१४ बैशाख २०८१, शुक्रबार

रुद्राक्ष कसरी चिन्ने र यसको प्रयोग गर्नाले के के फाइदा हुन्छ ?


रुद्राक्ष

आजकाल हरेक चिज नक्कली आइरहेको छ । आजको लेखमा रूद्राक्ष कसरी चिन्ने भन्नेबारे जानकारी पस्कदै छु । असली रूद्राक्ष दूध र पानीमा तल बस्छ । नक्कली रूद्राक्ष धागोमा बाँधेर प्याजको माथि झुन्ड्याउने हो भने घुम्न थाल्छ ।

रूद्राक्षको महिमा अपरम्पार छ । परम्परागत चिकित्सामा रूद्राक्षबाट थुप्रै रोगहरूमा प्रयोग गरेको र यसबाट थुप्रै फाइदा हुने गरेको छ । तल रूद्राक्षको प्रयोग कसरी गर्ने र कुन रूद्राक्षले के काम गर्छ भन्ने जानकारी हरेकलाई हुन सके सवैले लाभ उठाउन सक्नेछन् भन्ने कुरालाई ध्यानमा राखेर एकदेखि १२ मुखे रुद्राक्षको फाइदाबारे जानकारी दिइएको छ ।

१ मुखी रूद्राक्ष

एक मुखी रूद्राक्ष प्रयोग गर्दा सफलता, शक्ति, समृद्धि र यश प्राप्त हुनुको साथै धनलाभ हुने भनेको छ । यो हुने घरमा लक्ष्मीको बास हुनेछ र शिवको कृपा प्राप्त गर्न सकिने छ ।

२ मुखी रूद्राक्ष

दुई मुखी रूद्राक्ष ध्यान योग गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने व्यक्तिको रोमान्टिक इच्छा पूर्ति गर्ने खालको हुने बताइएको छ ।

३ मुखी रूद्राक्ष

तीन मुखी धारण गर्दा स्वास्थ्य र उच्च शिक्षा प्राप्तिको लागि शुभ फल दिने भनिएको छ ।

४ मुखी रूद्राक्ष

चार मुखी रूद्राक्ष ज्ञान, बुद्धि र खुसी प्राप्ति गर्नमा सहायक मानिएको छ ।

५ मुखी रूद्राक्ष

पंचमुखी रूद्राक्ष मनमा लुकेका अनगिन्ती इच्छाहरू र ज्ञानको पूर्ति गर्न राम्रो भुमिका खेल्ने गरेको पाइन्छ ।

६ मुखी रूद्राक्ष

छ मुखी रूद्राक्षको प्रयोग गर्नाले शारीरिक शक्ति, वीरता र सफलता दिने खालको हुने बताइएको छ ।

७ मुखी रूद्राक्ष

सात मुखी रूद्राक्षको प्रयोगले आंतरिक ज्ञान बढाउने क्षमता भएको र समाजमा यसको प्रयोगले राम्रो प्रभाव हुने भनिएको छ ।

८ मुखी रूद्राक्ष

आठ मुखी रूद्राक्षको प्रयोग गर्नाले सबै बाधा हटाउने र घरमा खुसी ल्याउने खालको भनिएको छ ।

९ मुखी रूद्राक्ष

नौ मुखी रूद्राक्षको प्रयोगले धन, खुशी र पारिवारिक सन्तोश प्रदान गर्ने खालको हुने भनिएको छ ।

१० मुखी रूदाक्ष

दस मुखी रूदाक्ष धारण गर्नाले कुदृष्टि भुत प्रेत बोक्सी लाग्नबाट बचाउने बताइएको छ । साथै यसको प्रयोगले स्वास्थ्य लाभ हुने भनिएको छ ।

११ मुखी रूद्राक्ष

एघार मुखी रूद्राक्षको प्रयोगले वैवाहिक जीवनमा खुसी ल्याउने नसोचेको सफलता प्राप्त हुने र असमयमा मृत्युबाट समेत रक्षा गर्ने भनिएको छ ।

१२ मुखी रूद्राक्ष

बाह्र मुखी रूद्राक्षको प्रयोग गर्नाले समृद्धि र आध्यात्मिक ज्ञान दिने खालको बताइएको छ ।

रूद्राक्षको गुण

रूद्राक्षको प्रयोगले शरीरलाई बलियो बनाउने कुरामा विशेष जोड दिएको छ । यसको प्रयोग खानको लागि पनि गरिन्छ । रूद्राक्षको प्रयोगले रगत सफा गर्ने धातु पुष्ट गर्ने आन्तरिक शरीरलाई रोगमुक्त गर्ने ब्लड प्रेसरको रोगमा समेत फाइदा पुर्याउछ भनिएको छ ।

प्यारालाइसिसका रोगमा, कफ, खोकी र प्रसुति रोगमा समेत यसको प्रयोगले राम्रो फाइदा हुने बताइएको छ । बच्चालाई कफको समस्या देखिएमा रूद्राक्ष घोटेर महसंग चटाउनाले राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !