१० जेष्ठ २०८१, बिहिबार

कोप-२७ : ‘कार्यान्वयन सम्मेलन’ हुने


कोप–२७ फाइल फोटो

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा लिइएको छ । यस सम्मेलनमा रियो सम्मेलन सन् १९९२ देखि ग्लास्गो २०२१ (कोप–२६)सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतालाई कार्यान्वयन गर्न जोड दिइने भएको छ ।

कोप–२७ आगामी नोभेम्बर ६ देखि १८ (यही कात्तिक २० देखि मङ्सिर २ गते) सम्म इजिप्टको शर्म–एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा विज्ञानमा आधारित चुनौती हालसम्मका निर्णय र प्रतिबद्धताका आधारमा समावेशी र महन्वाकाङ्क्षी परिणामहरू दिने; उत्सर्जन न्यूनीकरण गर्ने, अनुकूलन प्रयासहरूलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु परिवर्तनका कार्यलाई गति दिने गरी लक्ष्य तथा उद्देश्य राखिएका छन् ।

सम्मेलनमा न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, सहकार्य र हानि तथा नोक्सानी विषयहरूमा छलफल हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्रहरूमा पर्दछ । उच्च तापक्रम वृद्धि, वर्षा र हिमपातमा आएको परिवर्तनले खडेरी, बाढी, पहिरो र डढेलोजस्ता बढ्दो जलवायुजन्य प्रकोपका कारण ठूलो मात्रामा हानिनोक्सानी हुनाका साथै विभिन्न क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ ।

मन्त्री रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल

सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । नेपाललाई जलवायु परिवर्तनका चुनौतीहरुको सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि सम्मेलन एक महत्वपूर्ण अवसर हुने मन्त्रालयको अपेक्षा छ ।

नेपालले महासन्धि र यससँग सम्बन्धित अन्य संरचनामा आबद्ध रही हरेक वर्ष पक्ष राष्ट्रहरुको सम्मेलन र अन्य बैठकहरुमा सहभागिता जनाउँदै आएको छ । मन्त्रालयले सरोकारवाला निकाय र विज्ञहरुसँग विभिन्न चरणमा छलफल, परामर्श तथा अन्तरक्रिया गरी सहभागितामूलक ढङ्गले कोप-२७ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयलाई समेटेर नेपालको स्थिति पत्रलाई अन्तिम रूप दिएको सहसचिव काफ्लेले बताए ।

यसैगरी नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्ध्ता र राष्ट्रिय आवश्यकतालाई प्रभावकारी रुपमा सम्बोधन गर्न जलवायु उत्थानशीलता अभिवृद्धि गर्न उपयुक्त नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रमहरू तर्जुमा गर्न सकारात्मक पहल गरेको छ ।

यस्ता पहलस्वरुप राष्ट्रिय जलवायु परिवर्तन नीति (२०७६), वातावरण संरक्षण ऐन (२०७६) तथा वातावरण संरक्षण नियमावली (२०७७) कार्यान्वयनमा रहेका छन् । त्यसैगरी, पेरिस सम्झौताबमोजिम दोस्रो राष्ट्रिय निर्धारित योगदान, राष्ट्रिय अनुकूलन योजना र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति तर्जुमा गरी लागू भएका छन् ।

यस पटक पनि नेपालले जलवायु परिवर्तनका मुद्दाहरू विशेषगरी गरीब र सङ्कटासन्न राष्ट्र, समुदाय र व्यक्तिहरूको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने विश्वव्यापी पहलहरू महत्वाकाङ्क्षी, निष्पक्ष र समानताको सिद्धान्तमा आधारित हुनुपर्दछ भनेर आवाज उठाउने तयारी गरेको छ ।

यसबाहेक नेपालले यस सम्मेलनमा जलवायु परिवर्तनको कारण हिमाली क्षेत्र र पर्वतीय राष्ट्रहरूमा परेका समस्याको पहिचान र सम्बोधन गर्नुपर्ने विषयलाई उठाउने मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलले बताए ।

विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षी राष्ट्रिय निर्धारित योगदान र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गर्नुपर्ने नेपालको माग छ ।

साथै जलवायु अनुकूलनको विश्वव्यापी लक्ष्यमा यथाशीघ्र सहमति हुनुपर्ने र राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न विकसित राष्ट्रहरूले अनुकूलनका दायित्व दोब्बर गर्ने गरी थप प्रतिबद्धता र कार्यान्वयनमा जोड दिनुपर्ने, विकसित र उत्सर्जन बढी गर्ने मुलुकहरूले सन् २०३० सम्म कार्बन उत्सर्जनलाई घटाउने प्रतिबद्धता र कार्ययोजनामा सहमत हुनुपर्ने सहसचिव डा. पौडेलले बताए ।

विकसित राष्ट्रहरूले सामूहिक रूपमा दीर्घकालीन जलवायु वित्तको लक्ष्यअनुसार सन् २०२० देखि २०२५ सम्म प्रत्येक वर्ष एक सय बिलियन अमेरिकी डलर प्रदान गर्ने विषयको पूर्ण कार्यान्वयन गर्ने विषयमा नेपालले जोड दिनेछ ।

हानिनोक्सानीको मुद्दा छुट्टै एजेन्डा

नेपालले हानि तथा नोक्सानीको मुद्दालाई छुट्टै एजेन्डाका रूपमा उठाउने र सेन्टियागो नेटवर्कको संस्थागत गर्ने प्रक्रियाको प्रगतिका लागि छुट्टै वित्त व्यवस्थापन हुनुपर्ने विषयहरु उठाउनेछ । यसका साथै, विश्वव्यापी प्रगति समीक्षा (ग्लोबल स्टकटेक) गरी पेरिस सम्झौताका लक्ष्यतर्फ देशहरूको सामूहिक प्रगतिको मूल्याङ्कन गरेर महत्वाकाङ्क्षी लक्ष्य अघि बढाउने, लैङ्गिक संवेदनशील जलवायु अनुकूलन कार्य योजनालाई देशका सबै स्थानीय तहमा कार्यान्वयन गर्ने र अनुकूलन र न्यूनीकरणका प्रविधिहरूको सहज हस्तान्तरण र क्षमता अभिवृद्धिजस्ता मुख्य विषयहरु प्राथमिकताका साथ उठाउने नेपालको तयारी छ ।

यस सम्मेलनमा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नाका साथै अनुकूलनका लागि घोषणा गरिएको दोब्बर वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गरिनुपर्ने, अनुकूलनमा कृषि र खाद्य सुरक्षालाई महत्व दिई कोरोनोभिया संयुक्त कार्यक्रमको कार्यान्वयन, नेपाल जस्ता विकासोन्मुख राष्ट्रको आवश्यकता र अनुकूलन, न्यूनीकरण, हानि तथा नोक्सानी, प्रविधि र क्षमता विकासको प्राथमिकताबमोजिम विज्ञानमा आधारित नयाँ साझा परिमाणात्मक जलवायु वित्त लक्ष्य सन् २०२५ अगाडि नै तय हुनुपर्ने विषयलाई जोड दिइनेछ ।

सम्मेलनका क्रममा नेपालले राष्ट्रिय निर्धारित योगदान र राष्ट्रिय अनुकूलन योजनाजस्ता महत्वपूर्ण राष्ट्रिय लक्ष्य र योजनाहरुको कार्यान्वयन गर्न आवश्यक जलवायु वित्त जुटाउने र जलवायु कोषहरूमा सरल र सहज पहुँच हुनुपर्नेलगायत विषयमा विभिन्न राष्ट्र र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल तथा बैठक गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !