६ जेष्ठ २०८१, आइतबार

ग्रहणका बेला के गर्न हुन्छ र हुँदैन ? ग्रहणले मानव शरीरमा के असर गर्छ ?


गस्तास्त खण्डग्रास सूर्यग्रहण

काठमाडौँ । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ ।

सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन, त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ । धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण खग्रास सूर्यग्रहण भनिन्छ ।

ग्रहणका बेला के गर्न हुन्छ र हुँदैन ?

शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्छन् ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।

ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

ग्रहणले मानव शरीरमा असर के गर्छ ?

ग्रह वा खगोलीय पिण्डहरूको असर जमिनको पानीमा देखिए जस्तै हरेक कोषिकामा रहेका पानीमा पनि पर्दछ । यसरी पर्ने असर अदृश्य हुन्छ । यी आकर्षणले गर्दा मानिसहरूको शरीर भित्र तरंगहरू पैदा हुन्छन् । यी तरंगहरूले मानिसहरूको व्यवहार, चालचलन र वुद्धि विचारमा समेत असर पारि राखेका हुन्छन् । प्राचीन काल देखि नै एकादशी, पूर्णिमा र अमावस्याका दिनमा व्रत वस्ने गरेको पाईन्छ ।

व्रत वस्ने दिन थोरै खाना खाने, फलाहार गर्ने वा पेट खाली राख्ने गरिन्छ । यी दिनहरूमा आकाशिय पिण्डहरूको आकर्षण केहि बढी हुने भएकोले शरीरलाई कामको वोझ काम गराउन खोजिएको हो । खाना पचाउन, पचेका खाना शोषण गर्न न पर्दा शरीर शान्त रहन्छ र आकाशिय पिण्डहरूको कारणले उत्पन्न हुने तरंगबाट पर्न सक्ने नकारात्मक प्रभाव कम गराउन सकिन्छ । नकारात्मक असरहरूमा विभिन्न अंगहरू उत्तेजित हुने, मानसिक तनाव वढ्ने, रिस उठने, नकारात्मक सोच र विचार उत्पन्न हुने आदि हुन् ।

चन्द्र ग्रहणको वेला सूर्य, पृथ्वी र चन्द्र एउटै सरल रेखामा र एउटै धरातलमा पर्ने हुँदा केही ठूलो आकर्षण शक्ति उत्पन्न हुन्छ । ठीक यस्तै सूर्य ग्रहणको बेला त सूर्य, चन्द्र र पृथ्वी एउटै सरल रेखा र एउटै धरातलमा पर्ने हुँदा अझै ठूलो आकर्षण शक्ति रहन्छ । यो समयमा शरीरमा वढिनै तरंग पैदा हुन्छ र शरीरलाई आरामको आवश्यकता पर्दछ ।

खाना खाएको खण्डमा शरीरले काम गर्नु पर्ने हुन्छ । शरीरमा उत्पन्न हुने शक्तिको व्यवस्थाप नगर्न गाह्रो पर्न जान्छ । शरीरलाई बढी कामको वोझ भएको वेला शरीरमा उत्पन्न हुने तरंगहरूले नकारात्मक असर धेरै पार्न सक्छ । त्यसैले ग्रहण लाग्ने समय ४/५ घण्टा अघि नै पेट खाली राख्नु शरीरको हितमा हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !