वालिङ । ईश्वरी पुरी उमेरले ९० वर्ष पुग्नुभयो । उहाँको कर्म देख्दा भर्खरकै हुनुहुन्छ जस्तो लाग्छ । जीवनरुपी दियो निभ्ने बेला भो तर उहाँले अखण्ड धुनी निभ्न नदिई निरन्तररुपमा बाल्दै आउनुभएको छ । स्याङ्जाको वालिङ–८ काफलडाँडामा करिब दुई सय ५० वर्ष पहिलादेखि अखण्ड धुनी गरिँदै आएको छ । २०–२२ वर्षको उमेरमा सन्यासी भई यस ठाउँमा आउँदा पनि यस्तै धुनी भइरहेको देखेको उहाँ बताउनुहुन्छ ।
सुरुमा यहाँ महन्त तथा शिष्यहरु धेरै थिए । समूह ठूलो थियो । गुठीका नाममा रहेको खेतबारी कमाई गर्ने, खरबारीमा घाँस काट्ने र गाईभैँसी पाल्ने काम हुन्थ्यो । अहिले भने उहाँ एक्लैले धुनी अखण्डरुपमा बाल्दै आइरहनुभएको छ । सक्ने हुँदा, उमेर छँदा वनमा गएर मुढा तथा दाउरा काटेर ल्याई धुनी बाल्नुहुन्थ्यो । आजभोलि उमेर बढ्दै जाँदा शरीरले साथ दिन छोड्दै गयो । धुनी अखण्डरुपमा बाल्दै त आउनुभएको छ । “उमेर हुँदासम्म शरीरले सक्दासम्म त वनमा गएर मुढा काटेर ल्याएर पनि धुनी जलाइरहेँ”, उहाँले भन्नुभयो, “उमेरले नेटो काटिसक्यो, अब पहिलाजस्तो सकिन्न धुनी वरपरकै रूखहरु काटेर निरन्तरता दिँदै आएकी छु ।”
मुढा उचालेर धुनीसम्म लैजानसमेत बल हट्दै गएकाले कठिनाइ भएको उहाँले बताउनुभयो । आफूले सकेका दाउरा अझै पनि लगेर धुनीमा जोड्दै आउनुभएकी पुरीले ठूला मुढा उठाएर धुनीसम्म लगेर जोर्नका लागि स्थानीयको सहयोग लिनुपर्छ । धुनीको निरन्तरताका लागि वालिङ बजारसहित आसपासका क्षेत्रहरुबाट खाद्यान्न तथा वस्तुभाउका लागि परालहरु सहयोग हुने गरेको थियो । पछिपछि धुनीमा बस्नेहरुको सङ्ख्या तथा बस्तुभाउको सङ्ख्यामा कमी आयो ।
धुनीका नाममा रहेको खेतबारी तथा खरबारी अर्कैलाई अधियाँ दिएर त्यहाँबाट भएको आम्दानीले धुनीको दैनिकी चलाउँदै आए पनि गत वर्षबाट खेतबारी बाँझै रहेको उहाँले बताउनुभयो । “धुनी रहेको भवन पुरानो भएकाले जीर्ण बन्दै गएको छ, जमिन भासिँदै गएको छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण तथा भवनको मर्मतका लागि धुनीसँग आम्दानी छैन ।” अहिलेसम्म एक पैसा कसैले पनि नदिएको दाबी उहाँको छ ।
अगाडिका गुरुहरुसित यसका बारेमा बुझ्दा धेरै पहिलादेखि यहाँ धुनी सुरु भएको भन्ने उहाँले पनि अग्रजहरुबाट सुन्नुभएको हो । धुनीको संरक्षण गर्दै यसलाई निरन्तरता दिनका लागि संस्थागत प्रयास थालिएको स्थानीय एवं वालिङ–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताउनुभयो । “शिवालय धुनीकै जग्गामा अहिले गौशाला निर्माण गरी गाईको संरक्षण थालेका छौँ”, उहाँले भन्नुभयो, “धुनी र गौशाला दुवैलाई समेटेर ‘धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम’ नामक संस्था दर्ता गरी सोही संस्थामार्फत कार्य अगाडि बढाएका हौँ ।”
नब्बे वर्षीया पुरीले अखण्डरुपमा धुनी बाल्दै आउनुभएको र स्थानीयले पनि उहाँलाई साथ र सहयोग निरन्तर दिइरहेको उहाँले बताउनुभयो । धुनीको नाममा करिब ६०–६२ रोपनी खरबारी तथा सात–आठ रोपनी खेतबारी रहेको छ । धुनीको आफ्नै जग्गा जमिन हुनाका साथै स्थानीयले गौचरनका रुपमा छाडेका जमिनहरु यहाँ रहेकाले पनि गौशाला सञ्चालनमा समस्या नरहेको उहाँको भनाइ छ ।
विशेष मन्त्रोच्चारणद्वारा काठमा काठ घोटेर अग्नि स्थापना गरिएको र सोही अग्नि अहिले पनि अखण्डरुपमा चलिरहेको छ । “केवलपुरी महाराजले सुरु गर्नुभएको यो धुनीलाई अघिदेखि ‘जोगीको धुनी’ पनि भन्ने चलन छ”, उहाँले भन्नुभयो, “यस ठाउँमा छुट्टै खालको शक्ति छ भन्ने आफूभन्दा अग्रजहरुबाट सुनेको हुँ ।” भवन जीर्ण बन्दै गएको र धुनीलाई पनि व्यवस्थित गर्दै जानुपर्ने धारणा उहाँको छ । धुनी रहेकै भवन परिसरमा २२ जना गुरुहरुको समाधिस्थल रहेकाले पनि त्यसलाई जोगाएर काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यसखालका ऐतिहासिक सम्पदाहरुको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने माग स्थानीयले गरेका छन् ।