१२ आश्विन २०८१, शनिबार

असफलताको सफलता


कमल प्रसाद शर्मा कमल प्रसाद शर्मा

“ल हेर् र छिटो सार्, पास हुन्छस्” भन्दै विमलले आफ्नो उत्तर पुस्तिका मतिर सार्यो| कुरो आजभन्दा करिब दश वर्ष अगाडिको हो| त्यो बेला म अमृत साइन्स कलेजमा बि.एस.सी. प्रथम वर्षमा पढ्दै थिएँ| मलाई बि.एस.सी पढ्ने मन नै थिएन| मलाई इन्जिनीअरिंग पढ्ने मन थियो तर आर्थिक र पारिवारिक कारणले म त्यो सपना लत्याएर बि.एस.सी.मा भर्ना लिन बाध्य भएँ| म क्लास लिन त्यति जाने गर्या थिइँन| सरकारी कलेजमा त्यति पढाई पनि हुँदैन थियो तर बाँच्नका लागि पढ्नु मेरो बाध्यता थियो| त्यसैले पढाइ छोड्ने बानी बस्न सक्छ भनेर केहि नपढे पनि म वार्षिक परीक्षा दिनका लागि लागें शंखरदेव कलेजतर्फ|

तीन घण्टा बस्ने त कुरै भएन तर डेड घण्टा सम्म भित्ता हेरेर भए पनि बिताउनै पर्ने थियो | गणितको परीक्षामा जेनतेन केही पढेरै लेखियो, तथ्यांकशास्त्रको परीक्षामा साथीको सारियो र आयो फिजिक्सको दिन | मेरो अगाडि विमल बसेको थियो र उसले मलाई उत्तर पुस्तिका देखाउँदै थियो, म सार्नै के लागेको थिएँ मनमा एउटा भावनाले जरा गाड्न थाल्यो| मेरो मन पर्ने विषय थियो फिजिक्स, यदि मैले बिना मिहेनत चोरेको भरमा पास गरिहालें भने त्यो पास भएको सर्टिफिकेटले के दिन्छ? बिना ज्ञान र परिश्रमको फलको के अर्थ? बरु अर्को वर्ष राम्ररी पढेर दिन्छु| यस्ता सोचाइ मनमा आएपछि मेरो कलम चलेन| परीक्षा निरीक्षक त्यति कडा थिएनन् र सार्न कुनै समस्या पनि थिएन| विमल कराउँदै थियो तर म उसलाई हेर्दै मुसुक्क हाँस्दै थिएँ| म त्यस दिन पुरै तीन घण्टा मनन गर्दै र भित्तातिर नियाल्दै बिताएँ| परीक्षापछि विमल मलाई हप्काउदै थियो तर मैले उसलाई यति मात्रै भनें, “मेरो मुड थिएन यार!” अर्को वर्ष मैले फिजिक्सको पुन: परीक्षा दिएँ| तर यति मात्र फरक थियो कि यसपटक तीन घण्टा लेखेर बिताएँ| बि.एस.सी. मैले फिजिक्स मेजर लिएर पास गरें र फिजिक्समा एम.ए.सी. गर्न भारत गएँ पनि| त्यहाँ मैले खुब मेहेनत र लगनका साथ पढें र सर्वाधिक अंक पनि ल्याएर नेपालीको नाम राख्न सफल भएँ| भारतको हरियाना प्रदेशलाई म नेपालीले प्रतिनिधित्व गरेर केरलाको CALICUT UNIVERSITY मा गएर एक महिने तालिम लिएको मलाई आजसम्म पनि ताजै छ |
आज आएर कहिलेकाहीं म सोच्छु कि यदि मैले त्यो दिन परिक्षामा सारेको भए के हुन्थ्यो होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !