७ बैशाख २०८१, शुक्रबार

के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !


ट्याक्सी

काठमाडौँ । के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला ! तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ ।

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

ट्राफिक प्रहरीको यही भदौ ७ गतेको अनुगमनका क्रममा मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनी मिटर बिगारेर चलाउने तथा सिल छिनाएर चलाउने ट्याक्सी चालकविरुद्ध कार्यालयले अदालतमा मुद्दा दायर गरेको बताए ।

“ट्याक्सीको मिटर बिगारेर चलाउने अधिकांश चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दर्ता गराएका छौँ”, उनले भने । कार्यालयले गत आर्थिक वर्षमा बिग्रेको मिटर चलाउने दुई तथा पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाउने एक ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसमा बिग्रेको मिटर चलाउने बा १ ज ८८८२ र बा १ ज १६६७ नं को ट्याक्सी चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना माग दाबी गरिएको सूचना अधिकारी पुडासैनी बताए ।

यस्तै पाँच वर्षसम्म ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने बा २ ज १५०३ ट्याक्सीका चालकविरुद्ध एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷७६ देखि चालू आर्थिक वर्षको भदौसम्म १३ ट्याक्सीलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारले स्ट्याण्र्डर नाप र तौल ऐन २०२५ को पाँचौँ संशोधन अगाडि बढाएको छ । प्रमाणीकरण हुन बाँकी रहेको उक्त ऐनमा ठगी गर्ने ट्याक्सी चालकविरुद्ध हाल गरिँदै आएको सजायसमेत बढाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र झण्डै १० हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा रहेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा मिटरमा जान नमान्ने, बढी भाडा लिने तथा मिटर बिगार्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरी कडा बनेको बताए ।

उहाँका अनुसार ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा पाँच हजार सात सय ३६, आव २०७८÷७९ मा १० हजार दुई सय ९५ र चालु आवको भदौ १८ गतेसम्म एक हजार नौ सय ४५ ट्याक्सी चालकलाई बढी भाडा लिने तथा मिटरमा जान नमान्ने कसूरमा कारबाही गरिएको छ ।

विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि पहिले चढ्ने भनेको ट्याक्सी हो, त्यस ट्याक्सी चालकले कस्तो व्यवहार गर्छ त्यसले हाम्रो सिङ्गो देशको अवस्था थाहा हुने भएकाले ट्याक्सी चालक संयमित हुनुपर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !