“अनी अहिले के गर्दै छौ त?” उस्को कुरालाइ बिचैमा काटेर सोधेँ ।
“त्यही हो दाई, बी.बी. एस. सकियो, अब एस्सो एउटा जागिरको खोजिमा हो, जागिर खाँदै डीग्री पढ्ने बिचार हो”, एकै सासमा सकायो उस्ले।
“अनी म्यानेज्मेन्ट पढेको मान्छे के जागीर खोज्छौत भाई? बिजिनेस गर्न सिक अनि बिजिनेस गर न बरु”
“आ.. दाइ! काँ हामिले बिजिनेस गर्न सक्छौँ र? एउटा जागीर पाए टेन्सनै साफ हुन्छ”।
यो जागिरको कुरा सुनेपछी बचपनको एउटा मीठो याद आयो। कालो चस्मा टाउकोमा लाएर एकजना आफन्त दशैँको टिका लगाउन घर आउँदा हामी छक्कै पर्यौँ। काठ्माण्डौमा के गर्नुहुन्छ भनेर बाले सोध्नुहुँदा कुनी कस्लेहो भनेको सुनियो “उहाँत काठ्माण्डौमा जागीर खानुहुन्छ”।
हैन यो जागिर भन्याचैँ के र छ? कसरी खाने होला? बढो गज्जब लाग्यो सुन्दा खेरी।
गाइ चराउन गोठालो जाँदा छिमेकी दाइलाइ सुनाएँ “हाम्रो ….. त काठ्माण्डौमा जागिर खानुहुन्छ”
उन्ले पनि थपे “हाम्रो दाइपनि जागिर खानुहुन्छ काठ्माण्डौमा बुझिस्? के फुर्ती लाउँछस्?”
“अनि दाइ! जागीर भन्या चाहीँ के हो?” कौतुहल लागेर सोधेको थीएँ ।
“एउटा ठुलो थालमा खिर,तरकारी,अचार, दही,घिउ, पाउरोटि, बम राखेको हुन्छरे,पढेको मान्छेले भोक लागेपछी त्यहाँ गएर सप्पै खाने कुरा चम्चाले खाने रे” भन्दिए उनिले पनि ।
“ओहो!!, त्यस्तो पो?, अनि कहाँ राखेको हुन्छ होला है त्यत्रो खाने कुरा?”अचम्म लागेर सोधेँ मैले।
“राजाको घरमा रे!” बहुत कन्फिडेन्टका साथ भनेका थिए उन्ले।
“अनी चस्मा पनि दिन्छ रे राजाले?”
“नयाँ लुगा,पैसा,चस्मा सप्पै दिन्छ रे”।
“हामी पनि जागीर खान पाएनी हुन्थ्यो”।
“इस् !खालास् !! जागीर खानत हाम्रो दाइले जस्तो पढ्न पर्छ”।
त्यो दिनबाट दिमागमा एउटा घन्टी बजिरह्यो,” धेरै पढ्ने, काठ्माण्डौ जाने र जागीर खाने, किनकी जागीरमा खिर थियो जुन दिन-दिनै खान पाइने अनि कालो चस्मा लाउन पाउने”।
“कालो चस्मा लाउँदा त म पनि हीरो देखिन्छु होला, अनि दिन-दिनै खिर खाँदा कस्तो मज्जा होला?” मन मा प्रश्न का बाढीनै चल्दथ्यो।
तर अचम्म त के छ भने धेरै काम गरियो तर जागिर खाइएन। किनकी त्यो मैले बुझेको जागिर थिएन। धेरै पढेर जागिर खाने सपना त त्योदिन तुहियो जुन दिन कक्षा ६ मा सामाजिक शिक्षा पढाउने सरले जागिरको अर्थ बताउनुभयो। मैले खिर खाने कुरा गर्दा कक्षाका सबै हाँसेका थिए।
यही मंसिरमा बिहे गर्ने बिचार बोकेको साथिले अस्ती निराश हुँदै भन्यो “सरकारी जागीर नभाकोलाइ छोरी दिन्नरे बुढाले, त्यता क्यान्सिल भो यार्! आखिर सरकारी जागीरमा त्यस्तो के छ हजुर?भनेर सोधेको सातो लिए बुढाले”।
नयाँ मान्छे कतै भेट्दा सोध्न बिर्सँदैनन् “जब चैँ कता छ नि?”
बुढा पाका ले भेटे भने सोधिहाल्छन् “बाबु! जागिर त सरकारी नै हो नि हैन?” पोहोर साल तनहुँका एक जना समाज सेबी सँग जम्काभेट हुँदा भन्नुभएको थियो “काउली को तरकारी बेस्,जागीरमा सरकारी बेस्”।
सडक बिभागका एक इन्जीनियर साथिले घट्टेकुलोको एक चिया पसलमा ङिस्स हाँस्दै भने “सरकारी जागीरको सानै बेग्लै”।
एकपल्ट रुकुमको एउटा गाउँमा बास नपाएपछी बिचल्ली हुने भएपछी गफ लाइयो “हामी त सरकारी मान्छे”, त्यस पछी त तानातान, त्यती मात्रै हो र? गाउँमा सडक बनाउन लाइ प्रारम्भिक अध्ययन गर्न आको भनेपछी त दुइ घर मिलेर लोकल कुखुरा भुत्ल्याए,सानै बेग्लै।
एक जना सि.डि.ओ. सापले जुँगा मुसार्दै भन्नु भाथ्यो “आधा पेट खाएर लोक सेवा लडेको हुँ”। मैले पनि जिस्काएर भनिदिएको थिएँ “पेट भरी खएर खाएर लड्न मिल्दैनथ्यो ?
अचम्म लाग्छ मलाइ। यहाँ उध्यमशिलताको कुरा किन उठ्दैन? प्रोडक्सन्, मेनेजमेन्टका कुरा किन चल्दैनन्? मेरो एउटा नयाँ कन्सेप्ट छ, यसो गर्न पायो हुन्थ्यो भन्ने किन सुनिदैन? सँस्थागत ब्यबस्थापनका कुरा, कोओपरेसनका कुरा,सबै ठप्पै भए त? अब सबै ले जागिर मात्र खोज्ने हो भने जागिर दिलाउने कस्ले? सबैले बजार बाटै किन्ने हो भने उत्पादन गर्ने कस्ले?
स्वाबलम्बी मानिसहरुको प्रगती होइन तर एउटा लोक सेवामा नाम निकाल्नेको भयङ्कर प्रगती हो भन्ने भुझाइ सबैमा छ। एउटा सरकारी जागिर भएपछी सबै सेक्योर हुन्छ तर आफ्नै मेहिनतले करोडौँ स्रीजना गर्नेहरु सङ्ग लाइफ सेक्योर हुँदैन, कस्तो सोचाइ छ समाजको।
जागिर र रोजगार फरक कुरा हो । जागिर होइन रोजगारी भने देखि, सरकारी या प्राइबेट होइन क्षमताको कुरा गरेदेखि, कमाइ होइन उत्पादन भनेदेखि, धन होइन श्रम भने देखी, धर्म भन्दा कर्म लाइ मान्यता दिए देखी, पढाइ होइन सिकाइ भने देखी नरहन्थ्यो बाँस न बझ्थ्यो बाँसुरी।
पढेर सिकेपछी त्यसलाइ ब्याबहारमा उतार्न कम्तिमा छ महिना स्ययम्सेबकको रुपमा काम गर्नु पर्ने, इन्टर्नसिप गरेर काममा दक्षता हाँसिल गरेपछी बल्ल उस्ले पढाइ अनुसारको काम गर्न सक्छ। पढाइ पछी त्यस्को एप्लिकेसन के हो थाहा नपाएर भौँतारिएका छन् कती युवा हरु। पढाइ केबल जागिर खानको लागी हो भन्ने सोचाइअको अन्त्य होस्।
सबै कुरा हरु शेयर गरेपछी अन्तिम मा यस्तो लाग्यो ” साँच्चै मैले बच्चामा सुनेको जागिर त सरकारी जागिर होकी के हो? हो भने ठिकै छ,जे जस्तो भएपनी अन्तिममा चैँ भन्न मन लाग्यो “सरकारी जागिरकै जय!”।