६ बैशाख २०८१, बिहिबार

सकियो आज लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण


ग्रस्तोदित खग्रास चन्द्रग्रहण

काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि आकाश खुलेका ठाउँबाट ग्रहण स्पष्टरुपमा देखिएको थियो ।

बेलुकी ०५ः२७ बजे ग्रहणको मध्य भएको थियो । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिएको थियो ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएअनुसार आज बिहान ८ः११ बजेदेखि नै भोजन निषेध गरिएको थियो । शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि भने अब भोजन गर्न कुनै बाधा नभएको उहाँले सुनाउनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताए ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सूतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्न हुने बताइएको छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । आज शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

ग्रस्तोदित खग्रास चन्द्रग्रहण

तक्षशिलामा देखाइयो चन्द्रग्रहण

खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाइएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिएको जनाइएको छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !