११ बैशाख २०८१, मंगलबार

को हुन् नवनियुक्त महिलामन्त्री लीलानाथ श्रेष्ठ ?


लीलानाथ श्रेष्ठ

काठमाडौँ, असोज २९ । पृष्ठभूमि : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधवार मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ भने महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लीलानाथ श्रेष्ठ दोस्रो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी थिए । सिरहाको तत्कालीन क्षेत्र नम्बर ५ मा प्रचण्डसँग ९ सय मतान्तरले पराजित भएपछि धाँधली गर्दै हराइएको भन्दै श्रेष्ठ अदालतसम्म पुगेका थिए ।

राजनीतिक यात्रा

सिरहाको गोलबजार नगरपालिका-७ मा घर भएका ६३ वर्षीय श्रेष्ठ वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै राजीनितक यात्राको थालनी गरेका वाम गठबन्धनमा ५० को दशकदेखि विभिन्न भूमिकामा पार्टीको जिल्ला नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

सिरहाको गोलबजार नगरपालिका ७ घर रहेका श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएपछि राजनीतिक रुपमा लगतार अगाडि बढे । जिल्लामा एमालेको उपसचिव, सचिव हुँदै जिल्ला पार्टी अध्यक्षको भूमिका निभाएका श्रेष्ठ २०७० को संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी रहेकाले चर्चामा थिए।

एमाले नेता श्रेष्ठ २०७४ सालको निर्वाचनमा देशभर चुनावी तालेमल गरेका एमाले र माओवादी केन्द्रबाट सिराहा-३ मा साझा उम्मेदवार बनी नेकपाका सांसद हुन् । माओवादी केन्द्र समेतको सहयोगमा ४ वर्षपछि २०७४ सालमा प्रतिनिधिसभाका लागि सिरहा ३ बाट जितेका उनले २ हजार ५२ को मतान्तरले विपक्षीलाई हराएका थिए । उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१ हजार २ सय २० मत प्राप्त गरेका छन् ।

२०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा-५ बाट तत्कालिन नेकपा माओवादी केन्द्रका प्रचण्डसँग हारेका नेकपाका नेता लीलानाथ श्रेष्ठलाई अहिले महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !