसं २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित भएका उनले दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट निर्वाचित भए । यादव विसं २०७४ को निर्वाचनमा सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ बाट निर्वाचित भएका हुन् ।

गत मङ्सिर ४ को निर्वाचनमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्री यादव यसअघि २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका थिए ।

मन्त्री यादवको निर्णय

नवनियुक्त मन्त्री यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् । मन्त्री यादवले आज पदबहाली गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

“महिलाको अधिकारको लागि बनाउनुपर्ने कानुन, वर्तमान मन्त्रालयका यथास्थितिका समस्यालाई सामूहिक छलफल गरी समाधान गर्छौँ । जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ ।” उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !