२२ फाल्गुन २०८१, बिहीबार

मुकुम्लुङ यानेकी पाथीभराको मौलिक र दिगो विकास नै आजको आवश्यकता


पाथिभरा र रामहरि अधिकारी

काठमाडौँ । जल-जंगल र जमिनमा आदिवासीको अधिकारको प्रत्याभूति गर्ने नारा लिएर सत्ताको बागडोर सम्हालेका राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताको रोजिरोटीको लागि लिम्बुको मुन्धुमी स्थल मुकुम्लुङको गरिमा, आदिवासी समुहको धार्मिक आस्था, नेपाली नागरिकलाई २०७२ को संविधानले दिएको प्रदत्त अधिकारको ठाडो बेवास्ता गरेको सहज अनुमान लगाउन सकिन्छ ।

लिम्बू जातिको वेद ‘मुन्धुम’ मा स्पष्ट उल्लेख भएको मुकुम्लुङ किराँत धर्मावलम्बीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हो । यो किराँत सभ्यता, परम्परा, धर्म, र संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ । मुकुम्लुङ शब्दार्थ ‘मुकुम’ को अर्थ पवित्र र ‘लुङ’ को अर्थ ढुंगा (शिला) हुन्छ । यसको अर्थ पवित्र शिला वा पवित्र स्थल भन्ने बुझिन्छ ।

मुकुम्लुङको धार्मिक महत्त्व

मुकुम्लुङलाई धर्मका अनुयायीहरूले सबैभन्दा पवित्र स्थान मान्छन् । किराँत परम्परामा यो स्थान भगवान तागेरा निङ्वाफुमा (Tagera Ningwaphuma) अर्थात् सर्वोच्च शक्ति रहेको स्थलको रूपमा चिनिन्छ । किराँत समुदायका पुर्खाहरूले यही स्थानमा आएर पूजा गर्ने, आत्मशुद्धि गर्ने र विभिन्न धार्मिक अनुष्ठानहरू सम्पन्न गर्ने विश्वास गरिन्छ ।

मुकुम्लुङ किराँत धर्मको तीर्थस्थल हो । यो आत्मशुद्धि र पवित्रता प्राप्त गर्ने स्थान मानिन्छ । यहाँ किराँत माङ (देवी-देवता) हरूको पूजा गरिन्छ । यो स्थानलाई स्वर्गसँग पनि जोडिएको भनिन्छ, जहाँबाट किराँत धर्मका पुर्खाहरूले साक्षात्कार गर्ने गर्थे ।

मुकुम्लुङको ऐतिहासिक पृष्ठभूमि

मुकुम्लुङ किराँत सभ्यताको प्राचीन स्थल हो । किराँत राजा यलम्बरको समयमा यो स्थान विशेष रूपमा पवित्र मानिन्थ्यो । किराँत धर्मको मुन्धुम (पवित्र ग्रन्थ) अनुसार, मुकुम्लुङ त्यो स्थान हो, जहाँबाट किराँत धर्मको सुरुवात भएको थियो ।

किराँत संस्कृतिमा यसलाई धार्मिक एवं सांस्कृतिक पहिचानको आधार मानिन्छ । किराँत राजा यलम्बरले पनि यहाँ पूजा गर्ने गरेको भनाइ छ । मुकुम्लुङसँग किराँत सभ्यता, उत्पत्ति र परम्परागत ज्ञान जोडिएको छ । किराँत मुन्धुममा यसको विस्तृत चर्चा पाइन्छ ।

मुकुम्लुङको भौगोलिक स्थिति

नेपालको पुर्वी पहाडका केही स्थानहरु मुन्धुमसग जोडिएका छन् । यसै अर्थमा फक्ताङलुङ गाउँपालिकामा भएको ठूलो शिला (भिमकाय हल्लिने ढुंगा), मुकुम्लुङ यानेकी चल्तीको नाम पाथीभरा आदि ।

मुकुम्लुङ र किराँत मुन्धुम

किराँत धर्मको पवित्र ग्रन्थ मुन्धुममा मुकुम्लुङको विशेष वर्णन पाइन्छ । मुकुम्लुङलाई पवित्र गुफा वा पर्वतको रूपमा उल्लेख गरिएको छ । यो किराँतहरूको धार्मिक उत्पत्तिसँग सम्बन्धित छ । मुकुम्लुङमा किराँत सभ्यताको पहिलो अध्याय सुरुआत भएको विश्वास गरिन्छ । मुन्धुम अनुसार, यहाँबाट नै किराँत पुर्खाहरूले सृष्टि र जीवनको रहस्य बुझेका थिए ।

मुकुम्लुङ र वर्तमान परिप्रेक्ष्य

आज पनि मुकुम्लुङ किराँत धर्मावलम्बीहरूका लागि अत्यन्त महत्त्वपूर्ण स्थान हो । किराँत समुदायका विभिन्न धार्मिक अनुष्ठानहरू मुकुम्लुङसँग जोडेर गरिन्छ । यसको अध्ययन र अनुसन्धान अझै भइरहेका छन् । धार्मिक पर्यटनको हिसाबले मुकुम्लुङलाई प्रवर्द्धन गर्नुपर्ने माग उठेको छ । नेपाल सरकारले पनि मुकुम्लुङलाई आधिकारिक रूपमा किराँत धर्मको पवित्र स्थलको रूपमा मान्यता दिनुपर्ने किराँत समुदायको माग रहँदै आएको छ ।

लिम्बू समुदायको वेद “मुन्धुम” सग जोडिएको एक मात्र पवित्र तिर्थस्थल मुकुम्लुङमा हचुवाको भरमा केवलकार निर्माण गर्न स्थानीय निकाय र सम्बद्ध सरकारका पक्षहरु खडा भई एकोहोरो आवाज, निर्माण कम्पनीको तर्फको मात्र वुलन्द गरी यस पवित्र तिर्थस्थलको मर्म र भावनाको खिलाफमा उत्रिएका छन् ।

साधारणतय: निर्माण कम्पनीले नेपाल सरकारका विभिन्न तहतप्काहरुबाट आवश्यक स्वीकृति लिइसकेपश्चात, निर्धारित काम सम्पन्न गर्न गराउन, राज्यले दिने सुरक्षा र सरकारको तर्फबाट दिइनुपर्ने सुविधाहरू सुनिश्चित गर्ने दायित्व राज्य सरकारको रहनेछ । प्रणालीअनुसार संचालन भएको मुलुक भइदिएको भए ? राज्यले ठूलो हर्जना निर्माण कम्पनीलाई भुक्तानी दिनुपर्ने अवस्था सिर्जना भइसक्थ्यो होला । तर गन्जगोल, अपारदर्शीता र असामन्जस्यताको बन्दी बनाई यस्ता कम्पनीलाई दुहुनो गाई बनाएर ठुलाठालुहरुले जहिले अकुत सम्पत्ति आर्जनको बाटो बनाईरहेका छन् ।

साधारण लाख रुपैंयामा किनवेच भएको बेस स्टेशनको जग्गालाई करोडौं रुपैंयामा किनवेचको नक्कली दस्तावेज खडा गरिनु नै पाथीभरा केवलकारको पहिलो पतनको शृङ्खला थियो । यसमा ताप्लेजुङका को को सम्लग्न छन ? केवलकार बनिएको खण्डमा सो बढाइएको मुल्यको हिसाब मिलान कसरी गरिन्छ ? स्पष्टताको खाँचो छ भने ताप्लेजुङकै मानिससग ताप्लेजुङकै मालपोतमा पास भएको जमीनको हिसाबमा यति धेरै हेराफेरी हुन्छ भने ? अरबौका मेशिनरी खरिदमा कति हेराफेरी होला ? सहज अनुमान गर्न सकिन्छ । यसको जिम्मेवारी कसले लिने ? पारदर्शीताको कुन कसिमा ताप्लेजुङवासीले शेयर लगानी गर्ने ? वाईडबडी काण्डबाट अब घोटाला कसरी गराइदोरहेछ, बिचौलियाहरु कसरी सक्रिय हुँदा रहेछन ? शृंखलाबद्ध घटनाहरुले आफै पुष्टि गरिरहेको छ ।

‘नो केवलकार’ पक्षधरहरुबाट सम्बद्ध निकायहरू (पाथीभरा केवलकार कम्पनी, स्थानीय निकाय, जिल्ला प्रशासन लगायत सर्वोच्च अदालतसम्म) पटकपटक भएका प्रतिवाद, अनुनय र अपिलको बावजुत शक्तिको प्रयोग गरी दमन भइरहेका छन् । पटकपटक जिल्ला प्रशासन र समन्वय समिति तथा जिल्लाका राजनीतिक दलहरूको रोहवरमा ‘आपसी सहमति पश्चातमात्र काम सुरु गर्ने’ सहमति भएतापनि गत साल ठुलो दलबलको प्रयोग गरी रुख कटान भएको छ । यसै अप्रिय अवस्थालाई ध्यानमा राख्दै नो केवलकार समुहले ताप्लेजुङ् बन्दको आव्हान गर्दा ताप्लेजुङ् पर्यटन महोत्सवलाई असर गरी पुनः सहमति (दुई पक्षको सहमति नभई काम अगाडि नबढाउने) गरी बन्द खुलाइएको थियो ।

तर यसको केही समयमै फेरि शिलान्यास गर्ने कार्यक्रम गरिदा निकै ठूलो मुठभेड र केही व्यक्ति खुकुरीको चपेटामा परी लामो समय उपचारमा रहेका छन् । २०८१ साल माघ १२ गते दुईतर्फी भिडन्तमा गोली लागी नो केवलकार समूहका ४ जवान घाइते भएका र झण्डै आधा दर्जन प्रहरीहरु पनि घाइते भएको पाइयो ।

झन्डै एक लाख अधिक तिर्थालु वार्षिक रुपले पाथीभराको दर्शन गर्न आइरहेको अवस्थामा, एकैदिनमा २९ हजारसम्म दर्शनार्थीले पाथीभराको दर्शन गरेको अभिलेख छ । पाँच, सात दशक अगाडिदेखि भारत, सिक्किम, भुटान लगायतका मुलुकबाट र नेपालका विभिन्न स्थानहरूबाट दर्शनार्थी आउने गरेका र ती दर्शनार्थीहरु झापादेखी नै हिडेर आई दर्शन गर्ने गरेका र समयानुकूल सुविधा थपिदै जाँदा अहिले तल्लो फेदिसम्म गाडीको सुविधा पाइने गरेको छ ।

मुकुम्लुङ/पाथीभराको पुजाविधि अनुसार माथिल्लो फेदीको कान्छीथानमा विधिवत पुजा गरेर धागो तान्दै मन्दिर छेउसम्म पुर्‍याई त्यहाँ भित्रपनि विधिवत पुजा गरेर मात्र फल पाइन्छ भन्ने विश्वास रहेको छ । केवलकारको यात्राबाट लाखौं खर्च गरी मुलुकको अर्को कुनाबाट र तेस्रो मुलुकबाट समेत आई पुजा गरेर फर्किदा निष्फल हुनुपर्ने अवस्था आउने निश्चित भएको मुन्धुमीहरु बताउँछन् ।

ताप्लेजुङका केही राजनीतिक दल र यसका नेताहरुले केवलकार निर्माणमा हात धोएर लागेको स्पष्ट देखिन्छ । हो केवलकार कम्पनीले न्याय पाउनुपर्ने अवस्था छ तर गत सालको बाढीले हेवाखोलाको बेलिब्रीज बगाएको छ । यो वर्षको माघ महिना सकिनै लाग्यो, निर्माणको केही सुरसार छैन । यद्यपि यो खोलामा पुल लागेन भने पाँचथरकै ठुलो हिस्सामा र ताप्लेजुङमा सहज आवागमनमा ठूलो अवरोध हुने पक्का छ ।

निहित समूहको धर्म, संस्कारलाई व्यापारीकरण गरी अस्मितामाथि नै खेलवाड गरिरहँदा, क्षणिक लाभको प्रलोभनले केही व्यक्ति वा समूहलाई अन्धो बनाइएतापनि दुरगामी असर भने प्रत्युत्पादक नै रहने निश्चितै छ । धर्ममाथि उपहास गरिरहँदा, अन्तर्राष्ट्रिय रुपमा हामीले देखेका प्यालेस्टाइन र गाजा क्षेत्रको समस्यालाई नियाल्न सक्छौ ।

प्यालेस्टाइन क्षेत्र यहूदी, इसाई र मुस्लिम धर्मका लागि पवित्र भूमि हो । यसकै जगमा युद्ध र द्वन्द्वको इतिहास धेरै पुरानो भएपनि हालको युद्धको मुख्य कारण इजरायल र हमासवीचको हिंसात्मक संघर्ष हो । यसको जड ऐतिहासिक, धार्मिक, भूराजनीतिक र मानवअधिकारसँग सम्बन्धित छ ।

प्यालेस्टाइनमा युद्धको प्रमुख कारण ऐतिहासिक भूमि विवाद, धार्मिक तनाव र अन्तर्राष्ट्रिय शक्ति संघर्ष हो । जबसम्म इजरायल र प्यालेस्टाइनवी एक स्थायी शान्ति सम्झौता हुँदैन, तबसम्म यो द्वन्द्व रहिरहने सम्भावना छ । नेपालमा भएका आन्तरिक समस्यामा समयमै सजग भएन भने बाह्य शक्तिले यसैलाई हाम्रो दुर्वलता बनाई खेल्न सक्ने अवस्थालाई मद्यनजर गर्दै समयमै यसको सही निकास दिन जरुरत छ ।

प्राचीन सभ्यता बोकेको यस पवित्रभूमिको मुन्धुमी स्थललाई पुरातात्त्विक तवरले विकास र संरक्षण गर्न लागि पर्नुपर्नेमा क्षणिक प्रलोभनलाई विकास र कायापलट जस्ता अनिष्ट शब्दावलीले पुकारेर आफ्नो स्वभिमान मेट्नु र यसलाई राज्यले पश्रय दिनु नै गलत हो । सबैलाई समयमै माता मुकुम्लुङ (पाथीभरा) ले सद्बुद्धि प्रदान गरून् । पाथिभरा माताकी जय !

*यो लेखमा रहेका केही धारणा र तर्क लेखकका निजी विचार हुन् ।

औषधि तथा मेडिकल व्यवसायी रामहरि अधिकारी राष्ट्रिय संस्कार धाम नेपालको अध्यक्ष साथै विभिन्न ९ वटा संघ सस्थाका संस्थापक अध्यक्ष हुन् । समाजसेवा नै परम धर्म ठान्ने अधिकारी, स्वतन्त्र राजनीतिक धारबाट नेपालको सामाजिक र राजनीतिक परिवर्तनको अपेक्षा राख्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !