व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन Nepalpatra व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन
१४ मंसिर २०७९, बुधबार

व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन


व्यवस्था फेरियो, अवस्था फेरिएन फाइल फोटो

रामपुर, पाल्पा । तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गर्नुभयो । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसरा उम्मेदवारका चुनावी योजनाले प्रभावित भएर गाउँले विकासमा छिट्टै फड्को मार्ने महत्वकाङ्क्षा बोकेर मत खसाल्दै आएका छन् ।

निर्वाचनलाई निकै महत्व दिने उहाँ जितेर गएका नेतृत्वले विकास त परै जाओस् गाउँ फर्केर नआउँदा सोझा जनतालाई झुक्याएर आफू सत्तामा रमाउने गरेकामा गुनासो पोख्छिन् । बूढेसकालमा आर्थिक अभावमा सामान्य औषद्योपचार गर्न नसक्दा कष्टसँग गरिब, विपन्न नागरिकले जीवन बिताउनु पर्दा यसमा आफूले दिएको मताधिकारको कदर नभएको बताइन् । औषधि उपचारमा निःशुल्क र बूढेसकालमा तनावमुक्त भएर आनन्दसँग जीवनयापन गर्ने वातावरण नेतृत्वले सिर्जना गर्नुपर्ने तिलिसराको भनाइ छ ।

“हामीजस्ता पाकापुस्तालाई नानाथरीका प्रलोभन देखाएर चुनाव जित्ने काम मात्रै भयो”, उनले भनिन्, “गाउँमा विकासले गति लिन सकेन, उमेरले आठ दशक लाग्न थालियो, विकास भने देख्न पाइएन, देशमा जुन सरकार आए पनि हाम्रो दुःख हामीसित नै छ, सुख काट्ने र रमाउने भनेको हाम्रो मतले सत्तामा पुगेकाहरु मात्र रहेछन् ।”

गाउँका मतदातामाझ ठूला सपना र योजना बाँड्नुभन्दा पनि आधारभूत समस्याको निकास गर्ने नेतृत्व चाहिएको बताइन्, ७० वर्षीया खगीसरा विश्वकर्मा । आर्थिक अभावमा बिरामी पर्दा उहाँलाई उपचारमा समस्या छ । ज्येष्ठ नागरिकलाई गाउँमै निःशुल्क स्वास्थ्योपचार, जाडोयाममा न्यानो लुगा, पानी आउँदा ओत लाग्ने बासस्थान र बिहान साँझ दुई छाक आनन्दले हातमुख जोड्ने व्यवस्था भए यसमै खुसी रहने उनले बताइन् ।

गरिब, विपन्न नागरिकले सामान्य औषद्योपचार गर्न नपाएर अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्ने नेतृत्व नै आजको आवश्यकता रहेको विश्वकर्मा बताइन् । सोही ठाउँकै ७५ वर्षीया हिमकान्ति अधिकारी पनि यस पटकको निर्वाचनमा ज्येष्ठ नागरिकको हितमा काम गर्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा छिन् ।

यसभन्दा अघिका नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई सम्मान र सद्भाव गर्ने सक्षम उम्मेदवार नै देशको लागि आवश्यक रहेको बताइन् । चुनाव आउँदैपिच्छे गाउँ आउने तर निर्वाचनपश्चात् गाउँ नपस्ने नेतृत्वले विकास र समृद्धि नदिएको उनको भनाइ छ । उनको घरमा यतिबेला विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवार मत माग्न दिनहुँजसो पुगेकै छन् ।

“युवा उमेरदेखि नै गाउँमा विकास र समृद्धि दिलाउने योजना ल्याउने उम्मेदवारलाई पछ्याउँदै अहिलेसम्म मतदान गरिरह्यौँ, तर गाउँमा विकास र समृद्धि नाममा मात्रै सीमित रह्यो, हामीले महसुस गर्नै पाइएन, खानेपानी, बाटो, औषधोपचारकै समस्या नै हाम्रा मुख्य समस्या हुन् ।”

अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीले मतदाताले यस पटक उम्मेदवारका योजना र मुद्दालाई त्यति महत्व दिएका छैनन् । गाउँमा सामान्य समस्याको समधान गर्न नसक्ने तर मतदानलाई मध्यनजर गर्दै सीधा नागरिकलाई अनेकौँ आश्वासन नदिन मतदाताले अनुरोध गरेका छन् । अबको पाँच वर्षमा आफूले काम सक्ने आधारभूत योजना लिएर प्रतिबद्धता जनाउने उम्मेदवार पहिचान गरी मतदान गर्ने सोचमा मतदाता छन् ।

ग्रामीण भेगमा चुनाव जित्ने आधार भनेको गरिब, विपन्न समुदाय हो । गाउँका सोझासाझा जनतालाई अनेकन आश्वासन दिएर आफ्नो पक्षमा मत माग्न उम्मेदवार घरदैलोमा पुगेका छन् । उम्मेदवार योजना सुन्दा विकासमूलक र आकर्षक छन् । ती चुनावी योजना आफ्नो कार्यकालमा पूरा भएमा देशमा विकासको लहर छाउनेछ ।

नेतृत्वमा पुगेका व्यक्ति सत्ताको मोहमा अलमलिने, आफ्ना कार्य क्षेत्रमा नफर्कने, विकासमा चासो नदिने प्रवृत्तिप्रति अहिले मतदाता आफैंले खुलेर विरोध गरिरहेका छन् । मतदातामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा हाम्रोलाई भन्दा पनि राम्रोलाई मतदान गर्नुपर्छ भन्ने मानसिकताको विकास हुँदै गएको पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !