काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त भएका छन् । अर्थमन्त्री महतले सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् ।
जन्म
नवनियुक्त अर्थमन्त्री डा. महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन् ।
शिक्षा
फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा. महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य हुन् ।
राजनीतिक यात्रा
कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लागेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका छन् । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा. महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव भए ।
कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए भने २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य हुन् ।
उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।
विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा. महतले पहिलो र दोस्रो संविधानसभामा सदस्य रहे । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकको रुपमा रहे । हाल उनी प्रतिनिधिसभाको सदस्य हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा विसं २०५८ देखि २०५९ सम्म काम गरेका डा. महतले राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा पनि काम गरेका थिए ।
उनले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रूपमा रहेर काम गरेका छन् । उनी उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय गरेका थिए ।
त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराउनुभएको थियो । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरेका थिए ।
मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा उनी देशको अर्थमन्त्री बनेकोले अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।