टङ्कीसिनवारी । मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन ।
लगन र मेहनत भए सानोतिनो काम र उच्च अध्ययनबिना नै पनि नेपालमा नै प्रशस्त रूपैयाँ आर्जन गरेर सपना साकार पार्न असम्भव छैन । कर्णाली प्रदेशअन्तर्गतको कालिकोट जिल्लाको तिलगुफा नगरपालिका बस्ने चक्रबहादुर थापा विभिन्न खाले धातुका औँठी र नेपाली ढाका टोपी बेच्नु हुन्छ । कर्णालीबाट व्यापार गर्नैका लागि वहाँ इटहरीमा केही महिनादेखि डेरा जमाएर बसेका छन् ।
बूढीगङ्गा–३ को बाँसबारीमा औँठी बेच्दै अवस्थामा भेटिनुभएका थापा आफ्नो कारोबारबाट सन्तुष्ट हुनुहुन्छ । थापाले दैनिक रु नौ सयदेखि एक हजार पाँच सयसम्मको औँठी र टोपी बेच्ने गरेका छन् । थापा ग्राहकले धेरै ग्रह दशा काट्ने औँठी खोज्ने गरेको र सन्तोषजनक परिणाममा औँठीको बिक्री हुने गरेको बताए ।
तिहार नजिकिँदै गर्दा ढाका टोपी पनि सदाको भन्दा दोब्बर बिक्री हुने र आम्दानी पनि झन् बढ्ने थापाले बताए । ‘आम्दानी पनि राम्रै भएको र आफ्नो मनको राजा आफैँ भएकाले अर्काको खटनमा काम गर्न वैदेशिक रोजगारीमा किन जानु ?’ भन्दै ठट्यौली पारामा थापाले प्रश्न गरे ।
बेलबारी नगरपालिका–९ डाँगीहाटका किशन राजवंशीलाई विदेश जाने रहर थियो । जिल्ला प्रशासन कार्यालय, विराटनगरमा राहदानी बनाउन आउनुभएका राजवंशी आफ्ना काका सत्यनारायण राजवंशीको प्रेरणाले पेन्टिङ काममा संलग्न थिए । काकाले नै विराटनगर–४ मा सञ्चालन गर्दै आएको पूर्वाञ्चल मिडियामा ब्यानरदेखि नम्बर प्लेट रङरोगन गर्न सिके । आम्दानी हुँदै जान थालेपछि राजवंशीलाई विदेशको मोहले सताउन छाड्यो ।
राजवंशीले अहिले महिनामा रु ३५ हजारदेखि ४० हजार कमाउनुहुन्छ । वहाँले इमान्दारी साथ काम गर्ने जाँगर भए मुलुकमा नै मनग्य कमाएर खाने अवसर छ भने । राहदानी बोकेर विदेश उड्ने सोच लिएका राजवंशीले सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवा युवतीभन्दा आफूले यहीँ बसेर मनग्य कमाउन थालेको भन्दै गर्व गरे ।
ठेलामा केरा राखेर बेच्ने संगीत महतोले आफू बसेकै ठाउँमा कमाइ छ भने विदेश किन जाने ? भनेर प्रश्न गर्नुभयो । विराटनगर–७ को सहिद मैदान अगाडि भेटिएका संगीतले आफूले सुनसरीको देवानगञ्जदेखि केराका भारी ल्याएर बेच्ने गरेको अनुभव सुनाए । महतोले केरा बिक्रीबाट चाहे जस्तो मुनाफा आर्जन गरेको र घर पनि मज्जाले चलिरहेको बताए । टुङ्गो न बुङ्गोको विदेश जानुभन्दा स्वदेश निर्माणमा योगदान गर्नु उत्तम हुने तर्क महतोले राखे ।
वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको बिचल्ली भएको छ । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले आफूलाई विदेश लगेर बिचल्ली बनाएको भन्दै एजेन्ट र म्यानपावर विरुद्ध असोज महिनामा मात्रै १९ वटा उजुरी परेको बताएको छ । केन्द्रकी परामर्शकर्ता मुना निरौलाले चार वटा उजुरीको समाधान गरिएको र बाँकी अनुसन्धानको क्रममा रहेको बताए ।
निरौलाले साउनयता एक हजार दुई सय व्यक्तिले विदेश जानका परामर्श लिइसकेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले राहदानीका लागि प्रशासनको राहदानी फाँटमा दैनिक एक सय वटा आवेदन पर्ने गरेको बताए ।
सेवाग्राहीको अत्यधिक चापका कारण प्रशासनले दैनिक ८० वटा मात्र राहदानीको आवेदन लिने भनी गरेको अघिल्लो निर्णयलाई उल्टाउँदै आज बिहीबारदेखि दैनिक एक सय वटा आवेदन लिन थालिएको बताए ।