पृष्ठभूमि
अहिले अमेरिकाले भेनेजुएलाको राजधानी काराकसमा आक्रमण गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेर अमेरिका पुर्याइसकेपछि मुनरो डक्ट्रिनको चर्चा-परिचर्चा विश्वभर चुलिएको छ । मुनरो डक्ट्रिनको नाममा अमेरिकाले भेनेजुएलाजस्ता देशहरूमा राजनीतिक, आर्थिक र कूटनीतिक दबाब सिर्जना गर्दै आएको देखिन्छ । मादुरो र उनकी श्रीमतीविरुद्धका अमेरिकी कदमहरूलाई भेनेजुएलाले आफ्नो राष्ट्रिय सार्वभौमिकतामाथिको हस्तक्षेपको रूपमा लिएको छ । यसले आज पनि मुनरो डक्ट्रिन समसामयिक विश्व राजनीतिमा जीवित रहेको प्रमाण दिन्छ ।
यस्तै नेपालको संसदमा पनि डेढ वर्षअघि मुनरो डक्ट्रिनको विषयमा चर्चा भएर ठूलो विवाद भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालिन सांसद डा. स्वर्णिम वाग्लेले एउटा सार्वजनिक कार्यक्रममा क्षेत्रीय रुपमा ठूलो मुलुकको भूमिकाबारे बालेका थिए । उनले भारतलाई आसपासका मुलुकको गतिविधि हेर्ने अधिकार हुन्छ भन्ने शैलीमा ‘मुनरो डक्ट्रिन’को वकालत गर्न खोजेका थिए । जसलाई एमाले तत्कालिन सांसद रघुजी पन्तले प्रतिवाद गरेपछि डा. वाग्लेले त्यसमा थप स्पष्टीकरण दिनुपरेको थियो ।
परिचय
आखिर के हो मुनरो डक्ट्रिन ? आखिर दुई सय वर्षअघिको त्यो डक्ट्रिनबारे विश्वभर र नेपालमा यतिखेर चर्चा भइरहँदा त्यसबारे चासो जाग्नु स्वाभाविक हो । आउनुहोस् यस विषयमा चर्चा गरौँ । मुनरो डक्ट्रिन अमेरिकाको एक महत्वपूर्ण विदेश नीति हो । यसलाई सन् १८२३ डिसेम्बर २ मा पाँचौँ अमेरिकी राष्ट्रपति जेम्स मुनरोले अमेरिकी कंग्रेससमक्ष घोषणा गरेका थिए । यो सिद्धान्त मुख्य रूपमा युरोपेली शक्तिहरूको अमेरिकी महाद्वीपमा हुने हस्तक्षेप रोक्नका लागि ल्याइएको थियो । यसले युरोपेली शक्तिहरूलाई अमेरिकी महाद्वीपबाट टाढा राख्ने नीति स्पष्ट गरेको थियो ।
ऐतिहासिक पृष्ठभूमि
उन्नाइसौँ शताब्दीको सुरुवातमा धेरै ल्याटिन अमेरिकी देशहरू स्पेन र पोर्चुगलबाट स्वतन्त्र भएका थिए । ती देशहरूलाई पुनः उपनिवेश बनाउने युरोपेली प्रयासको डर थियो । यस्तो अवस्थामा अमेरिकाले आफ्नो सुरक्षा तथा नयाँ स्वतन्त्र राष्ट्रहरूको स्वतन्त्रता जोगाउन मुनरो डक्ट्रिन अघि सारेको हो।
प्रमुख सिद्धान्तहरू
यसका प्रमुख सिद्धान्तहरू अनुसार पहिलो बुँदा नयाँ उपनिवेशवाद निषेध गर्नु रहेको छ । उक्त बुँदा अनुसार युरोपेली देशहरूले अबदेखि उत्तर तथा दक्षिण अमेरिकामा नयाँ उपनिवेश स्थापना गर्न पाउने छैनन् । दोस्रो बुँदा हस्तक्षेप निषेध गर्नु रहेको छ । सो बुँदा अनुसार युरोपेली शक्तिहरूले अमेरिकी महाद्वीपका स्वतन्त्र राष्ट्रहरूको राजनीतिक मामिलामा हस्तक्षेप गर्न पाउने छैनन् । तेस्रो बुँदा आपसी गैर–हस्तक्षेप नीति हो । तेस्रो बुँदा अनुसार अमेरिका पनि युरोपका आन्तरिक राजनीति र युद्धमा संलग्न हुने छैन । चौथो बुँदा शत्रुतापूर्ण कार्यको चेतावनी हो । सो बुँदा अनुसार यदि युरोपेली शक्तिहरूले हस्तक्षेप गरेमा अमेरिकाले त्यसलाई शत्रुतापूर्ण कार्य मान्नेछ ।
उद्देश्य
मुनरो सिद्धान्तको प्रमुख उद्देश्य अमेरिकी महाद्वीपलाई युरोपेली उपनिवेशवादबाट सुरक्षित राख्नु, नयाँ स्वतन्त्र भएका ल्याटिन अमेरिकी देशहरूको स्वतन्त्रता र सार्वभौमिकता रक्षा गर्नु तथा पश्चिमी गोलार्धमा अमेरिकाको प्रभाव विस्तार गर्नु थियो ।
महत्व
यस सिद्धान्तको महत्वले अमेरिकालाई पश्चिमी गोलार्धको प्रमुख शक्ति बनायो र अमेरिकी विदेश नीतिको आधारशिला तयार गर्यो । पछि “रुजवेल्ट कोरोलरी” जस्ता नीतिहरू यसै सिद्धान्तमा आधारित भए।
आलोचना
यो सिद्धान्तलाई आलोचकहरुले अमेरिकालाई अन्य देशहरूको मामिलामा हस्तक्षेप गर्ने बहाना दियो भन्ने आरोप लगाउँछन् । ल्याटिन अमेरिकी देशहरूले यसलाई कहिलेकाहीँ अमेरिकी प्रभुत्वको प्रतीक पनि मानेका छन् ।
निष्कर्ष
यसरी निष्कर्षमा भन्नुपर्दा मुनरो सिद्धान्त अमेरिकाको विदेश नीतिमा अत्यन्तै प्रभावशाली नीति रह्यो । यसले अमेरिकालाई विश्व राजनीतिमा एक शक्तिशाली राष्ट्रको रूपमा उभ्याउन ठूलो भूमिका खेलेको छ ।












