छठ पर्व नेपालको विशेषगरी मिथिलाको प्रमुख पर्व हो । मिथिलांचलमा यस सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि विधान अनुसार परम्परागत रुपले पूजा गर्ने परम्परा छ । यसै तिथिमितिमा छठिमाईको पूजा सूर्यपूजासँगै गरिन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा-शक्ति उत्पत्ति गर्ने स्रोतको रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ । सूर्यलाई भौतिक उर्जा, प्रकाश, आरोग्य, उपासना, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, व्रह्मचर्य तथा श्रद्धा आदिको उदीयमान प्रतिक मानिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको छ ।
अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ । सूर्यद्वारा चर्मरोग सम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौं प्राचीन साहित्यमा उपचार प्रसङ्ग पाइन्छ ।
सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।
सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको हुनाले सूर्य प्रति कृतज्ञताको अभिव्यक्ति पनि छठ पर्वले दिन्छ । यसका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो । छठ प्रकृति र पुरूषको पूजा हो, सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
वैज्ञानिक अथवा योगको भाषामा छठ ६ वटा अवस्थामा गरिने योगका माध्यमले सूर्यको किरणमा रहेको सौर्य शक्ति प्राप्त गर्ने विधि हो । उपवास, सरसफाइ र विशेष अनुशासनले शरीर र दिमागलाई निविर्षीकरण गर्न मद्दत मिल्छ । आधा शरीर पानीमा डुबाई उभिँदा प्राप्त शक्ति शरीरबाट बाहिर निस्कन पाउँदैन र शक्ति दिमागतिर जान थाल्छ ।
सौर्य शक्ति व्रतालुहरूको आँखाको रेटिना र छालाको माध्यमले मानिसको शरीरमा प्रवेश गरेपछि पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थी सक्रिय हुन्छ । अनि सौर्य शक्ति विभिन्न स्पाइन र न्युरोनका माध्यमले शरीरको विभिन्न भागमा जान्छ र व्रतालुको शरीर पावरहाउसमा परिवर्तित हुन्छ । जसका कारण शरीरका सबै निष्क्रिय तन्तु फेरि सक्रिय हुन्छन् । यसलाई योगको भाषामा कुन्दलिनी शक्ति भनिन्छ ।
मान्छेको शरीर एउटा शक्ति सञ्चारको बाटो हो । छठ प्रक्रियाको प्रमुख उद्देश्य दिमाग र शरीरको विभिन्न भागमा सौर्यशक्ति प्रवाह गर्नु हो । रेटिनाले एउटा प्रकाश प्राप्त गर्छ अर्थात् जब आँखा घामको उज्यालोमा हुँदा शक्ति प्राप्त गर्छ अर्थात् जब आँखा घामको उज्यालोमा पर्छ, तब विद्युत् शक्ति रेटिना र पिनियल ग्रन्थीलाई जोड्ने नसा भएर रेटिनाका माध्यमबाट पिनियल ग्रन्थीमा जान्छ ।
पिनियल ग्रन्थी, पिट्युटरी र हाइपोथालामस ग्रन्थीको धेरै नजिक हुन्छ, जहाँ यी तीनवटैलाई त्रिवेणी भनिन्छ । जसका कारणले उत्पादित शक्तिको प्रभाव यी तीनै ग्रन्थीमाथि पर्छ । यिनीहरूकै सक्रियताले राम्रो स्वास्थ्य र शान्त दिमाग प्राप्त हुन्छ । छठ पर्वको पूजाले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । छठको विभिन्न मान्यता र प्रक्रिया पूरा गर्दा सूर्यको सुरक्षित किरणले चर्मरोग निको पार्न मद्दत गर्छ । सौर्य शक्तिको प्रभाव ग्रन्थीमाथि पर्दा सन्तुलित हर्मोन उत्पादन हुन्छ ।
*आजको वैज्ञानिक युग संसार कहाँ पुगिसक्यो हामी चाहि यस्ता कुरामा अल्मलिने भनेर यस्ता कारणलाई नजर अन्दाज गरी चरम भौतिकवादी हुनु पनि ठिक होइन । हाम्रा हरेक रितिरिवाज, चाडपर्व जस्ता संस्कृतिभित्र लुकेको वैज्ञानिक पक्ष केलाउन जरुरी छ । संस्कृति र विज्ञानको के कस्तो सम्वन्ध हुन्छ भन्ने विषयमा पनि गहन खोज, अध्ययन र अनुसन्धान गर्न जरुरी छ । सच्चा देशभक्त विद्वान तथा वैज्ञानिकले आफ्नो देशको कला, धर्म तथा संस्कृति र लोपुन्मुख स्वदेशी मौलिक प्रविधिको संरक्षण गर्नुपर्छ । जुनसुकै विषय र क्षेत्रमा खोज, अध्ययन तथा अनुसन्धानको लागि यो देश नेपाल कुमार कुमारी जस्तै पवित्र भुमि हो । प्रत्येक कुरामा प्रश्न उठाउने र त्यसको कारण खोज्ने प्रयास गर्नुपर्छ अनि मात्र नयाँ-नयाँ वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान र आविष्कार हुन सक्छन । आँखा चिम्लेर कुनै पनि कुरालाई त्यसै स्वीकार गर्ने बानी आजैवाट हटाऊ । वैज्ञानिक सोच र संस्कारको विकास गरौ ।
*गोपाल भण्डारी नेपालपत्र डट कमका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्