६ बैशाख २०८१, बिहिबार

ओली र प्रचण्डले किन आफैँलाई मतदान गर्न पाउने छैनन् ?


प्रचण्ड र केपी ओली

काठमाडौँ । देश अहिले निर्वाचनमय भएको छ । भोलि मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । आम नेपाली जनताले भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्दै छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् । तर केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

निर्वाचन कानुनअनुसार मतदाता नामावलीमा नाम समावेश भएका क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था भएअनुसार मतदाताले निर्वाचनका दिन आफ्नो अधिकार प्रयोग गर्छन् । तर भोलि हुन लागेको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताले समेत आफैंले आफैंलाई मत दिन नपाउने भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस महामन्त्री डा. शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर २ को सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेकोले ओलीले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

यस्तै चितवन क्षेत्र नम्वर ३ मा नामावली रहेपनि गोरखा क्षेत्र नम्वर २ बाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफैँलाई मत दिन नपाउने भएका हुन् ।

अध्यक्ष प्रचण्ड आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती, झक्कु सुवेदी, देवेन्द्र पौडेल तथा कल्पना धमलाले पनि आफैँलाई मतदान गर्न पाउने छैनन् । काँग्रेसका मोहनबहादुर बस्नेत, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय डिना, वीरबहादुर बलायरले पनि आफैँलाई मतदान गर्न पाउने छैनन् ।

त्यस्तै एमालेका अग्निप्रसाद खरेल, सर्वेन्द्र खनाल, एकीकृत समाजवादीका विरोध खतिवडा, लोकतान्त्रिक समाजवादीका लक्ष्मणलाल कर्ण लगायतले पनि आफैँलाई मतदान गर्न पाउने छैनन् ।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !