७ बैशाख २०८१, शुक्रबार

यसकारण बढ्यो मनास्लुमा आरोहीको आकर्षण


मनास्लु हिमाल फाइल फोटो

काठमाडौँ । विश्वको आठौँ अग्लो र नेपालको सातौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो ।

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर)सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा सबैभन्दा बढी आरोही मनास्लु आरोहणमा आएका छन् । विभागको पर्वतारोहण शाखाको भदौ १९ गतेसम्मको विवरणमा मनास्लु आरोहणका लागि मात्रै १९ आरोही समूहका एक सय ६० महिला र ५० पुरुषसहित कूल दुई सय १४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । विगतका वर्षमा झै यस पटक पनि मनास्लु आरोहणमा आरोही उत्साहवद्र्धक रुपमा आइरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्व महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको उनको भनाइ छ ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ ।

सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गर्नुभएको थियो । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनास्लु आरोहणका लागि धमाधम आरोही आइरहेको बताए ।

उनका अनुसार कम्पनीका तर्फबाट करिब ६० जना आरोही मनास्लु आरोहणका लागि आएका छन् । अबको एक महिना आरोही आउने भएकाले मनास्लु आरोहणको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।

मनास्लु आरोहणको ६६ वर्षको अन्तरालमा उल्लेख्य सङ्ख्याका आरोहीले आरोहण गरेको पाइन्छ । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल फ््याक्ट एण्ड फिगर २०२०’ अनुसार सन् २०१८ सम्म मनास्लु हिमालको एक हजार आठ सय ५६ जनाले आरोहण गरेका छन् । पछिल्ला तीन वर्षको मनास्लु आरोहणको विवरण यकिन नभएकाले यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनास्लु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । नेपालको सुदूरपश्चिम भागमा रहेको मनास्लु जसलाई कुताङ भनेर पनि चिनिन्छ । यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।

विस २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्व बजारमा थप प्रवद्र्धन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

पर्यटन विभागले जारी गरेको पछिल्लो आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ अनुसार सगरमाथा, धौलागिरि (८,१६७ मिटर) लगायत हिमाल र पिक आरोहण गर्न हालसम्म ४५ मुलुकका ५४ महिला तथा एक सय ८३ पुरुष गरी कूल दुई सय ३७ आरोही नेपाल आएका हुन् ।

यस्तै सगरमाथा आरोहणका लागि एक आरोही समूहका पाँच जनाले अनुमति पाएका छन् । धौलागिरि आरोहणका लागि एक आरोही समूहका पाँच आरोहीले आरोहण अनुमति लिएका छन् । हिम्लुङ हिमाल (७,१२६ मिटर) मा दुई समूहका सात, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन् । यो सिजनमा हिमाल आरोहणबाट हालसम्म रु दुई करोड ९० लाख रोयल्टी जम्मा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !