काठमाण्डौमा घर बनाउँदै हुनुहुन्छ ? कस्तो छ त काठमाण्डौको भौगर्भिक बनावट ? कहाँ छ त सुरक्षित स्थान?
काठमाण्डौमा घर बनाउने सपना सबैले बोक्ने गर्छन्। अरु केही गर्न नसकेपनि दुख सुख गरेर दुइ-चार आना जग्गा अनि एउटा घर काठमाण्डौमा बनाउन सके आफुले ठुलै प्रगती गरेको ठान्नेहरु धेरै छन् यो समाजमा। अझ पढाइ तथा काम केही नभए पनि काठमाण्डौमा एउटा घर भएको केटा भए ढुक्क सङ्ग आफ्नी पढेकी सिक्षित छोरी दिन अघीसर्ने छोरीको बाबुहरुको के कुरा गर्ने। काठमाण्डौमा घडेरी भनेपछी भिर पहरा पनि नहेरी पैसा हाल्ने मानिसहरुलाइ अब के भनौँ? यहाँ न त राज्यको कुनै निती छ न त कार्यान्वयन नै। जिवन भरी कमाएको पैसा जहाँपायो त्यहीँ खन्याउने र पछी पछुताउने प्रबृत्ती आम मानिसमा छ। उता भुकम्पको त्राश भने ताजै छ सबैको मथिङ्गलमा। भुकम्प आउलाकी भन्ने डर एकातिर छ भने घर जग्गा नकिनी नहुने कथित सामाजिक बाध्यता अर्को तिर छ। तर कस्तो ठाउँमा घर बनाउन उपयुक्त छ र कस्तो घर बनाउने भन्ने कुराको जानकारी कमैमा छ र जानकारी लिन पनि कोही नचाँहने अवस्था छ।
के काठमाण्डौको सबै ठाउँ भुकम्पिय सुरक्षा दृष्टीले सुरक्षीत छ त? कुन ठाउँको माटो कस्तो छ त काठमाण्डौको? र त्यो माटोको भारबहन क्षमता कस्तो रहेको छ भनेर बिभिन्न भुगर्भ सङ्ग सम्बन्धीत राष्ट्रीय तथा अन्तराष्ट्रीय संघ संस्था हरुले अध्ययन गरिसकेका छन् भने माटोको अध्ययनमा लेखक आफैँ पनि केही हदसम्म संलग्नता रहेको छ।
काठमाडौँ उपत्यकाको अधिकांश भाग ठूला संरचना बनाउन अयोग्य रहेको बिभिन्न अनुसन्धानहरुले पटक पटक प्रष्ट पारिसकेको छ। काठमाण्डौ उपत्यकाको भौगर्भिक अवस्था हेर्दा बिगतमा यो एउटा ठुलो पोखरी थियो भनेर जो सुकैले अन्दाज गर्न सक्तछ। हो, काठमाण्डौ उपत्यकाको जमिनको अध्ययन गर्दा त्यही देखिन्छ। यहा पोखरीले डिपोजिट गर्ने फाइन सेडिमेन्ट जसमा मसिना बालुवा, क्ले अनि माटोको सतह छ। यहाँको अधिकाम्स ठाउँमा जमिनमुनी धेरै गहिराइ सम्म चट्टान भेटिँदैन। केवल माटो मात्र रहे पनि उक्त माटो पनि बलियो छैन। २० वर्षअघि १९९८ मा खानी तथा भूगर्भ विभागले जर्मनीको फेडेरल इन्स्टिच्युट फर जियोसाइन्सेस एन्ड नेचरल रिसोर्सेसको सहयोगमा गरेको अनुसन्धानका आधारमा काठमाण्डौ उपत्यका को इन्जिनियरिङ तथा इन्भारोमेन्टल जियोलोजिकल म्याप तयार गरेको थियो।
त्यसै गरी भुगर्भ शास्त्र केन्दृय बिभाग, त्रीभुवन विश्वविध्यालय तथा भुगर्भ शास्त्र बिभाग त्रीचन्द्र क्याम्पसका भुगर्भशास्त्रका प्राध्यापक हरुले गरेको बिभिन्न अध्ययन अनुसन्धानको आधारमा काठमाण्डौ उपत्यकाको बिभिन्न भागमा माटोको अवस्था र उक्त माटोको भारबहन क्षमता प्रस्ट पारिएको छ। बिभिन्न अध्ययनमा विषेश गरी काठमाण्डौ उपत्यकाको माटोको संरचनात्मक स्वरुप, त्यसको विषेशता तथा प्रकृतीको अध्ययन गरिएको छ। कुन क्षेत्रमा कस्तो माटो, खनिज र जलस्रोतको अवस्था छ, त्यसको चरित्र र संरचना कस्तो हुन्छ, अनि त्यस ठाउँमा के कस्ता भवन संरचना बनाउन मिल्छ वा मिल्दैन भनेर स्पष्ट गरिएको छ। माटोको बिभिन्न प्रकार र अवस्थाको आधारमा त्यसलाइ बिभिन्न फर्मेसनको नाम दिएर ब्याख्या गरिएको छ।
कालीमाटी फर्मेसन
यसमा कालो रङ्गको माटो बढी रहेको हुन्छ जसमा अलिअलि सिल्ट मिसिएको छ । यसमा काठ, झार, पात, पतिंगर, जीवजन्तुका अंगजस्ता जैविक तत्वहरु बढी छन्। कतै कतै मसिनो बालुवाका पत्रहरु पनि छन्। कालो माटोको पत्र बढी भएको ठाउँमा भारबहन क्षमता (बियरिङ्ग क्यापासिटी) कम हुन्छ, यस्ले बढी पानी बोक्न सक्छ र पानी बोकेपछी यो नरम र चिप्लो हुन्छ। यस्तो ठाउँमा घर भासीने सम्भाबना बढी रहन्छ । भुकम्प को बेला यस्तो घर बढी जोखिम मा हुन्छ । कालो माटोको पत्र बाक्लो हुँदा वहन क्षमता न्यून हुन्छ भने खस्रो बालुवालगायत ढुंगाको पत्र भएको स्थानमा मध्यम खालको वहन क्षमता हुन्छ। यसमा तरलीकृत(liquefaction) हुने जोखिम त कम हुन्छ तर जहा कालोमाटोको मोटो पत्र हुन्छ, त्यो ठाउामा घर धसिने सम्भावना बढी हुन्छ।
कीर्तिपुरको पांगा (बाघभैरव मन्दिर रहेको थुम्को डाँडो र वरिपरिको क्षेत्रबाहेक)थानकोटदेखि बलम्बु, सतुंगल, कलंकी, कालीमाटी, बाफल, ताहाचल, डल्लु, शोभाभगवती, चमती, बालाजु, माछापोखरी, गोंगबु, सोह्रखुट्टे, सोल्टीमोड र चोभारको सिमेन्ट कारखाना यसमा पर्छन्। यसैगरी विष्णुदेवी, बल्खु, सानेपा, धोवीघाट, पाटन, सातदोबाटो, ठैब, हरिसिद्धि, बाडेगाउँ, सानागाउँ, लुभु, इकुडोल, चित्रपुर लगायतहनुमन्ते खोलाको दायाँबायाँ, बागमतीनदीको दुवैतर्फको फराकिलो भूभाग, विष्णुमती नदीको दुवैतर्फ, खासगरी यसको पश्चिमपट्टिको ठूलो भाग, मनोहरा नदीको दायाँबायाँको फराकिलो भाग यस फर्मेसनमा पर्छन्।
जडीबुटी, भक्तपुरको मुख्य सहर, ठिमी, बोडे गाउँ, सूर्यविनायक, जगाती, हनुमन्ते खोला, खस्याङ खुसुङ खोलाचाखु खोला, सिपाडोल खोला र तब्याखुसी खोला वरपरका क्षेत्र, पलाँसे, नलिन्चोकलगायत अरनिको राजमार्गका दुवैतर्फको फराकिला सम्म क्षेत्र र खोँचहरु यसमा पर्छन् । भार वहन क्षमताका दृष्टिले यी सबैभन्दा जोखिमका क्षेत्र हुन्।
टोखा फर्मेसन
यसमा कालो खैरो माटो, बालुवा, ग्राभेल लगायत मिसिएको छ। कुनै ठाउँमा भार वहन क्षमता बढी र कुनै ठाउँमा कम छ। जुन ठाउँमा ग्राभेल र बालुवाको मात्रा बढी छ, त्यहाँ भार वहन क्षमता बढी हुन्छ। माटोको मात्रा बढी हुँदा भार वहन क्षमता कम हुन्छ । बालुवा र ग्राभेलका कारण यसमा तरलीकरणको सम्भावना मध्यम खालको हुन्छ । मसिनो बालुवा (फाइन स्यान्ड)को मात्रा बढी हुँदा भने तरलीकृत हुने सम्भावना बढी हुन्छ। टोखा, धर्मस्थली, बुढानीलकण्ठ , मनमैजुका केही ठाउँमा यस्तो भौगर्भिक संरचना छ।
गोकर्ण फर्मेसन
यसमा सिल्टी बालुवा र माटोका पत्रहरु छन्। यसमा सिल्टको मात्रा बढी छ। सिल्ट र बालुवा मिसिएको उक्त बालुवालाइ सिल्टी स्याण्ड भन्दछ। सिल्ट भन्नाले फाइन स्यान्ड भन्दा पनि मसिनो अर्थात् माटो र फाइन स्यान्डको बीचको अवस्थालाई जनाउछ । यसमा भार वहन क्षमता मध्यमदेखि उच्चसम्म हुन्छ। तरलीकृत हुने सम्भावना न्यूनदेखि मध्यम तहको हुन्छ। टोखा फर्मेसनभन्दा यो फर्मेसन बढी सुरक्षित छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,जमल, घन्टाघरदेखि बुढानीलकण्ठसम्मको मूल सडकको दायाँबायाँ, सिंहदरबार, डिल्लीबजार, मूलपानी, बौद्ध, गोकर्ण, ब्रम्हखेल, साँखु, भक्तपुरको पिखेल र खरिपाटीको दक्षिणतिरको भाग लगायत क्षेत्रमा यस खालको माटो रहेको छ।
चापागाउँ फर्मेसन
यो सिल्टी स्यान्डी ग्राभेल भएको फर्मेसन हो, जसमा कुनै कुनै ठाउमा अलि ठूला ढुंगा पनि छन् । यसमा भार वहन क्षमता उच्च रहेको छ भने तरलीकृत हुने सम्भावना न्यून हुन्छ। त्यसैले यो भूकम्पीय दृष्टिले टोखा र गोकर्ण फर्मेसनभन्दा बढी सुरक्षित छ। तर, यस्तो क्षेत्र उपत्यकामा निकै कम छ।
थेचो, चापागाउँ, प्याङ गाउँ, सुनाकोठी, खोकनामा यस खालको माटो रहेको छ।
कोबगाँउ फर्मेसन
यसमा मसिनो बालुवा धेरै छ। कहीँ कहीँ बलौटे माटो र ग्राभेल छ। यसमा मध्यम खालको भार वहन क्षमता छ। तरलीकृत हुने अवस्था न्यूनदेखि मध्यम तहको छ। मसिनो बालुवाको पत्र बाक्लो भएको स्थानमा जमिन तरलीकृत (liquefaction) हुने सम्भावना उच्च हुन्छ। ललितपुरको कोपगाउँ र त्यसवरिपरिको सीमित क्षेत्रमामात्रयस्तो भौगर्भिक संरचना छ।
लुकुन्डोल फर्मेसन
यसमा केही बालुवा र केही माटो मिसिएको सिल्ट छ। ग्राभेल र माटो मिसिएको बालुवाका पत्रहरुपनि छन्। यसमा भार वहन क्षमता मध्यमदेखि उच्च छ भने तरलीकृत हुने अवस्था न्यून छ। भवन निर्माणको दृष्टिले चापागाउ फर्मेसनभन्दा कम र गोकर्ण फर्मेसनभन्दा बढी सुरक्षित छ। खोकना ,बुङमती सहित चोभार भन्दा दक्षिणको बागमतीनदीको पूर्वी फाँट, नख्खु खोलाको दायाँबायाँयस्तो माटो र भौगर्भिक संरचना रहेका क्षेत्र हुन्।
बेसल बोर्डर
माथिका सबै फर्मेसनभन्दा तलको फर्मेसन हो यो। यसमा ठूल्ठूला चट्टानका टुक्राहरु एकापसमा जोडिएका र नजोडिएका दुवै खालका छन्। यसको भारवहन क्षमता उच्च र तरलीकृत हुने सम्भावना न्यून छ । तर, काठमाडौं उपत्यकाभित्र यो फर्मेसन सहज उपलब्ध र पहुाचयोग्य छैन। मात्रा पनि थोरै छ। काठमाडौँ, ललितपुर र मकवानपुरको सीमा क्षेत्रको थोरै भूभागमा यो विशेषता पाइन्छ । उपत्यकाका मुख्य सहर र नगरोन्मुख क्षेत्रमा यस्तो भौगर्भिक विशेषता छैन।
यसरी हेर्दा काठमाण्डौ को कुनै पनि क्षेत्र त्यती सुरक्षित देखिँदैन ठुला भवन हरुको लागी। फेरी यसो भनीरहँदा काठमाण्डौमा कतैपनी घर बनाउन नहुने भन्ने होइन । कती क्षेत्रफलको जग्गामा कती क्षेत्रफलको घर बनाउँने भन्ने कुराको मापदण्ड हुनु पर्छ र सोही अनुसार मात्र नक्सा पास गरिनुपर्छ । तिन आना जाग्गामा तिन तले घर बनाउनु हुन्न भन्न खोजेको हो । होचो तर बलियो संरचना भयो भने भुकम्पको तरङ्ग बढी भएपनी क्षती अवश्य कम हुने थियो । ७२ साल बैशाखको बिनासकारी भुकम्पको प्रभावले पनि कुनै असर पारेन घर निर्माणको लागी। दिनानुदिन असुरक्षित घरहरु बन्दैछन् । काठमाण्डौ उपत्यका आसपास फेरी पनि ठुलो भुकम्प जानसक्ने सम्भाबनालाइ नकार्न सकिन्न। क्षती भैसकेपछी धिक्कार्नु भन्दा बेलैमा सबैको ध्यान गए राम्रो हुन्थ्योकी?
Bharat Bhandari, Tribhuvan University
Geologist and Researcher