सडकमा भौँतारिनेको कथा : काम गरेर बाँचेको जीवन सम्मानजनक Nepalpatra सडकमा भौँतारिनेको कथा : काम गरेर बाँचेको जीवन सम्मानजनक
१४ मंसिर २०७९, बुधबार

सडकमा भौँतारिनेको कथा : काम गरेर बाँचेको जीवन सम्मानजनक


सडकमा भौँतारिनेको कथा

काठमाडौँ । एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन् । आफू जस्तै खराब बानी छाडेर सामाजिक जीवन बिताउन उनले सडकका बालबालिकालाई प्रेरित गर्दै आएकी छन् ।

सडक बालबालिकाका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथ’मा आबद्ध भएर उनी सडक बालबालिकाका संरक्षण र उद्धारका काममा लागेकी छन् । दिउँसो संस्थामा र बिहान बेलुका अरू विभिन्न काम गरेर २६ वर्षीया उनले आफूसँगै दुई सन्तान र तीन भाइबहिनीलाई पाल्दै आइरहेकी छन् । पारिवारिक अवस्थाका कारणले आफू सडकमा आउनु परे पनि सन्तानलाई सडकमा आउन नदिने अठोट उनले गरेकी छन् । उनले भनिन्, “जसोतसो छोराछोरीलाई बोर्डिङमा पढाइरहेको छु ।”

बिहेपछि पनि उनी पहिले सडकमा हुन्थिन् । सन्तान जन्माएपछि उनी ‘साथसाथ’का सम्पर्कमा गइन् । उनलाई त्यहाँ आफू खराब बाटामा भएको महसुस भई सन्तानलाई त्यसमा हिँडाउन हुँदैन भन्ने लाग्यो । बिहेपछि पनि केही समयसम्म उनी मदिरा र लागुपदार्थ खान्थिन् । सन्तान भएपछि भने त्यो पैसाले सन्तानलाई खानेकुरा किन्छु भनेर मन बाँधिन् । त्यसपछि उनलाई छोराछोरी सम्झेर लागुऔषध र मदिरा केही खान मन लागेन । उनले भनिन्, “बच्चा पढाउनुपर्छ, तीन जना भाइबहिनीहरू सँगै छन्, उनीहरूलाई पनि पाल्नुपर्छ ।”

उनी सानो हुँदा पहिले हजुरबा–हजुरआमासँग, त्यसपछि आमाबाबा र अहिले श्रीमान्सँग बस्छिन् । बाजेबज्यै नारायणथानमा मागेर जीविकोपार्जन गर्नुहुन्थ्यो । उहाँहरू बितेपछि आमासँग सडकमा बस्न गएको उनले बताइन् । अर्काे विवाह गरेकी उनकी आमा त्यतिबेला श्रीमान्सँग सडकमै बस्थिन् ।

आमाले दोस्रो विवाहपछि बर्सेनि सन्तान जन्माइन् । उनीलगायत सबै भाइबहिनीको रेखदेखका लागि आमाले केही गर्न नसकेको उनले बताइन् । उनले भनिन्, “आफ्नै पेट कसरी पाल्ने भन्ने भएर होला, आमाले हामीलाई ध्यानै दिन सक्नुभएन ।”

परिवारको बेवास्ताले गर्दा नै उनी सानैदेखि सडकमा मन लागेको ठाउँमा बस्ने र खाने गर्न थालिन्, बिहानैदेखि चुरोट, गाँजा खान पशुपतिनाथलगायत विभिन्न मन्दिरमा गएर भेटी टिप्न थालिन् । अलि ठूली भएपछि छ–सात केटी मिलेर रक्सीले मातेका पुरुषलाई लुटेर पैसा कमाउने गरेको उनले बताइन् । सडकमा अरूले जे ग¥यो त्यही सिक्न थालिन् । त्यो समूहकी ठूली केटीले राम्री बनेर केटा फसाएपछि सबै मिलेर लुट्न थाले । उनले भनिन्, “एक जना दिदीले पैसा भएको जस्तो लाग्ने केटालाई जाने हो भन्दै पछि लगाउँथिन्, हामी सबै मिलेर धुत्ने गथ्र्याैँ । पुलिस समाउन आए हामीलाई उसले नराम्रो गरेको भनेर त्यही केटालाई फसाउँथ्यौँ ।”

सडकमा हुँदा खान, लाउन र बस्न समस्या पर्ने गरेको उनले बताइन् । ठूलो पानी पर्दा पसलको ओत लागेर बोरा ओढी सुतिन् । पेटीमा सुत्ने गरे पनि खाना नपाएर कयौँ दिन भोकै सुत्नुपरेको उनको भनाइ छ । अति भोक लागेपछि उनले पसल बाहिर फालिएको स्याउ र सुन्तला खाइन् । कयौँ रात भोकै भएपछि उनी साथीसँग मिलेर खाजाघरमा काम थालिन् । उनले भनिन्, “त्यहाँ हुँदा खाना खान र बास बस्न पाइने थियो, पछि बच्चालाई काम गराए पुलिसले समात्छ भनियो र छाड्नुपर्यो ।”

सडकमा हुँदा पटकपटक संस्थाका प्रतिनिधि पनि सडक बालबालिकाको अवस्था बुझ्न जाने गरेका थिए । उनी पनि उनीहरूका सम्पर्कमा गइन् । एउटा संस्थाले पहिले संरक्षणका लागि लगेको थियो । आमा भोलिपल्ट लिन गएकाले आफू पुनः सडकमा आइपुगेको उनले बताइन् । उनलाई अर्धचेतावस्थामा हुँदा आफू बिग्रिएँ भन्ने भयो र भाइबहिनी खराब बाटामा नलागे हुने भन्ने लाग्यो । आफू सडकमा रहँदा एक दिन आफूले नशालु पदार्थ खाइरहेको बहिनीले देखेपछि कताकता मनमा उनको चिन्ता लागेको उनले बताइन् । उनले भनिन्, “त्यसपछि बहिनीलाई तानेर संस्थामा पुर्याएँ र त्यहीँबाट उसले स्कुल पूरै पढी ।”

सडकमा हुँदा कसले के भन्छ भन्ने वास्ता नभए पनि उमेर बढ्दै जाँदा आफूलाई धेरै कुराबाट असुरक्षित भएको महसुस उनले गरिन् । सडकमा हिँडेको मान्छे भएपछि सबैले नराम्रो दृष्टिले हेरेको महसुस उनलाई भयो । विवाहपछि सुरक्षित हुने आशामा उनले १७ वर्षमा बिहे गरिन् । “उमेर पुगेपछि राम्री पनि देखिएँ क्यारे, जसले पनि दुव्र्यवहार गर्थे, कहिले हिँड्ने मान्छे त कहिले पुलिसले केके भन्ने हुँदा कताकता डर लाग्थ्यो ।”

सडकमा नै रहँदा उनको आफूजस्तै केटासँग भेट भयो । माया बस्यो र विवाह भयो । उनले भनिन्, “मलाई जताबाट पनि सडकबाट बाहिर जाने अवस्था नै आएन ।” त्यतिबेलासम्म उनलाई आफू केही दुःख गरेर भए पनि कमाएर एउटा कोठा लिएर बस्न सक्छु भन्ने थाहा थिएन । अहिले एक छोरा र एक छोरी छन् । उनले भनिन्, “जसोतसो जीवन चलेको छ ।”

सडक छाडेपछि काम गरेर जसोतसो जीवन धान्न गाह्रो नहुने उनलाई लागेको छ । खानबस्न जसोतसो गरे पनि नागरिकता प्रमाणपत्र नहुँदा भने समस्या भएको छ । कमाएको पैसा बचत गर्न पाएकी छैन भने छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । उनले भनिन्, “नागरिकताका लागि पनि लागिरहेको छु, कुनै दिन बन्ला कि ।”

सानैदेखि सडकमा बस्दै आएका अर्का एक युवक अहिले पाइप बनाउने काम (प्लम्बर) गर्छन् । सो कामका लागि उनी काठमाडौँ उपत्यका बाहिर पनि पुग्ने गरेका छन् । आफूले कमाएको पैसाबाट खानबस्न मात्रै होइन केही बचत पनि गर्न सकेको उनले बताए ।

अहिले उनी महिनामा झण्डै रु १५ हजार कमाउँछन् । सडकमा भन्दा काम गरेर बाँचेको जीवन सजिलो र सम्मानजनक रहेको उनको भनाइ छ । पहिले सडकमा धेरै डर थियो । पैसा साथमा भए आफ्नै साथीभाइले लुट्थे । अरूले सामान चोर्दा आफूलाई चोर भनेर प्रहरीले कुट्थे । उनले भने, “आफैँले काम गरेर खाँदा अहिले त कसैको डर छैन ।”

सडकको जीवन छाडेर सामाजिक जीवन बिताउँदा उनलाई पनि नागरिकताको भने अझै समस्या छ । बुबाआमा दुवै बितेपछि उनले अरू कुनै आफन्त भेटेका छैनन् । संस्थाबाट बिरामी पर्दा सहयोग पाएको उनले बताए । उनले भने, “अब नागरिकता बनाउन पाए सबै सजिलो हुने थियो ।”

आफूलाई थाहा नहुँदै बुबा बितेपछि उनी आमासँग पाटनढोकामा बस्ने गर्थे । आमाले कहिले तरकारी बेचेर त कहिले ज्यामी काम गरेर उनलाई पाल्नुभएको थियो । रोगी आमा एक्लो सन्तान उनी १० वर्षको हुँदा बित्नुभयो र साथीसँग बिग्रिएर हिँड्न थाले ।

पहिले ललितपुरमा बसेका उनी आमाको मृत्युपछि साथीको लहैलहैमा काठमाडौँमा बस्न थाले । सडकमा रहँदा पटकपटक संस्थामा जाने र फेरि भाग्ने गरेको उनले बताए । संस्थामा बसेपछि सडकको बानी छुट्न सकेको थिएन । बाह्र वर्ष पहिले उनी साथीसँग ‘साथसाथ’ गए । त्यहाँ शुक्रबार खेल खेलाइन्थ्यो । खेलपछि पेटभरी खान पाइने भए पनि संस्थामा नै बस्न नसकेको उनले बताए । उनले भने, “सडकमा मन लागेको खाने र मन लागेजसरी बस्ने मान्छेलाई नियममा बस्न गाह्रो हुने रहेछ ।”

चार वर्ष पहिले सरकारले कुनै पनि बालबालिकालाई सडकमा बस्न नदिएपछि उनी अरू साथीसँगै संस्थामा गए । उनले संस्थामा नै रहेर छ महिना पाइप बनाउने तालिम सिक्न थाले र सोलार कम्पनीमा काम गर्न लागे । उनले भने, “चार महिना काम गरेपछि पैसा भएन र फेरि सडकमा हिडेँ ।”

उनले त्यसको केही महिनामा गोकर्णमा साङ्ग्रिला होस्टलमा बसेर पाइप बनाउने थप सीप सिके । त्यहाँबाट सडक बालबालिकालाई कसैलाई कुक, प्लम्बर, वर्कसपलगायत काम सिकाइएको थियो । उनले भने, “त्यतिबेला सिकेको काम अझै गरिरहेको छु ।”

अर्का एक युवक पनि आफू सडकमा एक्लै हिडिँरहेका दिन सम्झन्छन् । । आमाबाबा को हो र किन आफू सडकमा आइपुगेँ भन्ने उनले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् । उनलाई चिन्नेहरूसमेत उनलाई अहिले देख्दा खुसी हुन्छन्, किनकि जुत्ता र लुगासमेत नभएको त्यही बालक अहिले कराते प्रशिक्षक भएको छ । उनी विद्यालय–विद्यालय पुगेर बालबालिकालाई कराते सिकाउने गर्छन् ।

झण्डै चारपाँच वर्षको हुँदा सडकमा एक्लै हिँडिरहेका अवस्थामा बल्खुमा एक जना व्यक्तिले उनलाई भेटे । होटल सञ्चालक तीनै व्यक्तिले सहयोगीका रूपमा उनलाई राखे । खेलमा सानैदेखि इच्छा भएकाले उनले सिनामङ्गलमा कराते सिक्न थाले । होटलमा काम गर्दै कराते सिकेका उनलाई गुरुले पनि सहयोग गर्नुभयो । सन् २०११ मा ब्ल्याक बेल्ट लिएपछि उनी धेरै खेलमा सहभागी छन् ।

खेलका लागि उनलाई देशभित्र र बाहिरबाट अवसर आएको छ । नागरिकता नभएकाले उनले आफ्नो क्षमता प्रदर्शन गर्न र बढाउन पाइरहेका छैनन् । उनले भने, “बाहिर खेल्न जान पाएको छैन र लाइसेन्स पनि बनाउन पाएको छैन ।”

रगतसँग जोडिएका कोही आफन्तको पत्तो नभए पनि आफूलाई सानैमा पाल्ने व्यक्ति, संस्थाका कर्मचारी र एक जना बनाएकी बहिनी नै उनका आफन्त भएका छन् । आफूलाई पाल्ने व्यक्तिलाई अभिभावक मानेर उनी चाडपर्वमा जाने गर्छन् । संस्थाहरूले पनि उनलाई आवश्यक सहयोग गर्दै आएका छन् । संस्थाका प्रतिनिधिसँग उनी पटकपटक नागरिकता बनाउने कामका लागि जिल्ला प्रशासन कार्यालय धाएका छन् । उनले भने, “नागरिकता पाएपछि पासपोर्ट बनाएर बाहिर खेल्न जाने र गाडीको लाइसेन्स लिने इच्छा छ ।”

‘साथसाथ’ का रिसोर्स एक्जेक्युटिभ कविता शाहले कोभिड–१९ पछिका समयमा सडकमा आउने बालबालिकाको सङ्ख्या अझै बढिरहेको बताउनुभयो । अभिभावकले रोजगारी गुमाउँदा बालबालिका सडकमा आउन बाध्य भएको उहाँको भनाइ छ । विगतमा सडकमा नै सुत्ने भएकाले राति र बिहान यस्ता सडक बालबालिका बढी देखिन्थे । अहिले केही कम भए पनि सडकमा थोत्रा सामान बटुलेर आयआर्जन गर्नेको सङ्ख्या बढिरहेको पाइन्छ ।

सरकारले सडकमा आएपछि बालबालिकाको उद्धार गर्ने मात्र नभएर त्यहाँ आउनै नदिनका लागि मुहानमै ध्यान दिनुपर्नेमा उहाँको जोड छ । सडकमा रहेका बालबालिकालाई गैरसरकारी संस्थाले पटकपटक परामर्श गरेर आफूसँग लैजाने गरे पनि सरकारी संयन्त्रले एकै पटक उठाएको उहाँले बताउनुभयो । उहाँले भनुभयो, “त्यसले गर्दा बालबालिका सडक छाडेर त जालान् तर फेरि चाँडै फर्कन्छन् ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखाका प्रमुख शान्तिराज प्रसाईँले सडक बालबालिकाको सङ्ख्या विगतभन्दा कम भएको बताउनुभयो । यी बालबालिकाको खोजी गरेर उद्धार गर्ने तथा संरक्षण र परिवारमा पुनःमिलन गराइँदै आएको उनको भनाइ छ ।

केन्द्रीय बालकल्याण परिषद्ले बालबालिकालाई उद्धार, संरक्षण र पुनःस्थापना गरिरहेको छ । सरकारले गैरसरकारी संस्थासँग मिलेर पनि बालबालिकाको संरक्षण गरिरहेको उहाँको भनाइ छ । उनले भने, “गैरसरकारी संस्थामा बालबालिका बढी बसिरहेको देखिए पनि सरकारले प्रत्येक बालबालिकालाई आवश्यक रकम छुट्टाएर संस्थालाई दिइरहेको छ ।”

सरकारले गत वर्षसम्म एक हजार २३५ बालक र १९८ बालिकाको उद्धार र व्यवस्थापन गरेको थियो । तीमध्ये सबैभन्दा बढी ६७३ आदिवासी÷जनजाति, ४०७ ब्राह्मण÷क्षेत्री र २७१ दलित छन् । उद्धार भएका बालबालिकामध्ये ९७५ जनाका बाबुआमा जीवित रहेको र १७२ को दुवैको मृत्यु भइसकेको पाइएको थियो । उद्धार भएकामध्ये अधिकांश बालबालिका काठमाडौँ उपत्यका र आसपासका जिल्लामा बढी पाइएको थियो ।

नेपालमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुने व्यवस्था छ । बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ मा सडक बालबालिकाको अभिलेख राख्ने, सडकमा आएका बालबालिकाको उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राख्ने तथा परिवारमा पुनःमिलन गराउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !