१२ आश्विन २०८१, शनिबार

को हुन् नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का ?

पूर्णबहादुर खड्काको राजनीतिक यात्रा


रक्षामन्त्री पूर्णबहादुर खड्का

काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री नियुक्त भएका छन् । उपप्रधान तथा रक्षामन्त्री श्रेष्ठले सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका राजनीतिक कमान्डरको रुपमा चिनिने खड्का छैठौंपटक मन्त्री बनेर उपप्रधानमन्त्री सहित रक्षामन्त्री भएका छन् । २०७९ सालको आम निर्वाचनमा खड्का सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका थिए ।

जन्म र शिक्षा

विसं २०१२ फागुन १७ गते सुर्खेतको पाम्कामा बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सुपुत्रका रुपमा उनको जन्म भएको थियो । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

राजनीतिक यात्रा

खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उनले पटकपटक बन्दी जीवन बिताएका व्यक्ति पिन हुन् उनी । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गरे ।

कांग्रेसको सुर्खेत सभापति भएर २०४५ सालदेखि २०४९ सम्म उनले सङ्गठन बिस्तारको काम गर्नुभयो । खड्का २०४८, २०५१ र २०५६ सालमा पनि सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचन भने एमालेका ध्रुब शाहीसँग पराजित भए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिक सूचीमा समावेश थिए । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा निर्वाचित खड्का २०७४ सालको आम निर्वाचनमा भने पराजित भए । यस क्रममा उनले राज्यव्यवस्था समितिको सभापति, युवा, खेलकुद तथा संस्कृतिमन्त्री, वाणिज्य मन्त्री, जनसङ्ख्या तथा वातावरणमन्त्री, सूचना तथा सञ्चार मन्त्री, उद्योग मन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएर काम गरेका छन् ।

उनी कांग्रेसको तत्कालीन नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका हुन् । २०७४ मा खुमबहादुरको निधनपछि सभापति शेरबहादुर देउवाले उनलाई २०७५ साल वैशाख २१ गते महामन्त्री मनोनित गरेका थिए ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी अहिले पनि घरि–घरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्छन् । खड्का कांग्रेसको गत वर्ष सम्पन्न महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित भएका हन् । यसअघि उनले पार्टीको महामन्त्री र सहमहामन्त्री भएर काम गरिसकेका छन् ।

विदेश भ्रमण

खड्काले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, हङकङ, भारत, जापान, केन्या, लक्जम्बर्ग, नेदरल्याण्ड, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत र अमेरिकाको भ्रमण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !