बाग्लुङ । “गुरू ! म कसैलाई औधी मन पराउँछु तर ऊ मसँग नजिकिन चाहन्न के ‘मोहनी’ भन्ने हुन्छ र ?”
प्राय: हरेक दिन मेरो मेसेज बक्समा आउने र सोधिने प्रश्न हो, यो ।
‘प्रेम प्रस्ताव अस्वीकार गर्नेमाथि एसिड प्रहार’
केही समय अगाडि सुनेको समाचारको हेड लाइन थियो यो ।
अत्यन्तै प्रगाढ प्रेम सम्बन्धमा रहेर कयौं विघ्न बाधाको सामाना गर्दै प्रेम विवाह नै गरेका जोडीहरुको पनि निकै नराम्रो तवरले सम्बन्ध विच्छेद भएका घटना हाम्रै समाजमा प्रशस्त नै देख्न सकिन्छ, आखिर किन ?
जसले भन्यो, “प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ” मलाई लाग्छ, बिल्कुलै गलत भन्यो । सायद क्षणिक आकर्षण र विध्वंसमा हरेक कुरा जायज होला; आत्मीक प्रेम र धर्मयुद्धमा कदापि होइन ।
प्रेम गरिएको वस्तु वा व्यक्तिलाई साथैमा चाहनु पक्कै पनि अपराध होइन तर चाहेको सबै कुरा प्राप्त हुनैपर्छ भन्ने पनि त छैन । चाहेको पाउन त ‘भाग्य’मा लेखेर ल्याउनुपर्छ । सायद यहाँनेर कतिपयको असन्तुष्टि हुनसक्छ कि अमूर्त भाग्य कसरी चाहना पूर्तिको निर्णायक बन्छ सक्छ ? म ठान्छु, हिजोको कर्म आजको भाग्य हो र आजको कर्म भोलिको भाग्य हो यसर्थ कर्म र भाग्य अनोन्याश्रित छन् ।
कथित प्रेम र एसिड, कथित प्रेम र मोहनी…… आत्मीक प्रेमका बदनामी हुन् । प्रेमको गन्तव्य विवाह नहुन पनि सक्छ ।
विवाहका लागि पूर्णतया निर्णायक भूमिका वर र वधूमा निहित भएको विवाह नै प्रेम विवाह हो ।
प्रायः हरेक अभिभावकहरु आफ्नो सन्तानको कुण्डली विश्लेषण गराउने क्रममा उनीहरूको प्रेम विवाह होला कि मागी विवाह होला भन्ने प्रश्न सोध्न छुटाउँदैनन् । अविवाहित सेवाग्राहीहरु पनि आफ्नो प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने प्रश्न सोध्न प्रायः भुल्दैनन् । साँच्चै विवाह बिजुलीको तार जस्तै नै हो क्यारे । सही तार जोडिँदा संसारै उज्यालो अनि गलत तार जोडिदा बिस्फोट ! सायद यही भएर नै होला ज्योतिषीय परामर्शको क्रममा विवाह सम्बन्धि प्रश्नले महत्त्वपूर्ण स्थान ओगटेको ।
जसरी बुझेर छोए पनि नबुझेर छोए पनि आगोले पोल्छ नै, आफ्नो प्रभाव देखाउँछ नै त्यसरी नै भाग्यलाई पनि जसले जसरी बुझे पनि त्यसको प्रभावबाट कोही अच्युत छैन र विवाह पनि प्रारब्ध कै खेल हो । व्यक्तिगत योजनामा कोही मान्छेसँग केही समय त बित्ला तर अन्ततोगत्वा जिन्दगी भाग्यमा लेखिएकै मान्छेसँग बित्छ ।
ज्योतिषशास्त्रमा प्रेम, विवाह बारे प्रशस्त नै चर्चा भएको पाइन्छ । यहाँ ज्योतिषशास्त्रीय मान्यताअनुसार कस्तो योगमा जन्मिएको व्यक्तिको प्रेम विवाह हुन्छ भन्ने बारे केही चर्चा गर्न गइरहेको छ जुन कुराहरुमध्ये केही ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख भएको पाइन्छ, केही अध्ययनको क्रममा अग्रजहरुको मौखिक अनुभव वर्णनबाट र केही प्रेम विवाह गरेका जोडीहरूको कुण्डली अध्ययन विश्लेषणको आधारबाट लिइएको हो ।
१. यदि कुनै व्यक्तिको जन्मकुण्डलीको पन्चमेश ग्रहको उपस्थिति पञ्चम,सप्तम,नवम वा एकादश भावमा छ भने उक्त व्यक्तिको प्रेम विवाह हुने सम्भावना रहन्छ ।
२. जन्म कुण्डलीको सप्तमेश ग्रह पञ्चम भावमा भएको व्यक्तिको पनि प्रेम विवाह हुने सम्भावना हुन्छ ।
३. यदि कसैको जन्मकुण्डलीमा पञ्चमेश र सप्तमेशबीच राशि परिवर्तन योग बनेको छ भने उक्त व्यक्तिको प्रेम विवाह हुने सम्भावना उच्च रहन्छ ।
४. द्वादशेश र पञ्चमेशबीच राशि परिवर्तन योग जन्मकुण्डलीमा बनेका व्यक्तिको पनि प्रेम विवाह हुने आकलन गर्न सकिन्छ ।
५. जन्मकुण्डलीमा यदि पञ्चमेश र सप्तमेशको युक्ति वा दृष्टि सम्बन्ध छ भने पनि प्रेम विवाह हुने प्रबल सम्भावना रहन्छ ।
६. द्वादशेश र सप्तमेशबीचको युक्तिले पनि प्रेम विवाह हुने संकेत गरेको पाइन्छ ।
७. यदि कुनै व्यक्तिको जन्मकुण्डलीमा पञ्चमेश र एकादशेशको युक्ति वा राशि परिवर्तन योग छ भने पनि उक्त व्यक्तिको प्रेम विवाह हुने उच्च सम्भावना रहन्छ ।
८. शुक्र र चन्द्रमाको युक्तिले पनि प्रेम विवाहको लागि महत्त्वपूर्ण भूमिका खेल्दछ ।
९. जन्मकुण्डलीमा शुक्र र राहु मजबुद हुँदा पनि व्यक्ति प्रेम विवाहप्रति आकर्षित भएको पाइन्छ ।
१०. कुण्डलीमा पञ्चमस्थ मंगल हुँदा पनि प्रेम विवाहको योग बन्दछ ।
११. लग्नेश बृहस्पति वा मंगल हुँदा साथै लग्नमा चन्द्रमा, मंगल, शुक्र वा राहु हुँदा अनेकानेक विघ्नबाधाको बाबजुद पनि प्रेम विवाह हुने प्रबल सम्भावना रहन्छ ।
१२. वृहस्पतिको पञ्चम र सप्तम भावमा दृष्टि हुँदा पनि पारिवारिक सहमति मै प्रेम विवाह हुने आँकलन गर्न सकिन्छ ।
१३. कुनै पनि व्यक्तिको जन्मकुण्डलीमा सप्तमेशको शुक्र ग्रहसँग द्वादश भावमा युक्ति भएमा उक्त व्यक्तिको विदेशी व्यक्तिसँग प्रेम विवाह हुने प्रबल सम्भावना रहन्छ ।
१४. मंगल र शुक्र ग्रहको राशिपरिवर्तन वा दृष्टि सम्बन्ध भएको जन्मकुण्डलीवाला व्यक्तिको पनि प्रेम विवाहको योग रहन्छ ।
१५. मंगल र राहु ग्रहको सप्तमस्थ युक्तिले पनि प्रेम विवाहको स्पष्ट संकेत गर्दछ ।
यसप्रकार उपर्युक्तबमोजिमका योगहरू कुनै पनि व्यक्तिको जन्मकुण्डलीमा देखिन्छन् भने उनीहरुको प्रेम विवाह हुने सम्भावना रहन्छ ।
अझै पनि हाम्रो देशको परिवेशमा आफ्ना सन्तानको सकेसम्म आफूहरूले नै रोजेको व्यक्तिसँग विवाह गराउन पाए हुन्थ्यो भन्ने इच्छा बोकेका बुबाआमाहरु प्रायः भेटिन्छन् भने छोराछोरीहरु आफ्नै इच्छानुसारको विवाह गर्ने चाहना बोकेका देखिन्छन् । यस्तो पुस्तान्तरिय इच्छाको द्वन्दले अघिल्लो र पछिल्लो दुबै पुस्तालाई पिरोलेको पाइन्छ । अभिभावकहरुले आफ्नो सन्तानलाई जहिले पनि सानै देख्नु स्वाभाविक नै हो र विवाह जस्तो जीवनकै महत्त्वपूर्ण निर्णय उनीहरुले एक्लै लिन अलि सक्दैनन् कि भन्ने सोच्नु पनि जायज नै हो । फेरि आफ्नो जीवनसाथी आफैले छानेर जीवनयापन गर्न चाहनु सन्तानको पनि गल्ती होइन । यस सन्दर्भमा अभिभावकले दक्ष ज्योतिषीसँग आफ्नो सन्तानको कुण्डलीको सही विश्लेषण गराएर उनीहरुको विवाह योग बारे परामर्श लिई सन्तानको विवाहको लागि आफूहरुको भूमिका पूर्ण, सहायक वा न्यून कस्तो रहने बारे स्पष्ट हुने र सन्तानले पनि सोहीअनुसार परामर्श लिएर आफ्नो विवाहको लागि अभिभावकबाट कसरी सहयोग लिदा वैवाहिक सम्बन्ध राम्रो हुनेछ भन्ने बारे बुझेमा ज्योतिषशास्त्रको उपयोगिताको सार्थकता हुनेछ र वैवाहिक जीवन सफल तथा उदाहरणीय बन्नेछ ।
(लेखक सूर्य पौडेल ‘ज्योतिष रत्न’ अवार्डबाट सम्मानित छन् ।)












