१२ असार २०८१, बुधबार

यस्तो छ हेर्नुहोस् उत्तराफाल्गुनी नक्षत्रको जन्मफल


उत्तराफाल्गुनी नक्षत्र

उत्तराफाल्गुनी नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – टे, टो, प, पी । तर यस नक्षत्रको सुरुको अक्षरमात्र सिंह राशिमा पर्छ । त्यसैले टे अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको उत्तराफाल्गुनी नक्षत्र र सिंह राशि हुन्छ । यस नक्षत्रमा जन्म लिने जातकको प्रकृति यस्तो हुन्छ :

१. यिनीहरू खुल्ला विचार र आकर्षक व्यक्तित्व भएका हुन्छन् । आफ्ना कार्यकौशलका माध्यमबाट सबै ठाउँमा अमीट छाप पार्न र प्रसिद्धि प्राप्त गर्न सक्दछन् । उच्च शिक्षित र बुद्धिमान् पनि हुन्छन् । सामाजिक रूपले सम्मानजनक पदमा आसीन हुनपुग्छन् ।

२. आफ्नो आम्दानीको स्रोत बलियो बनाई जीवन शैली आनन्दमय तुल्याउन सक्दछन् । उच्च लक्ष्य भएका व्यक्तित्व हुन्छन्, आन्तरिक ऊर्जाले भरिपूर्ण हुन्छन्, जुनसुकै काम छरितो ढंगले सम्पादन गर्नु यिनको विशेषता हो । त्यस्तै खाली नबस्नु र जतिबेला पनि सक्रिय रहनु अर्को स्वभाव हो ।

३. बुद्धिमान् र होसियार हुन्छन् । भविष्यसम्बद्ध योजना बनाउन र रणनीति तैयार गर्न कुशल हुन्छन् । त्यसैले राजनैतिक क्षेत्रमा प्रवेश गरेमा सफल हुन्छन् । कुटनैतिक दिमाग हुन्छ ।

४. महत्त्वाकाङ्क्षी हुन्छन् र आफ्नो महत्त्वाकाङ्क्षा पूर्ण गर्नका निमित्त हरेक प्रयास गर्छन् । लक्ष्य तय गरेर त्यसमा जस्तै परिस्थितिमा पनि पुग्ने चेष्टा गर्छन् । उच्च महत्त्वाकाङ्क्षा भएकाले सानातिना काम गर्न रुचि राख्दैनन् ।

५. सरकारी जागिर वा अन्य क्षेत्रमा प्रयास गरेमा तुरुन्त राम्रो सफलता आर्जन गर्न सक्दछन् । यद्यपि बन्दव्यापार वा निजी व्यवसायबाट बढी लाभ हुन्छ । स्थायित्वमा विश्वास गर्दछन्, एक पल्ट थालेको काम वा पेसालाई फेर्ने चाहना हुँदैन ।

६. सम्बन्ध र मित्रताका सिलसिलामा पनि यो कुरा लागु हुन्छ । आफूमा सामथ्र्य भए पनि अरुबाट सिक्न खोज्नु यिनीहरूको विशेषता हो । दृढविश्वास र लगनशीलताका साथमा आफ्नो उद्देश्य र लक्ष्यलाई हासिल गर्न तत्पर रहने भएकाले निरन्तर उन्नतिप्रगतिको मार्गमा अघि बढ्ने गर्छन् ।

७. पारिवारिक र घरायसी जिम्मेवारीलाई पालन गर्न सक्षम हुन्छन् । सन्ततिको उन्नति प्रगतिका निमित्त हरसम्भव सहयोग र प्रयास गर्छन् । तर घरका सदस्यलाई दबाव र अनुशासनमा राख्ने बानी हुने हुँदा कहिलेकाहीं गृहस्थ जीवनमा तनावको सिर्जना हुनसक्छ ।

८. सामाजिक सम्मानको राम्रो सम्भावना छ र आफ्नो परिवेशमा सम्मानित हुन्छन् । शारीरिक पक्षमा सुस्वस्थ र सुन्दर संरचना हुन्छ ।

९. यस नक्षत्रका अधिदेवता अर्यमा हुन् र मुख्य ग्रह सूर्य हुन् । रुद्राक्षको रुखलाई यस नक्षत्रको प्रतीक मानिन्छ र उत्तरा फाल्गुनी नक्षत्रमा जन्मने मान्छेले रुद्राक्ष वृक्षलाई पूजा गर्नुपर्छ, त्यस्तै यस नक्षत्रमा जन्म भएका व्यक्तिले आफ्नो घरको खाली भागमा रुद्राक्षको बिरुवा रोपेर स्याहार सम्भार गर्दछन् ।

शुभ दिन !

ज्यो. खगेन्द्र सुवेदी
महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र,
इटहरी, सुनसरी, नेपाल
९८६५८०७३४३/९८१७९००७५०

धन्यवाद !

यो पनि पढ्नुहोस्

यस्तो छ हेर्नुहोस् पूर्वाफाल्गुनी नक्षत्रको जन्मफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !