३० कार्तिक २०८१, शुक्रबार

युवती बलात्कारको पासोमा सन्दिप र पल : कानूनले के भन्छ ?


सन्दिप लामिछाने र पल शाह

काठमाडौँ । अभिनेता पल शाहको चर्चा सेलाउन नपाउदै सन्दिप लामिछानेको खबरले केही समयअघिदेखि बजार तातेको छ । यसरी एकाएक नेपाल तथा अन्तर्राष्ट्रिय ख्याती कमाएका सन्दिप लामिछाने जस्ता सेलिब्रेटीहरू समेत बलात्कार कानूनको पासोमा परेपछि पछिल्लो समय बलात्कारसम्बन्धि कानूनमा परिवर्तन गर्नुपर्ने हो कि भन्ने आवाज उठाउन थालिएको छ ।

अहिलेको रहनसहन खानपिन र खुला समाजको प्रभाव समेतले १८ वर्षभन्दा कम उमेरमा नै शारीरिक सम्बन्ध हुने कार्य सामान्य भएको छ । यस्तैमा मनमिल्दा राजीखुशीले सम्बन्ध राख्ने अनि मन नमिलेर छुट्टिएपछि बलात्कारमा मुद्धा हालेर जेल पठाउने सिलसिला बढ्दो छ ।

नेपालमा २०७४ साल भदौ भन्दाअघि मुलुकी ऐन कानून थियो जब नयाँ कानून मुलुकी फैजदारीसंहिता २०७४ लागू भयो तब नाबालिगको उमेर हद १६ वर्षबाट बढाएर १८ वर्ष पुर्याइयो । अहिले उब्जिएको समस्याको एउटा जड यो पनि हो ।

उमेर हद बढाउनासाथ बलात्कारको आँकडामा ह्वात्तै बढेको देखिन्छ । तर वास्तविकतामा नाबालिगको उमेर हद बढाइदिएपछि १६ वर्षदेखि १८ वर्षका किशोरीसँग सहमतिमा राखेको सम्बन्ध पनि बलात्कारमा दर्जा हुन गयो । यो उमेर समूहमा बलात्कार भनेर आएका अधिकांश घटना सहमतिकै छन् ।

कानून माफर्त संरक्षण गरिएको उमेरको विकासक्रम

आज भन्दा ७४० बर्ष अघि बेलायतमा शाररिक सम्वन्धमा उमेरको हद कायम गरिएको थियो । उक्त समयमा १२ बर्ष कायम गरिएको थियो । उन्नाइसौ शताब्दीमा आएपछि नावालिका कानूनमा विकास हुँदै गयो र समस्त युरोपमा शारीरिक सम्बन्धको उमेर वृद्धि गरियो र १४ बर्षको उमेरलाई उपयुक्त उमेर कायम गरियो । विकासक्रम अनुसार १४ बर्षबाट बढाएर १६ बर्ष कायम गरियो ।

अहिले संसारभरी प्राय देशहरूले १६ बर्षलाइ शारीरिक सम्बन्धको मापदण्ड बनाएका छन् । यसको अपवादमा फिलिपिन्सलाई लिन सकिन्छ । फिलिपिन्समा सहमतिको उमेर १२ बर्ष राखिएको थियो । फिलिपिन्समा अस्तिसम्म १२ वर्ष थियो, अन्तर्राष्ट्रिय दबाब परेपछि अहिले १६ वर्ष पुर्याइएको छ । जापानमा १५ वर्ष छ । बहराइनमा २० वर्ष छ । भारतमा पनि नेपालमा जस्तै १६ बाट १८ बनाइयो । भारतमा भारतीय दण्डसंहिताको दफा ३७५ मा उमेरको हद सन् १८६० मा १० बर्ष , १८९१ मा २ बर्ष १९२५ मा १३ बर्ष १९२९ मा १४ बर्ष १९४० मा १५ बर्ष, १९७८ देखि १८ बर्ष कायम गरिएको छ ।

भारतको नेसनल फेमली हेल्थ सर्भे २००५ ले महिलाहरूको ४६ प्रतिशत महिलाहरू १८ बर्ष भन्दा कम उमेरमानै विवाह गर्दछन् । औसतमा हेर्दा १६ वर्षकै उमेर हदलाई धेरै देशले स्वीकारेका छन् । नेपालका लागि पनि यही नै ठीक हो । १८ वर्षमा बच्चा कन्सिभ गर्न सक्दैन भन्ने तर्क गर्छन् । तर, बच्चा कन्सिभ गर्ने कुरा अर्को हो । हाम्रो गाउँघरमा अहिले पनि १६ वर्ष पुगेपछि छोरीको बिहे गर्ने बेला भो भन्न थाल्छन् ।

अहिलेको इन्टरनेट क्रान्तिले संमाजको मनोबिज्ञान समेत परिर्वतन भएको छ । गाउघरमा फेसबुक टिकटक र अन्य सामाजिक संजाल समेतले किशोर किशोरीलाइ नजिक ल्याएको छ र सानै उमेरमा विवाह गर्ने र केटासंग भागेर जाने चलन बढेको छ । यस्तोमा विवाह गर्ने उमेर घटाउनु पर्छ भनेर सदनमा समेत बहस हुने गरेको छ ।

अहिले सामाजिक संजाल युटुब, टिकटकमा पल शाह र सन्दिप लामिछानेको निकै चर्को बहस छेडिएको छ । प्राय: सामाजिक संजालमा प्रतिक्रिया जनाउने ब्यक्तिहरूले नाबालिकाको दोष रहेको भन्ने समेत गरेका छन् । यस्तै प्रसङ्ग आज भन्दा १२८ बर्ष अघि बेलायतमा समेत भएको थियो । R v. Tyrrell [1894] 1 Q.B. 710 मुद्दामा हेर्दा बयस्क ठूलो उमेर देखिने केटीले बयस्क केटालाई माया जालमा पार्दछिन ।

दुबै जनाको सहमतिमा यौन सम्पर्क हुन्छ । यसमा नाबालिकामाथि बलात्कारको अभियोग केटामाथि लाग्दछ । केटाले उल्टै केटीबिरूद्ध मुद्दा दायर गरेर आफ्नो उमेर कम हुँदा हुदै मलाई ढाटेर उमेर पुगेको भन्न फौजदारी अपराधमा संलग्न गराएकोले निज केटीमाथि सजाय हुनु पर्दछ भनी दाबी लिन्छन् । यसमा अदालतले पिडित भनेको पिडपतनै हो उसको संरक्षण गर्नु पर्दछ भनी ब्याखा गरिएको थियो ।

यदि दुबै नाबालक भएमा के हुने ?

तपाई हामीलाई नाबालिकालाइ कानूनले संरक्षण गरेको छ र नाबालिकाको सहमतिमा कसैले शारीरिक सर्म्पक राखेमा बलात्कार हुने कानून भएजस्तै कुनै नाबालकले पनि कसैलाई बलत्कार गरेमा कानूनले संरक्षण गरेको होला भनि सम्झन्छौ । कानूनले कुनै नाबालकले नाबालिकालाई बलत्कार गरेको छ भने बलात्कार गर्ने बालकलाई सजाय गरिन्छ । बालबालिकासम्बन्धी ऐन २०७५ ले सजाय गर्दा १० बर्ष भन्दा कम भएमात्र कुनै प्रकारको मुद्दा चलाइदैन ।

प्राय: जवरजस्ती करणी मुद्दामा बालक १० बर्ष भन्दा कमको हुने गर्दैन । यदि बालक १० बर्ष भन्दा माथि १४ बर्ष भन्दा कमको रहेकोमा ६ महिना कैदको ब्यबस्था गरेको छ । यदि १४ देखी १६ भए अन्यलाई हुने सजायको आधा हुने गर्दछ अर्थात १२ बर्ष कैद भएकोमा ६ बर्ष बस्नुपर्ने हुन्छ । यदि १६ बर्षदेखि १८ बर्षसम्म भएमा कानून बमोजिम उमेर पुगेको ब्यक्तिलाई हुने सजायको दुई तिहाइ हुन्छ । अर्थात १२ बर्ष सजाय हुनेमा ८ बर्ष हुन्छ ।

सर्वोच्च अदालतले नावालिका संगको शारीरिक सम्पर्कमा कस्तो नजिर रहेको छ ?

नजिर भनेको सर्वोच्च अदालतले कानूनको व्याख्या गर्दा फैसलामा बोलिएका र व्याख्या गरिएका सिद्धान्तलाई लिने गरिन्छ । नावालिकासंग सहमतीमा शारीरिक सम्बन्ध भएकोमा सर्वोच्च अदालतले ब्याखा गरेको छ ।

१. पिडितले अदालतमा आएर होइन भन्दा पनि अदालतले सजाय गरेको अवस्था/पल शाहसंग मिल्ने नजिर

नेपाल सरकार वि. नारायण बहादुर राउत (ने.का.प. २०६६, अंक ६, नि.नं. ८१७९) : यसमा पिडित दिदी र बहिनी खेतमा मकै रुँग्न गएको अवस्थामा आधा डोको घाँस समेत काटी वसिरहेको अवस्थामा एक्कासी प्रतिबादी हामी भएको ठाऊँमा आई सल्लाह छ भन्ने निहुँ गरी नजिक आई दिदीको हात समातेर भुईमा लडाई मुख समेत थुनेर जबरजस्ती करणी गरी बुबा आमालाई भनिस् भने मारी दिन्छु गएको भनेर जाहेरी दरखास्त पर्दछ । यसमा नायक पल शाहको जस्तै पिडितले अदालतमा आएर घटना भएको होइन भन्छिन र जिल्ला अदालत र पुनराबेदन अदालतले जवरजस्ती करणीमा सफाइ दिएको छ ।

तर सर्वोच्च अदालतले पिडितले र अन्य व्यक्तिले अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी वकपत्र गरेको आधारमा मात्र प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय प्रतिवेदन मेडिकल रिपोर्टको प्रतिकूल हुनेगरी जबरजस्ती करणी भएको होइन भन्ने निष्कर्षमा पुग्न नसकिने र अन्य प्रमाणबाट कसूर गरेको भन्ने पुष्टि भइरहेको अवस्थामा केवल पीडित तथा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूले पहिला आफूले भनेको भनाइको विपरीत हुनेगरी गरेको वकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिदै जाने हो भने पीडित तथा अन्य व्यक्तिउपर अनुचित प्रभाव पार्न सक्ने र अपराधीहरूले कहिल्यै पनि सजाय पाउने अवस्था नआई दण्डहीनताको स्थिति सिर्जना भइ अन्ततः समाज नै अराजकतातर्फ जाने भनी जबरजस्ती करणीमा सजाय गरेको छ । फैजदारी मुद्दा जिल्लामा फैसला भएर जिल्लामा अन्त हुँदैन । सरकार पक्षले दाबी लिएको ठहर भएन भने अनिवार्य रूपमा उच्च अदालतमा पुनरावेदन गर्नुपर्ने हुन्छ ।

२. नाबालिकाको सहमतिमा शारीरिक सम्पर्क राखेपनि जवर्जस्ती करणी हुने

यो नजिर मूलुकी ऐन, लागू भएको बेलामा स्थापित भएको हो । मूलुकी ऐनमा नाबालिकाको उमेर १६ बर्ष भनि उल्लेख गरिएको थियो । नेपाल सरकार वि. शंकर वि.क. (ने.का.प. २०६९, अंक ६, नि.नं. ८८४४) नावालिका १६ वर्ष भन्दा मुनिको स्वास्नी मानिसलाई सहमतिले नै करणी गरेपनि मुलुकी ऐन, जवर्जस्ती करणीको महलको १ नं. को कसूरभित्र पर्ने हुँदा सहमतिमा करणी भएको जवर्जस्ती करणी हुँदैन भन्ने जिकीर स्वीकार्य नदेखिने ।

(नोटः परीक्षण गर्दा पीडितको उमेर १३ देखि १६ वर्ष भनी उल्लेख, दुबैको सहमतिमा करणी हुने गरेको र वारदारकोदिन पनि सहमतिमै भएको भन्ने प्रतिवादीको जिकीर)

लोक बहादुर कार्की वि. नेपाल सरकार (ने.का.प. २०७२, अंक २, नि.नं. ९३४६) मुद्दा : मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी) (१४ बर्ष उमेरको नावालिकासँग विवाह गरी करणी गरेकोमा)

मुलुकी ऐन, विहावरीको २ नं. मा “विहावरी गर्दा महिला र पुरूषको उमेर संरक्षकको मन्जुरी भए १८ वर्ष र संरक्षकको मन्जुरी नभए २० वर्ष नपुगी विहावरी गर्न गराउन हुँदैन” भनी गरेको व्यवस्थाले संरक्षकको मन्जुरी भएमा महिला र पुरूष दुबैको उमेर १८ र संरक्षकको मन्जुरी नभए २० वर्ष उमेर नपुगी विवाह गर्न गराउन नहुने व्यवस्थाअनुसार विवाह हुँदा न त पीडितको संरक्षकको मन्जुरी थियो भन्ने प्रतिवादीहरूको जिकिर छ नत पीडितको उमेर २० वर्ष पुगिसकेको थियो भन्ने जिकिर लिन र सो पुष्टि हुने प्रमाण प्रस्तुत गर्न नै सकेको पाइन्छ ।”

वारदातको समयम पीडितको उमेर १४ वर्षमात्र रही वैध विवाहको लागि चाहिनेउमेर पूरा भएको नदेखिँदा पीडित र प्रतिवादीको बीच भएको उक्त विवाह वैध विवाह नभई बालविवाह भएको तथ्य पुष्टि हुन आउने । मुलुकी ऐन जबर्जस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजकोमन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरको बालिकालाई निजकोमन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ” भन्नेव्यवस्था हुँदा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्रवर्षभन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको मान्नु पर्ने भनी व्याख्या भएको छ ।

निष्कर्ष

अहिले सन्दीप लामिछाने र पल शाहको मुद्दाको चर्चा निकै चलेको छ । पल शाहको मुद्दमा जिल्ला अदालत, नवलपुरले बलत्कार मुद्धामा उनीविरुद्ध मागदाबी नदिएको ‘बालयौन दुरुपयोग’ को कसुरमा दोषी ठहर गरेको हो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले कारबाही माग गरिएको बलात्कारको कसुरमा सफाइ दिए । तर माग दाबी नै नएिको कुसर ‘बाल यौन दुरुपयोग’मा भने दोषी ठहर गरेको छ ।

इजलासले शाहलाई २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यसमा सरकारी वकिलले उच्च अदालतमा पुनराबेदन गर्नै पर्ने हुन्छ । अझै उनी बिरूद्ध तनहु जिल्ला अदालतमा बलत्कार मुद्दा बिचाराधिन अवस्थामा रहेको छ । उक्त अदालतले के फैसला गर्दछ हेर्न बाँकी छ । सन्दिप लामिछानेको बाहिर आएको घटना विवरण पढ्दा उनीहरु दिनभरी घुमघाम गरेर राति होटलमा बसेका छन् ।

यदि दुई पक्षको सहमतिमा सम्बन्ध भएको देखियो भने पनि त्यो कानूनतः बलात्कार नै ठहरिन्छ । यही त्रुटिपूर्ण कानूनी व्यवस्थाका कारण सन्दीपमाथि १२ वर्षसम्मको जेल सजाय हुनसक्ने खतरा छ । बलात्कारसम्बन्धी कानूनमा धेरै संशोधन आवश्यक छ । सबैभन्दा मुख्य कुरा बलात्कार र सहमतिको सम्बन्धलाई छुट्याएर हेर्नुपर्यो । बल प्रयोग गरेर जबरजस्ती सम्बन्ध राख्नु र आपसी सहमतिमा सम्बन्ध राख्नु एउटै अपराध होइनन् । हो, उमेर नपुगेकालाई मञ्जुरी लिएर पनि सम्बन्ध राख्न पाइँदैन । त्यो ठीक छ । तर, यस्तोमा बलात्कारकै बराबर सजाय चाहिँ हुनुभएन ।

*अधिवक्ता समेत रहेका लेखक अमृत शर्मा फैजदारी कानूनमा विशेष दख्खल राख्दछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !