१२ आश्विन २०८१, शनिबार

साथीहरु ! थेसिस किनेर किनिन्छ?


प्युठानको किमिचौर पुग्दा सुर्यका किरणहरु ओझेल परिसकेका थिए । कहिल्यै नदेखेको यो ठाउँ हेर्दा त पहिला कुन मुग्लानमा आइयो जस्तो भयो तर माडी खोला र लुङ्ग्री खोलाको संगम हेर्दा बढो मनमोहक लाग्यो। गन्तब्य टाढै भएकोले ढिला नगरीकन अघी बढियो । हेर्दा नजिक तर नागबेलीझैँ बेरिएका पहाडका बाटोहरु काट्न घण्टौँ लाग्ने।

“दाई! हरी गाउँ पुग्न कती लाग्छ?” अत्यास लागेर सोधियो एउटा बटुवालाइ।
“त्यस्तै एक घण्टा लाग्छ हामिलाइ त! तर सरहरुलाइत बढिपो लाग्ला!”,
घडीले बेलुकिको छ बजाईसकेको थियो। भएन एसरी भनेर म अल्ली छिटो छिटो अघाढी हिँडे। यात्रामा थियोँ म, कबीराज सर र किरण, यात्राको लक्ष थियो एम एस्सीको थेसिसको स्थलगल अध्ययन। तर अलि मोटो र ठुली भुँडी भएकोले कबिराज सर हिँड्न सक्नु भएन। “आ!! जसोत होला, राती सम्म कस्सो नपुगिएला? न आत्तिनोस भरत जी! तिन भाई छौ, रात परे छाम छाम छुम छुम गर्दै भनेनी जाऔँला” । बाटो देख्ने सरले यती भनेपछी म पनि ढुक्क भएँ। दाङ्गमा जन्मिएर हुर्किएको किरण चैधरी पनि निर्धक्क भएको देखेर म ढुक्कभएँ। अरुत केही थिएन, जनयुद्द जन्माउने र सयौँको बलिदान स्विकारेको रोल्पाको धर्तिमा दोश्रोपटक पाहिला चालेपनि यो पटक अल्ली फरक अनुभव भइ रहेको थियो।

झमक्कै साँझ पर्यो, जँगल भित्र झ्याउँकिरी कराइसकेका थिए, बाटो मलिन हुँदै गयो ,एक्कासी दोबाटो भेटियो। तेर्सो कि ठाडो बाटो हो भनी झुक्कियो पहिले । जे त होला माथी नै लागौँ भनी माथी तिरै लागियो। तर बाटै हरायो। मेघ कराउन थाल्यो, मुसल धारे पानी पर्यो, बाटो कतै देखिएन बिचल्ली परियो। न फोन लाग्छ्, न बस्ती छ, न त त्यो प्रकृतीसङ्ग परिचय छ। भयङ्कर बर्षातले गर्दा बाटो पुरै खोला भएको थियो।

छाम् छाम् छुम् छुम् गर्दै पुरै करिब १० बजे राती पुगियो रोल्पाको हरिगाउँ। असारको बाटो र बर्षातको पानिले ठटाएको शरिरले बिश्राम पाउँदा लाग्यो, सायद यो भन्दा आनन्दता स्वर्गमा पनि पाईँदैन।
रोल्पाको पहाड, मध्य असारको महिना, झम झम पानी, अनि हामी तिन, क्या गज्ज्बको कम्बिनेसन थियो हाम्रो। भौगर्बिक नक्साङ्कन, इन्जिनियरिङ भौगर्बिक नक्साङ्कन र बैँशले उन्माद भएकी नवयोवना जस्तै भएर झरेका र झरिरहेका पहिरोहरुसङ्ग साक्षात्कार गर्नु र तिनिहरुको अध्ययन गर्नु प्रमुख काम थियो हाम्रो ।

तलतीर उर्लिरहेको माडीखोला, माथी तीर खस्नै आँटेको बतासेको भिर, उतातीर धम्पो खोलाको रिश, जहाँ टेक्यो त्यहीँ चिप्लिने जमिन अनि सिङ्गै निल्छु जस्तो गरेर लम्किरहेको जुका अनि त्यो बिचमा हिक्मत नहार्ने हामी तिन, माहोल निकै जमेको थियो। हरेक ढुङ्गा सङ्ग हातेमालो गर्दै, माटो माटोको गहिराई नाप्दै, हरेक पहिरोलाई कपीमा उतार्दै, घनघोर बर्षातमा पनि बिचलित नभई करिब तिन सातामा भौगर्बिक अध्ययनको आधी पाटो सक्काइयो।

करिब चार बोरा जती ढुङ्गा र माटोको नमुनाहरु संकलन गरी नाम्लो लगाएर तिन घण्टाको बाटो बोकेर ल्याईयो किमी चौरसम्म। किमी चौरमा पिपलको बोट ढलेर बाटो बन्द भएपछी करिबन चार घण्टा हिँडेर प्युठानको चक्चके छिरेपछी दाङ्गको लागी गाडी चडियो।

करिब दुई तिन साताको प्रयोगसालाको परिक्षण पछी प्रारम्भिक नतिजा निकालियो। त्यस पछी फेरी दोश्रो पटक दशैँताका करिब पन्ध्र दिन जियोफिजीकल अध्ययन सकाएर काठ्माण्डौ फर्कियो। तिन महिनाको लगातार परिक्षण र लेखन, सुपरभाइजरको पटक पटकको परिक्षण र सुझाब सल्लाह पछी तयार भएको थियो किरण र मेरो M.Sc. को सोधपत्र (थेसीस्)।

थेसीस डिफेन्सको दिन करिब ७०-८० जनाको भिड, १०-१५ जना प्रोफेसरहरुको बिचबाट बहुमुल्य सुझाबहरु पश्चात बल्ल पुर्ण रुपमा तयार भएको थियो थेसीस। तर पनि मलाइ अहिले त्यो अपुर्ण लाग्दै छ। तर मैले कम्सेकम फिल्डमा काम कसरी गरिन्छ भनेर सिकेँ, मैले गरेको काम म अब पुर्ण रुपमा गर्न सक्छु, र सबैभन्दा ठुलो कुरात मैले सिकेको कुरा अरुलाई सिकाउन सक्छु ।

आजकल थेसीसको पनि किन् बेच हुन्छ भनेको सुन्दा यती लेख्न मन लाग्यो। हो! तिमिहरुले डिग्रीवालाको बिल्ला त भिर्लाउ, तर के तिमिहरु दक्ष जनशक्ती हुन सक्छौ? ओ साथीहरु! थेसिस किनेर किनिन्छ? यो केबल युनिभर्सिटीमा बुझाउने कागजको खोस्टा होइन, यो तिमिहरुलाइ सर्टिफिकेट दिलाउने साधन पनि होइन, यो त साध्य हो तिमिहरुलाइ बौद्दिक बनाउने, माध्यम हो एउटा कला सिकाउने, तिमिहरुलाइ दक्ष्य बनाउने। असल समाज, बिकाश र योजना, राजनिती जस्ता प्रमुख समाजसङ्ग प्रतक्ष सरोकार राख्ने बिषयका बिध्यार्थीहरु केका लागी किन्दैछौ यो देखावटी कागज ?

अर्थ साइन्सका बिध्यार्थीहरु सबै फिल्डवोर्क र प्रयोगशाला परिक्षणगरी सयौँ जर्नल र आर्टिकलको अध्ययन गरी प्रसस्त सन्दर्भ सामाग्रीको प्रयोगगरी तयार गर्छन् रिपोर्ट बन्छ र त्यो वास्तविक शोधपत्र। उनिहरु सक्षम छन र सबै रोजगार छन्, शंसारको हरेक कुनामा पुगेका छन् र सफल छन्, आफैँ केही गर्न सक्ने छन् ।

थेसीस किन्बेचको समाचार सुनेपछी यस्तो लाग्न थाल्योकि, यो देशमा थुप्रेका बेरोजगार जती सबै पैसाले बौद्दिकता किनेका होनहार युवाहरु हुन्, जोसङ्ग आफैँ केही गर्नसक्ने आँट र इच्छा शक्ती छैन, कुनै नयाँ सोच छैन, चिन्तन छैन र सबै भन्दा ठुलो कुरा दक्षता छैन, ज्ञान छैन।

त्यसैले यस्तो जनशक्ती उत्पादन गर्न सहयोग गर्ने ति माहान हस्तीहरुलाइ मेरो सलाम् साथै त्रीभुवन विश्वविध्यालयको सेन्टर अफ एक्सेलेन्सीको भुकाइ कायम रहोस्, जय त्री. वी. ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !