११ बैशाख २०८१, मंगलबार

नागपञ्चमीमा घरको मूलढोकामा नागको तस्वीर टाँस्नुको कारण


नागपञ्चमी

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

आजको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेश पूजा गरी गोवरको नाग बनाई नगको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरिन्छ । नागहरु जस्तै अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट,शंखनाग, शेषनाग आदिको चित्र टासिन्छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो ।

वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

स्कन्द पुराण अनुसार आज नागको पुजा गर्नाले मनोकामना पुर्ण हुन्छ भनी बर्णन गरिएको छ । श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ ।

नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् । यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् ।

नाग पञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छ :

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।

इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।

कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।

इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।

सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।

मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।

प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।

सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।

ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।

समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।

रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।

नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ । नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ ।

यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य (कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !