७ बैशाख २०८१, शुक्रबार

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पर्छ मनाउनै


पृथ्वीनारायण शाह

हामी यतिसम्म गिर्दैछौं र स्वार्थमा डुब्दैछौं कि राष्ट्र निर्मातालाई समेत भुल्दैछौं । हाम्रो यही बानीको कारणले गर्दा आज हामीपछि पर्दैछौं । भोली २७ गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस भव्यताका साथ सफल पारौं ।

हरेक बर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती हर्षोल्लासपूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झक्झक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।

पृथ्वीनारायण शाह दक्षिण एसियाकै एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् ।

पृथ्वीनारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । १८ औं र १९औं शताब्दीको अन्तर्राष्ट्रिय राजनीति हेर्ने हो भने पनि अहिलेका बिशालकाय बिभिन्न देशहरु त्यस समयमा एकिकृत भएका देखिन्छन् ।

स-साना राज्य, शाशक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरी नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरुको पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।

२०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वीनारायण शाहको सालिकमा भब्य रुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकस्मात बितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको देखिन्छ ।

चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वी जयन्ति होस्, नेपाली सभ्यताका ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वीनारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !