यस्तो छ शुक्रबार व्रतकथा ! माणिकपुर नामको कुनै एउटा नगरमा कायस्थ, ब्राह्मण र वैश्यका पुत्रहरू बीचमा गहिरो मित्रता थियो । तिनीहरू प्रायशः सँगसँगै बस्ने, उठ्ने, सुत्ने, खाने र हिँड्ने गर्दथे । तीनै जनाको विवाह भैसकेको थियो । ब्राह्मण र कायस्थका छोराहरूको त मैतालु समेत ल्याइसकेको थियो तर वैश्यपुत्रको द्विरागमन हुन भने बाँकी थियो । एक दिन वैश्यपुत्रसित उसका साथीहरूले भने- अरे यार! तिम्रा घरमा नोकरचाकर छन्, धनको भण्डार छ तापनि तिम्री पत्नीका अभावमा घर बिरानो र शून्य भएको अनुभूति हुन्छ, त्यसैले हे मित्र! जाऊ ससुराल गएर आफ्नी पत्नीलाई लिएर आऊ ।
दुबै साथीका कुरा सुनेपछि वैश्यपुत्र धनराजले आफ्नी पत्नी कुसुमलाई घर ल्याउने निश्चय गर्यो । अर्को दिन धनराजले आफ्ना मातापितासित आफू कुसुमलाई घर लिई आउन ससुराली जाने कुरा बतायो । नवविवाहिता पुत्रबधूको द्विरागमन ( माइतबाट पहिलोचोटि घर फ़र्कने कृत्य) भएको थिएन । १६ दिनपछि मैतालु लाँदा साइत हेराउनु पर्ने ज्योतिषीय मत छ, छोराका यस्ता कुरा सुनेर उसका बाबुआमा छक्क परे । अनि छोरालाई भने- बाबु ! हिजोआज शुक्रास्तको समय छ, त्यसैले अहिले बुहारीको आगमन राम्रो, उचित र फलदायी हुँदैन । केही समय प्रतिक्षा गर, राम्रो साइत निस्केपछि ज्योतिषीको सल्लाहबमोजिम लिन जाँउला । तर धनराज जिद्दी मान्छे थियो, उसलाई आमाबाबुका कुरा मन परेनन् र स्वीकृतिबिना नै ससुराल पुग्यो ।
ससुराली पुग्दा उसलाई सासुससुराले असाध्यै जोड्तोडले स्वागत गरे । बेलुकाको खानपिनपछि धनराजले आफू आउने उद्देश्य बतायो र भन्यो – म कुसुमलाई लिन आएको हुँ । ज्वाईँका कुरा सुनेर सासुससुरा पनि छक्क परे, अनि उसका बाबुआमाले भनेकै कुरा दोहर्याउँदै भन्न थाले- ज्वाईँ नारायण! हिजोआज शुक्र अस्त छन्, यस्तो वेलामा छोरीलाई माइतबाट विदाइ गर्ने चलन छैन, अतः हजुर केही दिन यहीँ राज गर्नुहवस्, समुचित शकुन हेरेर हामी विदाइ गर्न तैयार छौं । जिद्दी धनराजले त्यसै दिन विदा गर्ने हठ गर्न थाल्यो । सबैले सम्झाइबुझाइ गर्द पनि ऊ लिएरै जाने अडानमा यथावत् रह्यो । आखिरमा ज्वाईँको जिदमा घुँडा टेक्नै पर्यो, सासुससुराले कुसुमलाई विदावारी गरे ।
आफ्नी पत्नी कुसुमलाई लिएर धनराज गृहनगर प्रस्थान गर्यो । फर्कँदै गर्दा बाटोमा गोरुगाडामा जोतिएका दुबै गोरु अनायासै बेस्सरी कुद्न थाले । यसरी बैलगाडाका गोरु अचानक दौंडँदा बाटोमा रहेको एउटा ठूलो ढुङ्गामा ठोक्किएर गाडाको एउटा पाङ्ग्रो भाँचियो । परिणामतः गाडामा आएको असन्तुलनले कुसुम गाडाबाट तल लडी र उसलाई चोट पनि लाग्यो । दुबैले अब बाँकी यात्रा पैदल तय गर्नु पर्ने भयो । सुनसान र एकान्त मार्गको लामो यात्रामा हिँड्ने क्रममा तिनीहरू डाकाबाट पनि लुटिए । तिनीहरूको सारा सम्पत्ति, गरगहना र लुगाफाटा समेत डाकाले खोसेर लगे ।
बिचराहरू जसैतसै भोकैप्यासै घर पुगे । उता घर पुगेपछि पनि आराम गर्ने क्रममा धनराजसुतेकै स्थानमा आएर एउटा सर्पले उसलाई ठुङ्यो । सेठजीले ठूल्ठूला डाक्टर-वैद्य बोलाएर सर्पविष शमन गर्ने उपाय गर्न लगाए तर कोही पनि सफल भएन । त्यसपछि टाढाटाढाबाट सँपेराहरू बोलाइए, तिनले पनि धनराजलाई बचाउन सकेनन् । धनराजको मृत्यु भयो । शोकग्रस्त सेठजीले छोराको असमयमा मृत्यु किन भयो भनी विद्वान् पण्डितहरू बोलाएर छलफल गर्दा ती विद्वानले भने- सेठजी ! हजुरको पुत्रले शुक्र अस्त भएका अवसरमा बुहारीलाई मैतालु लिएर आउनाले यो अवस्था सिर्जना भएको हो ।
यदि हजुरले तथा विशेषतः बुहारीले शुक्रवारका दिन विधिवत् व्रत लिएर, पूजा, आराधना र कथाश्रवण गरी प्रसाद वितरण, ब्राह्मणभोजन आदि समेत गरी प्रसादग्रहण गर्दा शुक्रदेवताको अनुकम्पाले धनराज पुनः जीवित हुनसक्छ । सेठजीले पण्डितहरूका मतलाई स्वीकार गरी मृतपुत्रको संस्कारादि कृत्य नगरी बुहारीका साथमा उसकै माइत पठाइदिए । सेठकी बुहारी कुसुमले माइत पुगेर शुक्रवारका दिनको व्रत र पूजा-पाठ सम्पादन गरी । उसले आफ्ना पतिबाट भएको भूलप्रति शुक्र देवतासित माफी मागी । त्यसैवेला धनराज निदाएर उठे झैं जुरुक्क उठ्यो ।
धनराज जीवित हुँदा सर्वत्र हर्षोत्सव मनाइयो । बुहारीले लिएको व्रतको प्रभावले छोरो धनराज जीवित भएको थाहा पाएपछि सेठसेठानीले पनि विधिविधानले शुक्रवारको व्रत लिए र बालबालिका, ब्राह्मण, दीनदुःखी र गरीबगुरुबाहरूलाई अन्न, वस्त्र र धन दान गरे । शुक्र-उदय भए पछि धनराज आफ्नी पत्नी कुसुमका साथ पुनः घर फर्कियो । दुबै पति-पत्नीले त्यसपछिका प्रत्येक शुक्रवारका दिन विधिवत् व्रत लिँदै शुक्रपूजा गर्न थाले । तिनीहरूको घरमा धन-धान्य वर्षियो, समस्त कष्ट नाश भए र परिवारमा सबैजना आनन्दपूर्वक बस्न थाले ।
यो पनि पढ्नुहोस्