१२ असार २०८१, बुधबार

यस्तो छ कुकुर तिहारको सांस्कृतिक तथा पौराणिक महत्व


कुकुर तिहार

काठमाडौँ । कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ । विशेषगरी यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ । कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुर पूजाको प्रसङ्गले बुझिन्छ ।

ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।

कुकुर तिहारको दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।

कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।

कुकुरहरु हाम्रो गाँउघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ । गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन् । त्यस्तै कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन् । जति सुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छोड्दैन । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !