१३ बैशाख २०८१, बिहिबार

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल


महिला नेत्री

मनाङ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ ।

मनाङमा जिल्लामा यस्तै भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न चाहने भने देखिँदैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडामा आवश्यक सङ्ख्या पु¥याउनै मुस्किल भएको देखिन्छ ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको पाँच वटै वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त गाउँपालिकाको पाँच वडामा दलितसहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए ।

उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको मात्रै उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङमा कूल ५६ महिला सदस्यको सिट सुनिश्चित छ । नार्पाभूमिबाहेक अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।

मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित गरी कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त गाउँपालिकामा पनि सुनिश्चित सिटले पूर्णता पाएको छैन ।

त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाको सिट सुनिश्चित भएपनि महिला सदस्यमा सात र दलित महिला सदस्यमा सातको मात्रै उम्मेदवारी दर्ता भएको कार्यालयले जनायो ।

त्यसैगरी नासों गाउँपालिकामा भने केही महिला सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र नेकपा (एमाले)बाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

मनाङमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका दल दर्ता भएका छन् । चामे गाउँपालिका–३ मा भने एकीकृत समाजवादीको महिला सदस्यमा सर्वसम्मत भएको छ ।

मनाङमा महिला नेतृत्व वृद्धिका लागि राजनीतिक दलले ध्यान दिन नसकेको बताइन्छ । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखेपनि मनाङको हकमा भने पूरा भएको छैन ।

महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आएकी गुरुङ गत स्थानीय चुनावमा पनि प्रतिस्पर्धामा उत्रिनु भएको थियो । उनको एमालेका उम्मेदवार कान्छा घलेसँग प्रतिस्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !