१८ बैशाख २०८१, मंगलबार

फोहोर व्यवस्थापन कसरी गर्ने? यस्ता छन् केहि उपायहरु


Garbages

प्रत्येक घरवाट दैनिक औसत ५ केजी फोहोर निस्किने गर्दछ । सहरमा हेर्ने हो भने एकै घरमा एक भन्दा बढी परिवार रहने भएकाले फोहोर यो भन्दा बढी निस्किरहेको अवस्था छ । तर यसरी तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै राखेर पठाउनुहुन्छ ? अहिले सम्म जे जस्तो अभ्यास गर्दै आएपनि अब बानी बदल्नुहोस् । फोहोरको उचित व्यवस्थापनका लागि केहि उपायहरु यस प्रकार छन् :

फोहोर उत्पादनमा कमी : फोहोर व्यवस्थापनको पहिलो उपाय फोहोर कम उत्पादन गर्ने हो । यसका लागि खाना पकाउँदा पुग्दो मात्र पकाउने, कपडाहरु लामो समयसम्म टिकाउ हुने खालका किन्ने, पैसाले पुग्यो भन्दैमा एकै व्यक्तिले धेरै जोर कपडा नकिन्ने, जुत्ताको प्रयोग त्यही तरिकाले गर्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने गर्नुपर्दछ ।

फोहोरलाई चिन्नुहोस् : हामीले फोहोर भन्दै सबै चीज एकैठाउँमा पोका पारेर नगरपालिकाको गाडी आउँदा त्यसैमा हालेर पठाउदै आएका छौं, तर त्यसो होइन, यसलाई चिन्न सक्नुपर्छ । फोहोरलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि कच्चा पदार्थ पनि हुनसक्छ ।

फोहोरको स्रोतमै वर्गीकरण : फोहोरलाई एकै ठाउँमा नराखी स्रोतमै वर्गीकरण ग-यौं भने व्यवस्थापनका लागि सजिलो हुन्छ । अरु तरिकाले छुट्याउन नसकेपनि कुहिने फोहोर एकातिर र नकुहिने फोहोर एकातिर छुट्याएमा कुहिने फोहोर मल बनाउन र बायोग्याँसका लागि प्रयोग गर्न सकिन्छ ।

पुनःप्रयोग गर्ने :  पुराना तथा थोत्रा कपडा, जुत्ता, फलफूल, तरकारी, प्लाष्टिक, कागज जस्ता वस्तुहरुहरुलाई ठोस फोहोरमैला भनिन्छ । ती मध्ये दुई तिहाई अर्थात तीन भागको दुई भाग फोहोर कुहिने खालका हुन्छन् । कुहिने फोहोरलाई मात्र राम्ररी तह लगाउन सक्यौं भने बाँकी एक तिहाई फोहोर नगनाउने अर्थात प्लाष्टिक, कागज तथा धातुजन्य सामग्री हुन्छन् । ती मध्ये पनि पुनःप्रयोग गर्न सकिने फोहोरलाई पूनः प्रयोग गर्ने हो भने विसर्जन गर्नै पर्ने फोहोरको मात्रा अति कम हुन्छ ।

पुनःप्रशोधन गर्ने : कतिपय फोहोरहरु प्रशोधन गरेर फेरि प्रयोगमा ल्याउन सकिन्छ । त्यसलाई त्यत्तिकै फ्याँक्दा ठूलो ठाउँ ओगट्ने भई ल्याण्डफिल साइडटको आयु घटाउँछ । जस्तो कागज, फलामका टुक्रा, प्लाष्टिकका बोतल तथा तारजाली इत्यादि । यी वस्तुहरुको सामान्य प्रशोधन पछि पुनः प्रयोग गर्न सकिन्छ वा यसको स्वरुप नै बदलेर अर्कै बस्तु पनि तयार पार्न सकिन्छ ।

ल्याण्डफिलमा नपु-याइ नहुने फोहोरलाई मात्र पठाउने : अहिले जस्तो पायो त्यस्तै फोहोर ल्याण्डफि साइटमा पठाइरहेका छौं, बढीजसो त मानिसका कपडा, जुत्ता, झोला जस्ता कपडाजन्य वस्तुले नै ल्याण्डफिल साइट भरिने गरेका छन् । कम्तीमा कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याएर पठाउने हो भने भए भरका फोहोर ल्याण्डफिल साईटमा पु-याइरहनु पर्दैन । यसले ल्याण्डफिल साइट भरिन पाउदैन ।

गन्धरहित बनाउने :  सबै प्रकारका फोहोर एकैठाउँमा राख्दा फोहोर गन्हाउँछ । तपाईको कोठा वा बाहिरको वातावरण पनि प्रद्षित बनाउँछ । सबै खाले फोहोर एकै ठाउँमा हाल्दा चाँडो कुहिने हुन्छ । जसका कारण चाँडै गन्हाउछ, यदि फोहोरलाई गन्धरहित बनाउने हो भने पनि तपाईले फोहोरलाई छुटाएर राख्नु नै वेश हुन्छ । फोहोर नकुहिएपछि न झिंगा भन्किन्छ न अरु कीटपतंग नै आउँछ ।

फोहोरलाई मोहोरमा बदलौं :  काठमाडौ उपत्यकामा मात्र दैनिक १ हजार टन फोहोर उत्पादन हुदै आएको छ । ती मध्ये झण्डै ७० प्रतिशत कुहिने र बाँकी नकुहिने फोहोरमैला हुन्छन् । कुहिने फोहोरमैलाबाट  बायोग्याँस निकाल्ने वा कुहाएर कौसी खेती गर्ने होभ ने पनि मोहोर नै हुन्छ । त्यसका अलावा नकुहिने मध्येबाट पनि फेरि प्रयोग गर्न सकिने फोहोर जत्तिलाई पुनः प्रयोग गर्ने हो भने फ्याँक्नैपर्ने फोहोरको मात्रा एकदमै थोरै हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !