२४ पुस २०८१, बुधबार

आफ्नो स्वास्थ्य नङ हेरेर थाहा पाउनुस्


नङ

आफ्नो स्वास्थ्य नङ हेरेर थाहा पाउनुस् । नङले तपाईंको हात र गोडाको सुन्दरता बढाउने मात्र होइन, यसले त तपाईंको स्वास्थ्य स्थिति पनि बताउँछ । प्रकृतिले हाम्रो शरीरका हरेक अंगलाई विशेष विचार गरेर बनाएको छ । तपाइँलाई थाहा नहुन सक्छ हाम्रा नङको रंग र आकार हेरेर स्वास्थ्य समेत थाहा पाउन सकिन्छ ।

नङको काम चिलाएको भाग कन्याउने मात्र होइन, यसले त आफ्नै भाषामा तपाईंको स्वास्थ्य बताउने पनि गर्छ । नङको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने स्वास्थ्यका बारेमा बेलैमा जानकारी पाएर उपचार गराउन सकिन्छ । कस्ता नङ भएका ब्यक्तिको स्वास्थ्य कस्तो थाहा पाउनुहोस् ।

१. नङ फुल्ने

नङ फुल्दा नयाँ कपडा पाइन्छ भन्ने नेपालीमा लोकोक्ति छ । तर क्याल्सियमको कमीको लक्षण हो यो । कहिलेकाहीँ नङमा चोट लाग्यो भने पनि फुल्छ । नङ बढ्दै जाँदा फुलो हराउँदै जान्छ तर फुलो रहिरह्यो भने फंगल संक्रमणको लक्षण हो ।

२. पहेंला नङ

उमेर बढ्दै जाँदा नङ पहेंलिन्छन् । तर जवान मानिसकै नङ पहेंलियो भने चाहिँ नङपालिसका कारण यसो भएको हुन सक्छ । चुरोट पिउने मान्छेको नङ पनि पहेंलो हुन्छ ।

३. नङमा अर्धचन्द्राकार नहुनु

नङमा अर्धचन्द्राकार भएन भने थाइरोइडको समस्या भनी बुझ्नुपर्छ । हाइपोथाइरोइडले अर्धचन्द्र लुकाइदिन्छ अनि मूड अफ भइरहने, डिप्रेसन हुने, कपाल झर्ने र तौल बढाउने गर्छ ।

४. नङमा ठाडो कालो धर्को

नङको बीचमा वा पूरै भागमा कालो हुने स्थिति काला जातिका मानिसमा पाइन्छन् । नङभित्र रहेको कोठी पनि हुन सक्छ यो । तर यो धर्कोको रंग परिवर्तन भयो भने चाहिँ छालाको क्यान्सरको लक्षण हो ।

५. नङमा तेर्सो रेखा

कहिलेकाहीँ नङमा चोट लाग्दा यस्तो रेखा बन्न पुग्छ तर एउटाभन्दा बढी नङमा यस्तो देखियो भने चाहिँ गम्भीर बिरामीको संकेत हो । तपाईं गम्भीर बिरामीबाट निको हुनुहुँदैछ भने तपाईंको शरीरले रोगसँग लड्न सबै ऊर्जा प्रयोग गर्दैछ र नङमा ध्यान दिन पाएको छैन । केमोथेरापी गरेको मानिसको नङमा पनि तेर्सा रेखा बन्छन् ।

६. रंगहीन नङ

स्वस्थ नङ गुलाबी रंगको हुन्छ र फेदमा गुलाबीजस्तो देखिने सेतो अर्धचन्द्रकार हुन्छ । यसबाहेक अन्य रंग भयो भने लुकेको स्वास्थ्य समस्या हो । रंगहीन नङले भिटामिनको कमी भएको देखाउँछ भने हरियो नङले ब्याक्टेरियाको संक्रमण भएको देखिन्छ । सेतो रंगको नङले कलेजोको रोगको संकेत दिन्छ भने नङमा राता धर्सा देखिए भने मुटुरोगको चेतावनी हो । हल्का नीलो नङले चाहिँ तपाईंको रगतमा अक्सिजनको मात्रा कम भएको देखाउँछ ।

७. चम्चा जस्ता नङ

चम्चाको आकारका नङमा त पानी समेत अड्न सक्छ । यसो भयो भने आइरनको कमी भएको संकेत हो । कलेजोको रोग हेमोक्रोमाटोसिसको पनि संकेत हो यो । हाइपो थाइरोइड भयो भने पनि नङ चम्चा जस्तो हुन पुग्छ ।

८. बाक्ला नङ

बाक्ला नङ प्राकृतिक देखिँदैनन् र चराको नङ्ग्रा जस्ता देखिन्छन् । तपाईंको यस्तो नङ छ भने फोक्सोको रोगको संकेत हो । छुट्टिएका बाक्ला नङले थाइरोइडको संकेत दिन्छन् । रक्तसञ्चारको समस्या वा फंगल संक्रमण पनि यसले जनाउँछ ।

९. सुख्खा र सजिलै फुट्ने नङ

रसायनयुक्त सफाई औजार, नङपालिस हटाउने रिमुभर, पञ्जा नलगाइकन भाँडा धुने काम, बुढ्यौली र चिसो अवस्थाले नङ सुख्खा हुने र फुट्ने गराउँछ । यी माथि उल्लेख कारण बाहेक नै तपाईंको नङ फुट्छन् भने तपाईं थाइरोइड वा फंगल संक्रमणको शिकार हुनुहुन्छ ।

१०. भुक्क उठेका नङ

भुक्क गरी नङ उठ्दा तपाईंका औंला सुन्निन्छन् । यो भनेको मृगौला वा कलेजोको समस्याको संकेत हो, मलत्यागको समस्या र अझ एड्स जस्तो गम्भीर रोगको पनि संकेत हो । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

भाग्यमानी हुन्छन् यस्ता जीवनसाथी भएका मान्छे

आफ्नो व्यक्तित्वबारे थाहा पाउन सकिन्छ जन्म बारवाट

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !