८ मंसिर २०८१, शनिबार

विद्यार्थीमा सिप र संस्कारको बहस : सिपयुक्त शिक्षा र सँस्कारयुक्त विद्यार्थी


तिलक शर्मा पौडेल

काठमाडौँ । सिपयुक्त शिक्षा र सँस्कारयुक्त विद्यार्थी आजको आवश्यकता हो । आज शिक्षाको विषयमा बहस गर्दा विद्यार्थीसँग सर्टिफिकेट छ, तर सिप छैन । एउटा विद्यार्थीले A A plus ल्यायो भनेर हामी गर्व गर्न सक्छौं, तर विद्यार्थीले न्यूनतम सिप र शिक्षा आर्जन गरेको छ कि छैन भनेर कहिल्यै ध्यान दिएका छैनौ । साथै शिक्षा संस्कारयुक्त छ कि छैन ? आफ्नो बच्चाले गरेका क्रियाकलापप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ? यो सोचनीय विषयहो र पक्कै पनि यस विषयमा यहाँ गम्भीर हुनुहुन्छ भन्ने लागेको छ । यो वर्ष यस विद्यालयले सिपयुक्त, सिकाइ वर्ष मनाउने र यस अन्तर्गत विद्यार्थीहरुमा पढ्ने सँस्कृति तथा लेखन कला विकास लगायत शैक्षिक सिपहरु विकास गर्ने सँस्कारका विविध विषयमा ज्ञान जगाउने कार्य हुनेछन् । शिक्षाको गुणस्तर, सँस्कारी सिपयुक्त विद्यार्थी निर्माण गर्न विद्यालय शिक्षक र विद्यार्थीहरुको त्रिकोणात्मक सम्बन्ध हुने हुँदा यहाँले पनि आवश्यक प्रयासका कदम चालिदिनु हुनेछ भन्ने आशा गरिएको छ ।

अभिभावकको भूमिका

यसका लागि घरमा समय व्यवस्थापन, खाना र खाजा व्यवस्थापन, ड्रेस व्यवस्थापन, विद्यालयमा हुने बैठकमा उपस्थिति आदिमा विशेष ध्यान दिनु हुनेछ । समय व्यवस्थापन भन्नाले विद्यालय संञ्चालन भएको दिनमा बिहान अतिरिक्त कक्षा र दिनको ३ः३० बजेसम्म विद्यार्थी विद्यालयमा हुने र ४ बजेतिर घरमा पुग्ने भएकोले त्यसपछिको समयको उपयुक्त व्यवस्थापन गर्नु हो । सो समयमा हुने सम्भावित बाधा व्यवस्थापन नभएमा विद्यार्थीहरुको गृहकार्य छुट्न जान्छ र अध्ययनमा पनि कमी आउँछ । रातको १० बजे अनिवार्य रुपमा विद्यार्थीहरुलाई सुत्ने व्यवस्था मिलाई दिनु आवश्यक हुन्छ । बेलुका ४ बजे देखि १० बजे सम्मको समय विद्यार्थीको गृहकार्य गर्ने र अध्ययन गर्ने उपयुक्त समय भएकोले सो समयमा हल्ला हुने, पढाइमा बाधा हुने कार्य नगर्नु, नगराउनु हुन अनुरोध छ । बिदाको दिन घर बाहिर जानुपर्ने भएमा, मन्दिर जानुपर्ने वा घुम्न जानुपर्ने भएमा निश्चित समयमा जाने र फर्केर पुनः आफ्नो अध्ययनका कार्य गर्न लगाउनु पर्दछ । साथै चित्रकला, गायन, नृत्यकला, कविता, कथा लेखन, सरसफाई, अतिथि सत्कार, किनमेल आदि जस्ता क्रियाकलापमा आफ्नो निगरानीमा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्दछ ।

यौवनावस्था र यसको प्रभाव

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार १० वर्ष देखि १९ वर्ष सम्मको उमेर समुहका केटा वा केटीलाई यौवनावस्था भनिन्छ । कक्षा७/८/९/१० का विद्यार्थीहरु यौवनावस्थाको अवधीमा प्रवेश गरिसकेका हुन्छन् । यस अवस्थामा विद्यार्थीमा शारीरिक तथा मनोवैज्ञानिक परिवर्तन हुने हुँदा अभिभावकले उनीहरुका क्रियाकलापमा विशेष निगरानी राख्नुपर्ने हुन्छ । एकलै कतै जान दिनु हँुदैन । यस अवस्थामा विद्यार्थीको शारीरिक तथा मानसिक परिवर्तन हुन्छ । साथै उनीहरुको भावनात्मक विकास पनि हुन्छ । उनीहरुमा रीस, डर, ईश्र्या, उत्सुकता, दया, उमङ्ग, माया आदिको विकास हुन थाल्छ , तनाव पैदा हुन सक्छ । कहिले हाँस्ने, सानो विषयमा रुने, एक्लै बस्ने, मायाप्रेमको कुरा गर्ने, मायाप्रेमका किताब पढ्ने, फिल्म हेर्ने उत्सुकता हुन्छ भने रिसाहा स्वभावको विकास पनि हुन थाल्छ । समुहमा खेल खेल्ने, सामाजिक कार्यमा रुची राख्ने, नेतृत्व लिने, मेला तथा उत्सव मनाउने र उस्तै उमेर समुह निर्माण गर्ने आदि गुणहरुको विकास हुन्छ । कोही कसैले यो समुहमा मदिरा सेवन गर्ने, लागुऔषधको प्रयोग गर्ने, सुर्तिजन्य पदार्थ लिने, पाकेट मार्ने, चोर्ने, झैझगडा गर्ने हुन्छ । यस्तो उमेरमा एउटाले गरेको क्रियाकलाप गर्न अरु सदस्यहरुले सिक्तछन् । अतः यस्तो क्रियाकलाप एकदम हानिकारक हुने भएकोले विद्यार्थीको चरित्र सुधारमा अभिभावकको ठूलो भुमिका हुन्छ ।

विद्यार्थीहरुले पढ्न नसक्ने कारणहरु

१. बिरामी भएको अवस्थामा
२. भविष्यको आफ्नो लक्ष्य निर्धारण गर्न नसक्नु
३. अत्यधिक सामाजिक सञ्जालको प्रयोग
४. कुलत तथा लागुऔषधको प्रयोग
५. धम्की, डर, त्रास
६. पैसाको प्रयोग
७. घरायसी झैझगडा

विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्ध

संस्कारयुक्त शिक्षा र सिपयुक्त विद्यार्थी आजको आवश्यकता हो भन्ने कुरामा सबै सहमत हुन सकिन्छ । यसका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुन्छ । जसरी तीन पाँग्रे रथमा एउटा पाङ्ग्राले काम नगरे रथ चल्न सक्दैन त्यसरी नै शिक्षामा विद्यार्थी, शिक्षक र अभिभावकको जिम्मेवारी वहनमा कमी आए वान्छित उद्देश्य पुरा हुन सक्तैन ।

अन्त्यमा, अभिभावकज्यूहरुले विद्यालयको यस प्रकारको सोच र चाहनामा अवश्य सहयोग पुर्‍याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

*लेखक तिलक शर्मा पौडेल द ह्वाईट माउन्टेन स्कूल, काठमाण्डौका संस्थापक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !